मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७६ चैत २० बिहीबार ०९:२२:००
Read Time : > 6 मिनेट
अर्थ

विदेशमा रहेका ५० लाख नेपालीको रोजगारी जोखिममा 

Read Time : > 6 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७६ चैत २० बिहीबार ०९:२२:००

-कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका श्रमिक फर्काउने योजनामा रोजगारदाता  

-केही देशमा श्रमिकले पारिश्रमिक पाउनै छाडे, युएईमा ७५ प्रतिशतसम्म पारिश्रमिक कटौती

-अधिकांश मुलुकमा न्यूनतम पारिश्रमिक पनि पाउने कि नपाउने भन्ने अन्योल  

-कामदार रहेका मुलुकका नेपाली राजदूत भन्छन्– नेपाल सरकारले अलर्ट बस्नू भनेको छ, हामी अलर्ट छौँ

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका ५० लाख नेपाली कामदारको रोजगारी जोखिममा परेको छ । कोरोनाको महामारी लम्बिँदै जाँदा धेरै मुलुकमा विदेशका रोजगारदाताले श्रमिकलाई फिर्ता गरिदिने भएका छन् । ती मुलुकमा खासगरी साना तथा मझौला कम्पनी धराशायी बन्दै जाँदा रोजगारदाताले श्रमिक कटौतीको विकल्पका रूपमा कामदार फर्काउने तयारी गरेका हुन् । नेपालले श्रम स्वीकृति दिन थालेपछि हालसम्म ५० लाख नेपाली नागरिक वैदेशिक रोजगारीमा गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत युवा खाडी मुलुक र मलेसियामा छन् । कोरोनाका कारण अधिकांश मुलुकले कफ्र्यु र लकडाउन गरेका छन् । लकडाउन नगरेका मुलुकले पनि सतर्कता अपनाउन श्रमिकलाई ‘अल्टरनेट’मा काम लगाइरहेका छन् । केही कम्पनीले व्यवसाय बन्द गर्नुपरेपछि श्रमिकलाई बेतलबी छुटीमा बस्नसमेत दबाब दिएका छन् । केही कम्पनीले ५० प्रतिशत र केहीले २५ प्रतिशतसम्म तलब दिने गरेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिए । 

केही मुलुकले भने श्रमिकलाई अनिवार्य न्यूनतम पारिश्रमिक दिन रोजगारदातालाई निर्देशन दिएका छन् । तर, कम्पनीको अवस्था नै धराशायी भएपछि सरकारको निर्देशनले मात्रै कामदारले पारिश्रमिक पाउने अवस्था नहुने कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज बताउँछन् । उनका अनुसार संक्रमण लम्बिए साना र मझौला कम्पनीका श्रमिक सबैभन्दा बढी समस्यामा पर्नेछन् । 

ओमानका रोजगारदाताले तलब काट्ने 

कोरोनाका कारण कम्पनी बन्द भएपछि ओमानस्थित ठूला रोजगारदाता कम्पनीले पनि पारिश्रमिक कटौती गर्ने सर्कुलर जारी गरेका छन् । एन आर एन सोसल क्लवका प्रमुख संरक्षक दिपक श्रेष्ठका अनुसार लकडाउनका कारण अधिकांश कम्पनी बन्द छन् । केही कम्पनीहरू आंशिक खुला छन् । त्यसैले पारिश्रमिक आंशिक रूपमा नै प्रदान गर्ने रोजगारदाताले निर्णय गरेको श्रेष्ठले जानकारी दिए । ओमानमा करिब १७ हजार नेपाली छन् । कुनै–कुनै कम्पनीले ३० प्रतिशत कामदारलाई कार्यालयमा उपस्थित हुन र बाँकीलाई घरमै बस्न प्रेरित गरेको छ । घर बसेको समय कामदारको पारिश्रमिक नदिने निर्णय कम्पनीहरूले गरेका हुन् ।
   
युएईका रोजगारदातामध्ये कसैले आधा, कसैले २५ प्रतिशत पारिश्रमिक दिँदै   

संयुक्त अरब इमिरेट्स (युएई)का रोजगारदाताले श्रमिकको पारिश्रमिक ७५ प्रतिशतसम्म काटेर दिन थालेका छन् । उनीहरूले कामदारलाई जीविकोपार्जन हुने पारिश्रमिक मात्रै दिन थालेका हुन् । कोरोनाका कारण कम्पनीहरू बन्द हुन थालेपछि केही कम्पनीले आधा र केही कम्पनीले २५ प्रतिशत मात्रै पारिश्रमिक दिने गरेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिए । उनका अनुसार कम्पनीले खान र बस्न समस्या नहोस् भनेर थोरै भए पनि पारिश्रमिक दिएका छन् । लकडाउन लम्बिए युएईमा तल्लो तहमा काम गर्ने श्रमिकलाई आर्थिक समस्या पर्न सक्ने कोइरालाले बताए । 

सरकारी तथ्यांकअनुसार युएईमा २ लाख ७० हजार नेपाली छन् । तर, अवैधानिक रूपमा युएई पुग्ने श्रमिक पनि गणना गर्ने हो भने ४ लाखभन्दा बढी हुने अध्यक्ष कोइरालाको अनुमान छ । युएईमा हालसम्म ६ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा ४ नेपाली पनि छन् । तर, दुईजना नेपाली सन्चो भई घर फर्किसकेका छन्, २ जना उपचारमा छन् । 

कुवेतमा श्रमिकलाई बेतलबी छुट्टीमा बस्न दबाब  

कुवेतका साना तथा मझौला कम्पनीले श्रमिकलाई बेतलबी छुट्टीमा बस्न दबाब दिएका छन् । कुवेत सरकारले श्रमिकलाई पूरै पारिश्रमिक भुक्तानी गर्न आदेश दिए पनि कम्पनीहरूले भने बेतलबी बिदा बस्न दबाब दिने गरेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए । कोरोनाका कारण अर्थतन्त्र र व्यवसाय प्रभावित बनेको यो पहिलो महिना भएकाले अहिल्यै पारिश्रमिकमा प्रभाव नपर्ने अध्यक्ष केसीको अनुमान छ । ‘कुवेत आर्थिक सम्पन्न मुलुकभित्रै पर्छ । त्यसैले, पहिलो महिनामै पारिश्रमिकको समस्या नहोला,’ उनले भने, ‘यो साता पारिश्रमिक भुक्तानी हुने समय हो । त्यसैले केही दिनमै परिणाम देखिनेछ ।’ 

रोमानियाका रोजगारदाताले ५ सय नेपाली श्रमिकलाई बेतलबी बिदा दिए

युरोपियन मुलुक रोमानियमा ५ सय नेपाली श्रमिकलाई बेतलबी बिदा दिइएको छ । हस्पिटालिटी क्षेत्रमा काम गर्ने सो संख्याका कामदारलाई बेतलबी बिदा दिइएको हो । त्यस्तै, निर्माण क्षेत्रलगायतका अन्य क्षेत्रमा काम गर्ने नेपाली श्रमिकलाई ७५ प्रतिशत पारिश्रमिक भुक्तानी गर्ने सर्तमा बिदा दिइएको छ । कामदार, रोजगारदाताबीच छलफल गरी महावाणिज्यदूत नवराज पोख्रेलले सो सम्झौता गरेका हुन् । रोमानियामा करिब २ हजार ५ सय नेपाली श्रमिक कार्यरत छन् । नेपालीहरू मेड सर्भिस, हस्पिटालिटी, निर्माणलगायतका क्षेत्रमा कार्यरत छन् ।

 लकडाउनका वेला पनि न्यूनतम पारिश्रमिक दिनुपर्ने कतार सरकारको नियम 

कतार सरकारले लकडाउनका वेला पनि श्रमिकलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने नियम बनाएको छ । तर, रोजगारदाताले भने आनाकानी गरिरहेको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष आरके शर्माले बताए । ‘सरकारले बनाएको नियम कार्यान्वयन हुँदा रोजगारदाताले न्यूनतम पारिश्रमिक भुक्तानी गर्नेछन्,’ उनले भने । कतारले कोरोना संक्रमण बढेपछि आप्रवासी एरियामा गत मार्च १७ तारिखदेखि लकडाउन गरेको छ । कतारले आफ्नो मुलुक आउने–जाने उडान बन्द गरे पनि ट्रान्जिट फ्लाइटलाई भने रोकेको छैन । अन्य मुलुकबाट आउने आफ्ना नागरिकलाई पनि रोक लगाएको छैन । लकडाउन भए पनि अत्यावश्यक सामग्रीका पसलहरू खुलेका छन् । कतारमा करिब ३ लाख ५० हजार नेपाली कामदार छन् । त्यहाँ केही नेपालीलाई कोरोनाको संक्रमण भएको सरकारले जानकारी दिए पनि संख्या भने नखुलाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । 

बहराइनमा कम्पनी बन्द भए पनि श्रमिकले पारिश्रमिक पाउने 

कोरोनाका कारण कम्पनी बन्द भए पनि बहराइनमा श्रमिकले पारिश्रमिक पाउने भएका छन् । हालसम्म रोजगारदाताले पारिश्रमिक दिने जानकारी दिएको गैरआवासीय नेपाली संघ बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले बताइन् । बहराइनमा करिब ३० हजार नेपाली छन् । १ हजार ५ सय घरेलु श्रमिक छन् । बहराइनमा अवैधानिक रूपमा आएका धेरै नेपाली रहेको अध्यक्ष गिरीले जानकारी दिइन् । बहराइनमा कोरोना भाइरसका कारणले २६ मार्चदेखि सरकारले राति कफ्र्युको घोषण गरेको छ । दिनमा अर्ध लकडाउन छ । सेवा क्षेत्र बन्द छन् । सुपरमार्केट, औषधि, उत्पादनका क्षेत्रहरू भने खुला छन् । तर, पाँचजनाभन्दा बढी एकै ठाउँमा बस्न पाइँदैन । बहराइनमा तीनजना नेपालीमा कोरोना संक्रमण देखिएको गिरीले जानकारी दिइन् । 

कम्पनीले पारिश्रमिक नदिए कोरिया सरकारले आफैं दिने  

कोरोना भाइरसको प्रभावका कारण कुनै पनि कम्पनी समस्यामा परे पनि कोरियामा कार्यरत श्रमिकलाई पारिश्रमिकमा समस्या नहुने भएको छ । कारणवश कम्पनीले श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्न नसकेपछि सरकारले आफैँले नै श्रमिकलाई पारिश्रमिक दिने अभ्यास रहेको गैरआवासीय नेपाली संघ कोरियाका पूर्वअध्यक्ष विनोद कुँवरले बताए । उनका अनुसार कम्पनीले श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्न नसके उचित कारण सरकारलाई देखाउनुपर्छ । कम्पनीले देखाएको कारण जायज लागेमा सरकारले आफैँले भुक्तानी गर्नेछ । 

केही समयअगाडि कोरियाको थेंगु सहरमा कोरोनाको संक्रमण देखिए पनि अहिले भने नियन्त्रणमा छ । कोरिया सरकारले लकडाउन गरेको छैन । संक्रमण देखिएको थेंगु सहरमा हिँडडुल कम गर्न आदेश दिएको पूर्वअध्यक्ष कुँवरले बताए । कोरोनाका कारण जागिर गुमेमा कम्पनीले ७० प्रतिशतसम्म पारिश्रमिक भुक्तानी गर्नुपर्छ । कम्पनीले भुक्तानी नगरेमा सरकारले नै भुक्तानी गर्छ । कोरियामा हाल ४० हजार नेपाली छन् । 

मलेसियामा न्यूनतम पारिश्रमिक दिइने

कोरोना भाइरसका कारण मलेसिया सरकारले मुभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) लागू गरेको छ । लकडाउनभन्दा नागरिक हतोत्साहित हुने भएकाले सरकारले एमसिओ भनेको हो । एमसिओका कारण अत्यावश्यकबाहेकका क्षेत्र बन्द भएका छन् । तर, मलेसिया सरकारले श्रमिकहरूलाई न्यूनतम तलब प्रदान गर्न कम्पनीहरूलाई निर्देशन दिएको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले बताए । उनका अुनसार मलेसियाको श्रम मन्त्रालयले श्रमिकहरूलाई न्यूनतम तलब १२ सय रिंगिट (३३ हजार रुपैयाँ) प्रदान गर्न निर्देशन दिएको हो । मलेसियामा करिब साढे ५ लाख नेपाली कामदार छन् । ७० प्रतिशत नेपाली कामदार उत्पादन क्षेत्रमा छन् । १५ प्रतिशत सेवा क्षेत्रमा छन् भने करिब १५ प्रतिशत अन्य क्षेत्रमा कार्यरत रहेको संघका अध्यक्ष भट्टराईले बताए । मलेसियाको जोहोरबारु राज्य बढी जोखिममा रहेको अध्यक्ष भट्टराईले बताए । यो राज्य सिंगापुरसँगै जोडिएको छ । पछिल्लो तथ्यांकअनुसार मलेसियामा २ हजार ९ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । ४५ जनाको मृत्यु भएको छ । सोमबार एकजना नेपालीमा संक्रमण देखिएकोे अध्यक्ष भट्टराईले बताए । 

साउदीमा श्रमिकले पारिश्रमिक पाउने–नपाउने विषयमा बहस सुरु भएको छैन

साउदी अरेबियामा पनि लकडाउनका कारण कम्पनीहरू बन्द भएका छन्, कामदारहरू बिदामा छन् । तर, श्रमिकहरूले पारिश्रमिक पाउने वा नपाउने विषयमा बहस सुरु नभएको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले बताए । उनका अनुसार अहिलेसम्म साउदीमा पारिश्रमिकको समस्या आएको छैन । कुनै पनि बहानामा श्रमिकलाई बेतलबी राख्न नपाउने व्यवस्था साउदी सरकारले गरेको राजदूत सिंहले बताए । यस विषयमा हालसम्म रोजगारदाताको कुनै भनाइ नआएको उनले बताए ।

साउदीमा ३ लाख ५० हजारको हारहारीमा नेपाली श्रमिक कार्यरत छन् । साउदीमा १ हजार ५ सय ६३ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । १ सय ६५ जना उपचारपछि फर्केका छन् । १० जनाको मृत्यु भएको छ । अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण नदेखिएको राजदूत सिंहले बताए ।

नेपाली दूतावासहरूको तयारी शून्य, राजदूत भन्छन्– हामी अलर्ट छाैं

कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका नेपाली कामदार उच्च जोखिममा रहे पनि दूतावासको तयारी भने शून्य छ । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अलर्ट अवस्थामा रहे पनि अन्य कुनै भौतिक तयारी भने नभएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । ‘भोलि कस्तो अवस्था आउँछ ? अहिले अनुमान गर्न गाह्रो छ । त्यसैले, हामी कस्तो तयारी रहने भन्ने पनि निर्णय गर्न सक्ने अवस्थामा छैनाैं,’ उनले भने । कामदारलाई डकुमेन्ट बनाउन सहजीकरण गर्ने, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहनेलगायतका काम भइरहेको उनले बताए । 

त्यस्तै, परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नेपाली कामदार जहाँ छन्, उनीहरूलाई सोही स्थानमा रहन लबिङ भइरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए । उनका अनुसार भोलि कुनै पनि खतराजनक अवस्था आइपरेमा परराष्ट्र मन्त्रालयले कुनै पनि कदम चाल्न सकिने बताएको छ । सोहीबमोजिम दूतावास पनि परराष्ट्र मन्त्रालयको निर्देशनको पर्खाइमा छ । राजदूत भारद्वाजका अनुसार कतारमा केही नेपाली कामदार पनि संक्रमित भएका छन् । तर, कतारी सरकारले संख्या नखुलाएको उनले बताए । संक्रमितहरू युवा भएको र उनीहरूको उपचार भइरहेको बताए । दूतावासले नेपाली श्रमिकलाई कोरोना भाइरसबारे सचेत गराउन विभिन्न माध्यमको प्रयोग गरी सूचना फैलाउने काम गरेको छ । 

उद्धार गर्न वैदेशिक रोजगार व्यवसायी संघले २ करोड छुट्यायो 

कोरोना भाइरसका कारण वैदेशिक रोजगार गएका कामदारलाई समस्या परे उद्धार गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २ करोड रुपैयाँ छुट्याएको छ । कोरोना संक्रमण लम्बिँदै गयो भने नेपाली श्रमिकलाई फर्काउनुपर्ने हुन सक्ने भन्दै रकम छुट्याएको संघका अध्यक्ष विष्णु  गैरेले बताए ।

संक्रमणको अवधि लम्बियो भने स्थिति विकराल हुन सक्छ : डा. नारदनाथ भारद्वाज
राजदूत, कतार

कतारमा रहेका नेपालीलाई कोरोनाबारे जानकारी दिन हामीले विभिन्न खालका चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ । कतार सरकारसँगको सहकार्य सूचना जारी गरिरहेका छौँ । यहाँ भारतीय समुदायले चलाएको एउटा रेडियो छ । त्यो रेडियोबाट पनि नेपाली श्रमिकलाई कोरोनाबाट बच्न र यहाँको नियम पालना गर्न सचेत गराएका छौँ  । कतारको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार केही नेपाली युवामा पनि कोरोनाको संक्रमण देखिएको छ । तर, उनीहरूको उपचार भइरहेको कतार सरकारले जानकारी दिएको छ । श्रमिकलाई न्यूनतम पारिश्रमिक दिनुपर्ने कतार सरकारको नीति छ । तर, रोजगारदाताले पनि यस विषयमा केही बोलेका छैनन् । संक्रमणको अवस्था छिट्टै समाप्त भयो भने त श्रमिकलाई खासै असर नपर्ला, तर अवधि लम्बियो भने भोलिको अवस्था विकराल हुन सक्छ ।  

दूतावासहरूबाट दैनिक सूचना लिइरहेका छौं : सुमन घिमिरे
प्रवक्ता, श्रम, रोजगार तथा 
सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगारीमा गएका कामदारको विषयमा हामीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । भोलिका दिनमा कुनै पनि मुलुकले श्रमिक लैजाऊ भन्यो भने हामीले जिम्मेवारी लिनैपर्छ । यस विषयमा पनि मन्त्रालय गम्भीर छ । त्यसैले म्यानपावर व्यवसायी, परराष्ट्र मन्त्रालयलगायतसँग हामीले गहन छलफल गरिरहेका छौँ । अहिले पनि हामीले प्रत्येक राजदूतावासबाट कामदारहरूको विषयमा दैनिक रुपमा सुचना लिइरहेका छौँ ।