मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १९ बुधबार ११:३८:००
Read Time : > 1 मिनेट
विश्व

गलत जानकारी दिएको भन्दै ट्विटर र फेसबुकले दुई देशका राष्ट्रपतिकाे पोस्ट हटायाे

Read Time : > 1 मिनेट
२०७६ चैत १९ बुधबार ११:३८:००

गलत सूचना दिएको भन्दै फेसबुक र ट्विटरले विश्वका केही राष्ट्रप्रमुखका पोस्टहरू हटाएको छ । 

फेसबुकले ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोको एउटा भिडियो हटाएको छ । उनले फेसबुकमा राखेको भिडियोमा हाइड्रोक्सिक्लोरोक्वाइन भाइरसको उपचारमा पूर्ण रूपमा प्रभावकारी हुने उल्लेख थियो । 

उनले पटकपटक ब्राजिलियनहरूलाई चिकित्सकले सामाजिक दूरी कायम राख्न दिएको सुझाब बेवास्ता गर्न आग्रह गरेका छन् । 

यस्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले भाइरसको घरेलु उपचारबारे गरेको एक ट्विट हटाएको छ । 

सामाजिक सञ्जालहरु विश्वका नेताहरूका पोस्टमा विरलै हस्तक्षेप गर्छन् । सबै सामाजिक सञ्जालहरू कोरोना भाइरसको महामारीका समयमा गलत सूचना प्रसारको दबाबमा छन् । ट्विटरले पोस्ट हटाएपछि भन्यो ‘विश्वका कुनै पनि नेताले सार्वजनिक हितका विषयमा नियम उल्लंघन गर्छन् भने हामी त्यो हटाउँछौँ ।’

ट्विटरले स्वास्थ्य तथा औषधाेपचारसम्बन्धी गलत सूचनाविरुद्ध मार्गनिर्देशन जारी गरेको छ र फेसबुकले पनि शारीरिक क्षति पुऱ्याउने गलत जानकारी भएका पोस्टहरू हटाइरहेको छ । 

राष्ट्रपति बोल्सोनारोले फेसबुकमा राखेको भिडियोमा उनी टगुवाटिंगामा मानिसहरूसँग बोलिरहेको देखिन्थ्यो । फेसबुकले इन्स्टाग्रामबाट पनि त्यो भिडियो ‘डिलिट’ गरेको बताएको छ । 

विश्व स्वास्थ्य संगठनले भाइरसको उपचारमा केही मिश्रित औषधि प्रभावकारी हुने बताए पनि अहिलेसम्म निश्चित औषधि भने प्रमाणित गरिसकेको छैन । यसमा हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन उपचारका लागि उपयुक्त छन् कि छैनन् भनेर प्रमाणित भएको छैन । 

तर, क्लिनिकल परीक्षण नहुँदै अमेरिकाको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यी दुवै कम्पाउन्डलाई मलेरियाविरुद्ध प्रयोग गर्न सकिने औषधिको सूचीमा समावेश गरेको छ र कोरोना भाइरसको उपचारका लागि ‘आपतकालीन प्रयोग’ गर्न सकिने गरी स्वीकृत गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता हाइड्रोक्सिक्लोरोक्वाइनबाट प्रभावकारी उपचार हुने बताएका थिए । 

ट्रम्पका निजी वकिल, न्युयोर्क सहरका पूर्वमेयर रुडी जिलियानीले यो औषधि भाइरसको उपचारका लागि सय प्रतिशत प्रभावकारी छ भन्दै गरेको ट्विट पनि ट्विटरले डिलिट गरेको थियो ।