१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौंको कोटेश्वरमा खाना बनाउने एलपी ग्यास बोकेका बुलेटहरू । संघीय सरकारले अत्यावश्यक सामग्रीको ढुवानीमा अवरोध नगर्ने भने पनि स्थानीय प्रशासनले ठाउँठाउँमा अवरोध गर्ने गरेको उद्योगी र ढुवानीकर्ताको भनाइ छ । तस्वीर : अमुल थापा/नयाँ पत्रिका
कृष्ण रिजाल काठमाडौं
अजित अधिकारी काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:४१:००
Read Time : > 4 मिनेट
अर्थ

औषधि र ग्यासकै ढुवानीमा अवरोध

गृह मन्त्रालय प्रवक्ता केदारनाथ शर्मा भन्छन्– अत्यावश्यक वस्तुको उत्पादन र ओसारपसारमा रोकटोक छैन, समस्या परे गृह मन्त्रालयमा खबर गर्नुस्

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडौं
अजित अधिकारी, काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:४१:००

जनताको जीवन बचाउने औषधि, खाद्य पदार्थ, ग्यासलगायत अत्यावश्यक वस्तुकै आन्तरिक ढुवानीमा समस्या हुँदा उत्पादन र आपूर्ति नै प्रभावित भइरहेको छ । केन्द्र सरकारले अत्यावश्यक वस्तुको उत्पादन, ओसारपसार, ढुवानी, भण्डारण र बिक्री–वितरणमा कुनै रोकावट नहुने बताए पनि थुप्रै ठाउँमा स्थानीय प्रशासनले अवरोध गरेको हो । 

अत्यावश्यक उपभोग्य वस्तु बोकेका ट्रक र मालवस्तु लिन उद्योगमा जाने ट्रकले सहज आवतजावत गर्न नपाएको ढुवानी व्यवसायीले बताएका छन् । सोमबार पनि रामनगरमा प्रहरीले मालबाहक ट्रक रोकिदिएको थियो । ढुवानी व्यवसायी राजेन्द्र बानियाँले अहिले ढुवानीमा केही सहज भए पनि अझै अवरोधहरू हुने गरेको बताए । 

‘ढुवानी अत्यावश्यक सेवा हो, हामीले सञ्चालन गरिरहेकै छौँ,’ उनले भने, ‘तर, वेला–वेला स्थानीय प्रशासनले अवरोध गर्ने गरेको छ, अस्ति बाह्रबिसेमा र हिजो रामनगरमा मालबाहक ट्रक रोकिए ।’ केन्द्रीय सरकारले निर्देशन दिए पनि स्थानीय प्रशासनले अझै प्रभावकारी समन्वय नगरेको उनले बताए । 

गृह मन्त्रालय प्रवक्ता केदारनाथ शर्मा भन्छन्–अत्यावश्यक वस्तुको उत्पादन र ओसारपसारमा रोकटोक छैन, समस्या परे गृह मन्त्रालयमा खबर गर्नुस्

अत्यावश्यक उपभोग्य वस्तुको उत्पादन, ओसारपसार, ढुवानी, भण्डारण र बिक्री–वितरणमा कुनै रोकटोक छैन । हामीले सोहीअनुसार निर्देशन पनि दिएका छौँ । कहीँकतै समस्या छ भने स्थानीय प्रशासनमा भन्दा हुन्छ, त्यहाँबाट पनि समाधान नभए गृह मन्त्रालयमा खबर गर्दा हुन्छ । त्यस्ता उद्योगमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई उद्योगसम्म पुग्न परिचयपत्र भए हुने भनिएको छ । सम्बन्धित उद्योगहरूले पनि स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्छ । 

तीन महिनालाई पुग्ने औषधी बजारमा पठाउनै समस्या छ :  विप्लव अधिकारी, महासचिव, नेपाल औषधि उत्पादक संघ

औषधि उद्योग बन्द भएका छैनन्, लकडाउनकै बाबजुद उद्योगले उत्पादनलाई निरन्तरता दिइरहेका छन् । कच्चा पदार्थ आपूर्तिमा पनि समस्या छैन । तर, उत्पादित औषधि बजारमा पु¥याउन समस्या भइरहेको छ । आन्तरिक ढुवानी, कुरियरलगायत ट्रान्सपोर्ट नचल्दा उत्पादन भएका औषधि बजारमा पठाउन समस्या छ । उद्योगमा उत्पादन औषधि र कच्चा पदार्थ ३ महिनालाई पुग्नेगरी मौज्दात भइसकेको छ । त्यस्तै, स्थानीय प्रशासनले औषधिको ढुवानी तथा श्रमिकलाई सहज आवतजावत गर्न नदिँदा उद्योगमा समस्या भएको छ । लकडाउनले औद्योगिक चक्रलाई प्रभाव पार्दा औषधि उद्योगमा पनि केही समस्या देखिएको छ ।

ढुवानी र श्रमिकलाई आवतजावतमा रोकटोक हुँदा समस्या सुबोधकुमार गुप्ता, अध्यक्ष, नेपाल चामल, तेल, दाल उद्योग संघ

ढुवानी र श्रमिकलाई आवतजावतमा रोकटोक हुँदा अधिकांश खाद्यान्न उद्योगहरू चल्न सकेका छैनन् । केन्द्र सरकारले उद्योग चलाउनु भन्छ, तर उद्योग चलाउने वातावरण अझै बनेको छैन । उद्योग कर्मचारी र श्रमिकलाई उद्योगसम्म पुग्ने वातावरण छैन, कतिपय श्रमिकले प्रहरीको भाटा खाएका छन् । त्यस्तै, ढुवानीमा पनि अवरोध छ । ढुवानीको समस्या तत्काल समाधान गरिनुपर्छ । सामान पु-याएर फर्किएका तथा उद्योगसम्म पुग्ने खाली ट्रकलाई बीचमै  रोकिन्छ । 

ढुवानीमा अवरोध हुँदा ग्यास आयातमा समस्या

ग्यास ढुवानीका क्रममा चालकदलका सदस्यले समस्या भोग्नुपरेको भन्दै एलपी ग्यास उद्योग संघले आयल निगमलाई १७ बुँदे ध्यानाकर्षण पत्र पठाएको छ । पत्रमा भारतीय आयल कर्पोरेसन (आइओसी)को रिफाइनरीबाट ग्यास लोडिङ गर्न समस्या भएको उल्लेख गर्दै ग्यास उद्योगदेखि डिलरसम्म गर्ने ढुवानीमा समेत अवरोध भएकामा ध्यानाकर्षण गरिएको छ ।

कोरोना भाइरसको त्रासले मुलुकभर ग्यासको आपूर्ति मागअनुसार हुन सकेको छैन । यही वेला संघले ग्यास वितरणमा असहज भएको भन्दै निगमलाई पत्र पठाएको हो । सार्वजनिक सवारीसाधन नचल्दा उद्योगका कर्मचारीहरूलाई आवतजावतमा समस्या भएको संघले जनाएको छ । ‘ग्यास ढुवानीका सवारीसाधनहरू परिचालनका क्रममा बिग्रिएर मर्मत गर्नुपर्दा मिस्त्री, ग्यारेजलगायत स्पेयर पार्टस् र टायरसमेत उपलब्ध हुन नसक्ने अवस्था छ,’ संघले विज्ञप्तिमार्फत भनेको छ ।

सरकारले अत्यावश्यक वस्तुको ढुवानी सहज बनाएर आपूर्ति व्यवस्था मिलाउने बताउँदै आएको छ, तर जनताको जीवन बचाउन आवश्यक औषधिदेखि भान्साभान्सामा आवश्यक ग्यासको ढुवानीमा पनि प्रशासनले अवरोध गरिरहेका छन्, संकटका बेला आपूर्तिमा झनै समस्या सृजना भएको छ ।

केही दिनअघि हल्दियाबाट ग्यास बोकेर आएका तीनवटा बुलेट भारतीय भूमिमा पन्चर भएपछि मर्मत गर्न नसक्दा समस्या भोगेको संघले जनाएको छ । पन्चर टाल्ने ठाउँ नहुँदा एक दिन कुरेर स्पेयर टायर मगाई नेपाल ल्याइएको थियो ।

संघ अध्यक्ष गोकुल भण्डारीले सरकारको निर्देशनअनुसार ग्यास आयात र वितरण गर्न प्रतिबद्ध रहे पनि आफ्ना धेरै समस्या रहेको बताए । संघले पठाएको पत्रमा ग्यास लोड गर्ने रिफाइनरीमा कर्मचारी अभाव रहेको, चालक तथा सहचालकले खानेकुरा पाउन नसकेको, कोरोना त्रासले चालक आफ्नै घरमा जान नसकेको, भारतको रिफाइनरी तथा नेपालको ग्यास उद्योगमा चालकलाई राम्रो व्यवहार गर्न नसकिएको विषय उठाइएको छ ।

त्यसैगरी, ग्यासको पिडिओ लिनुअघि निगमको खातामा पैसा जम्मा गर्न समस्या भएको, भारतले विभिन्न नाकामा समयमै भन्सार पास नगरेर दुःख दिएको, एउटा रिफाइनरीमा बनाएको पिडिओअनुसार ग्यास लोडिङ नभए अर्को रिफाइनरीबाट ग्यास लोड हुन नसकेकोलगायतका विषयमा ध्यानाकर्षण गराएको छ । त्यसैगरी, नेपाल र भारतका भन्सार क्लियरिङ एजेन्टहरू भन्सार कार्यालयसम्म पुग्न असमर्थ हुँदा थप जटिल बनेको संघको भनाइ छ ।

पेट्रोलियम तथा ग्यास बोकेका ट्यांकर चालकहरू भन्सारबाट स्वास्थ्य परीक्षण नगरी आवतजावत गरिरहेका छन् । त्यसैले, दुवै देशका प्रहरीले चालकलाई दुव्र्यवहार गर्ने गरेको गुनासो छ । बीचबाटोमा खानेकुरा नभएपछि तेल बोकेका ट्यांकरलाई आयल निगमको प्रादेशिक कार्यालयले र ग्यास बोकेका ट्यांकरलाई उद्योगहरूले खाना खुवाउने तथा यात्राका वेला आवश्यक चाउचाउ, बिस्कुट र पानी दिएर पठाउने गरिएको छ ।

औषधि नियमित उत्पादन तर वितरणमा समस्या

तीन महिनालाई पुग्ने मौज्दात छ, तर लकडाउनले बजारमा पठाउन सकिएन :  औषधि उद्योगी 

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले औषधिको आपूर्तिमा समस्या देखिएको छ । लकडाउनमा पनि उत्पादनलाई निरन्तरता दिएको उद्योगबाट उत्पादित औषधि बजारमा पु-याउन समस्या भइरहेको उद्योगीहरूले बताएका छन् । 

आन्तरिक ढुवानी, कुरियरलगायत ट्रान्सपोर्ट नचल्दा औषधि बजारमा पठाउन समस्या भएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । स्थानीय प्रशासनले पनि औषधिको ढुवानी तथा श्रमिकलाई सहज आवतजावत गर्न नदिँदा उद्योगले समस्या भोग्नुपरेको उनले बताए । 

‘पूरा मुलुक नै लकडाउन भएपछि औषधि उद्योग पनि प्रभावित नहुने कुरै भएन,’ उनले भने, ‘हामीले उद्योग चलाइरहेका छौँ, तर उत्पादनलाई बजारसम्म पठाउन समस्या भएको छ ।’ अहिले उद्योगमै सरदर तीन महिनालाई पुग्ने औषधि मौज्दात भइसकेको उनले जानकारी दिए । औषधि मौज्दात बढेपछि भने केही उद्योगले उत्पादन कटौती गर्न थालेको उनले बताए । 

हाल देशमा ६२ वटा औषधि उद्योग रहेका छन् । देउराली जनता, क्वेस्ट, एनपिएल, लोमसलगायत सबैजसो उद्योग नियमित रूपमै चलिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक उमेशलाल श्रेष्ठले औषधि उद्योग नियमित रूपमै चलिरहेको बताए ।

उद्योगमा हालसम्मलाई कच्चा पदार्थ, श्रमिक अभावलगायत कुनै पनि समस्या नदेखिएको उनले जानकारी दिए । ‘वीरगन्जका तीनवटा उद्योग बन्द भएकोसुनेको छु, तर अधिकांश उद्योग नियमित रूपमै चलिरहेको जानकारी पाएको छु,’ उनले भने, ‘मेरो उद्योगमा पनि ३ महिनाभन्दा बढी समयलाई पुग्ने कच्चा पदार्थ रहेको छ, कुनै समस्या आउनेछैन ।’

 उद्योग बन्द हल्ला मात्रै

लकडाउनकै कारण हालसम्म कुनै पनि औषधि उद्योग बन्द नभएको महासचिव अधिकारीले जानकारी दिए । ‘लकडाउनका कारण औषधि उद्योग बन्द भएको, उद्योगलाई कच्चा पदार्थ अभाव भएको भन्नेजस्ता हल्ला चलाइएका छन्, जुन गलत हो,’ उनले भने, ‘हो, दुईवटा उद्योग बन्द भएका हुन्, तर अन्य कारणले हो, केही उद्योगले उत्पादन घटाएका छन्, तर कच्चा पदार्थ नभएर होइन, मौज्दात बढी भएर हो ।’ 

औद्योगिक चक्र नचल्दा समस्या

उद्योग चल्नकच्चा पदार्थ आयात, उत्पादन, वितरणलगायतका चक्रपूरा हुनुपर्छ । लकडाउनले औद्योगिक चक्रलाई प्रभाव पार्दा औषधि उद्योगमा पनि केही समस्याहरू देखिएको संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले बताए । ‘एकातर्फ अन्य उद्योग बन्द हुँदा प्याकेजिङ तथा लेबलिङका लागि आवश्यक वस्तु पाउन समस्या भइरहेको छ भने अर्कातर्फ मेसिनरी मर्मत–सम्भारमा पनि समस्या भएको छ,’ उनले भने, ‘औषधि उद्योग आफू चलेपनि अन्य उद्योग तथा बजार बन्द हुँदा समस्या भएको हो ।’

औषधिको माग पनि कम 

अहिले औषधिको माग पनि कम देखिएको महासचिव अधिकारीले जानकारी दिए । ‘अहिले मानिसहरू अस्पतालमा धेरै नजाने भएका कारण ओपिडी पनि खासै चलेका छैनन्,’ उनले भने, ‘यही कारण अत्यावश्यकबाहेक धेरैजसो औषधिको माग पनि कम छ ।’ तर, लकडाउनपछि औषधिको माग एकैपटक बढ्न पनि सक्ने भएकाले उद्योगहरूले उत्पादनलाई निरन्तरता दिइरहेको उनले बताए ।

‘औषधि उद्योगका समस्या तत्काल समाधान गर्छौँ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधि उद्योगमा देखिएका समस्या तत्काल समाधान गर्ने जनाएको छ । उद्योगहरूले मंगलबार उद्योग र वाणिज्य सचिवलाई भेटेर आफ्ना समस्या राखेका थिए । उद्योगीका समस्या सुनेपछि दुवै सचिवले उद्योगका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको उद्योगीहरूले बताए ।

मंगलबार नै मन्त्रालयले विज्ञप्ति जारी गर्दै औषधि उद्योगका समस्या समाधान गर्ने उल्लेख गरेको छ । ‘औषधिको कच्चा पदार्थ अभाव भएका कारण औषधि उद्योग बन्द भएको भन्दै समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘औषधिका सबैखाले कच्चा पदार्थको आपूर्ति विनाअवरोध विगतमा जस्तै नियमित रूपमा भइरहेको जानकारी गराइन्छ ।’