१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ चैत १९ बुधबार १०:२५:००
Read Time : > 1 मिनेट
नयाँCity

‘लकडाउन’मा सन्ध्या आरती

Read Time : > 1 मिनेट
२०७६ चैत १९ बुधबार १०:२५:००

सामान्य दिन हुन्थ्यो भने सन्ध्याकाल सुरु हुनेबित्तिकै पशुपतिनाथ मन्दिरनजिक आर्यघाट परिसरमा मान्छेको चहलपहल सुरु भइसक्थ्यो । मन्दिरको पूर्वीद्वारको भ-याङ, आरती स्थल र घाट वरिपरि मान्छे ताली पिटिरहेका हुन्थे । दैनिक जीवनको दुःख, पिर र सहरी कोलाहालबाट मुक्त हुन भक्तजन पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी बन्थे ।

०६४ सालयता सुरु भएको पशुपतिको आरती जस्तोसुकै विपतमा पनि बन्द भएको थिएन । ‘भक्तजनलाई सहभागी नगराए पनि निरन्तरताका लागि नित्य आरती चलाइरहेका छौंँ,’ आरती गायक राजन खतिवडा भन्छन् ।

तर, कोरोना भाइरसको संक्रमणका कारण संसारभर सतर्कता अपनाइएका वेला नेपाल सरकारले पनि मुलुकभर लकडाउन घोषणा गरेको छ । सोहीकारण कोही पनि घरबाहिर भिडभाडमा निस्किने अवस्था छैन । १० चैतयता सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । त्यसयता पशुपति आर्यघाटमा मलामी जाने संख्या पनि घटाइएको छ । त्यससँगै सन्ध्याकालमा हुने आरती र विशेष पूजा स्थगित भएको छ ।

तर, सन्ध्या आरती पूर्ण रूपमा बन्द भएको छैन । ०६४ यता सुरु भएको आरती जस्तोसुकै विपत्मा पनि बन्द भएको थिएन । ‘भक्तजनलाई सहभागी नगराए पनि निरन्तरताका लागि नित्य आरती चलाइरहेका छौँ,’ आरती गायक राजन खतिवडा भन्छन् । उनका अनुसार सामान्य दिनमा सन्ध्या आरती गराउन मात्र तीनजना पण्डित हुन्थे । साता दिनयता आरतीमा सहभागी संख्या तीनजना मात्र छ । आरती, मन्त्रपाठ र सामान ल्याउने सहयोगी गरी तीनजनाको उपस्थितिमा आरती भइरहेको छ । लकडाउनअघि संगीतमय आरती हुन्थ्यो, अहिले मन्त्रपाठ मात्र हुने गरेको छ ।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा पनि आरतीलाई निन्तरता दिइएको थियो । त्यतिवेला मानिसको आउजाउमा रोक नलागेकाले संगीतमय आरती नै गरिएको थियो । अहिले भने कोही आरती हेर्न आए भने पनि भगाउनुपर्ने अवस्था रहेको खतिवडा बताउँछन् ।

यस्तै, जनकपुरस्थित गंगा सागरमा हुने महागंगा आरतीमा दैनिक पाँच सयभन्दा बढी भक्तजनको घुइँचो लाग्थ्यो । ०७१ देखि सुरु भएको गंगा आरती पाँचजना पूजारी र २५ जना सहयोगीको उपस्थितिमा सञ्चालन हुन्थ्यो । अहिले एकजना पूजारीले सञ्चालन गरिरहेका छन् । उनीहरूलाई दुईजनाले सहयोग गर्छन् । सांगीतिक आरती स्थगित गरिएकाले मन्त्र पाठ गरेर २८ मिनेटमा सम्पन्न गर्ने गरिएको सेभ हिस्टोरिकल जनकपुरका संस्थापक अध्यक्ष रामआशिष यादव बताउँछन् ।

उनका अनुसार व्यक्तिबीचको दूरी कायम नहुने हुँदा अहिले आरतीपछि टीका लगाउन बन्द गरिएको छ । महागंगा आरती प्रभावित भएको यो दोस्रोपटक हो । यसअघि ०७२ मा मधेस आन्दोलनका कारण लागेका कफ्र्युका कारण आरती सञ्चालन भएको थिएन ।