१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
प्रवास

एसिड प्रहारबाट घाइते भएकी नेपाली महिलाको भारतमा बिचल्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १४:४३:००

एसिड आक्रमणबाट सख्त घाइते भएकी कञ्चनपुर बेलौरीकी गंगा विष्टको भारतमा बिचल्ली भएको छ । 

गत २० फागुनको राति बैंगलोरस्थित डेरामा सुतिरहेको अवस्थामा आक्रमणमा परेकी ३० वर्षीया विष्ट १६ दिनदेखि भिक्टोरी अस्पतालमा छिन् । 

आर्थिक अभावका कारण राम्रोसँग उपचार हुन नसकेको गंगाका भाइ गणेश रावतले बताए । 

कर्नाटक सरकारले भिक्टोरी अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्न थालेकाले झन समस्या हुन थालेको उनले बताए । 

‘पैसा अभावले गर्दा दिदीको राम्रो उपचार भएको छैन, घाउ पाकेर समस्या भएको छ,’ उनले भने, ‘कर्नाटक सरकारले भिक्टोरी अस्पतालमा कोरोनाका बिरामी राख्न थालेपछि झन् समस्या बढेको छ । अब हामीलाई जुनसुकै बेला डिस्चार्ज दिन्छ, चिठी थमाइसकेको छ ।’ 

पीडित गंगाका श्रीमान् राम विष्ट भने डेरा नजिकैको कुवामा मृत भेटिएका थिए । दिदीलाई एसिड हानेर भिनाजुले आत्महत्या गरेको हुन सक्ने आशंका गणेशको छ । तर, रामको अहिलेसम्म पोष्टमार्टम रिपोर्ट आएको छैन् ।

बाबुको मृत्यु र आमा घाइते भएपछि दुई सन्तानको बिचल्ली भएको छ । मुम्बईमा काम गर्ने गणेश दिदी घाइते भएको खबर पाएपछि बैंगलोर पुगेका थिए । गणेशले भान्जा आफ्नै साथमा रहेको र भान्जीलाई आफन्तको घरमा राखेको बताए ।

‘निकै गाह्रो भएको छ । न दिदीलाई ठिक भएको छ, न खान–बस्न पैसा छ,’ उनले भने, ‘उता मुम्बईमा आफ्नो परिवार छाडेको छु । अब के गर्ने ? हाम्रो त साह्रै बिचल्ली भयो ।’