मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
अर्थ

साउदीले भिसा अवधि सकिएकाहरूको म्याद नवीकरण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १०:४०:००

साउदी अरबबाट बिदामा नेपाल आई फर्किन नसकेका र साउदीबाट स्वदेश फर्किन नपाएका सम्पूर्ण नेपालीको भिसा नवीकरण हुने भएको छ । 

साउदी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण साउदीबाट बिदामा नेपाल आएका, तर फर्कन नसकेकाहरूको भिसा नवीकरण गर्ने जनाएको हो ।

त्यसैगरी साउदीमा कुनै पनि प्रकारका भिसा (पारिवारिक, पर्यटन वा व्यावसायिक) मा रहेका, तर कोरोनाका कारण समयमा स्वदेश फर्किन नपाई अवधि सकिएकाहरूको भिसा पनि नवीकरण गर्ने मन्त्रालयले जनाएको छ । 

साउदी अरबस्थित नेपाली दूतावासका अनुसार साउदी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको घोषणा गरिसकेपछि बिदामा गएका सम्पूर्ण नेपाली कामदारको भिसा नवीकरण गर्ने भएकाे जनाएको छ । 

साथै, कुनै पनि प्रकारका भिसाको अवधि सकिएका र थप्न नपाएका व्यक्तिहरूको जरिवाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थपिने दूतावासले जनाएको छ । 

दूतावासका अनुसार संक्रमणको अवधि थपिँदै गएमा वा उडान नखुलेसम्मका लागि यो प्रक्रिया कायम रहनेछ । साउदी स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म नयाँ घोषणा गरिएको प्रक्रिया वहाल रहने जनाएको छ । 

मंगलबारसम्ममा साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको थियाे । साथै एक हजार पाँच सय  संक्रमित भएका छन् । संक्रमितमध्ये एक सय ६५ जना उपचारपछि निको भएका छन् । 

साउदी अरबमा हालसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण भने देखिएको छैन ।