१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
किरण दहाल काठमाडाैं
२०७६ चैत १९ बुधबार ०८:४४:००
Read Time : > 8 मिनेट
पालिका अपडेट

गाउँको ‘रियालिटी’ : कतै मास्क छैन, कतै थर्मोमिटर

Read Time : > 8 मिनेट
शान्ति तामाङ, काठमाडाैं
किरण दहाल, काठमाडाैं
२०७६ चैत १९ बुधबार ०८:४४:००

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले दोस्रोपटक आठ दिन लकडाउन गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि सुरु गरेको लकडाउन २५ चैतसम्म लम्ब्याइएको छ । तर, लकडाउनअघि नै राजधानीबाट १२ र भारतबाट चार लाख नागरिक गाउँगाउँ पुगेका छन् । कोरोनाको जोखिमका कारण तेस्रो मुलुकबाट आएका हजारौँ नागरिक पनि गाउँमा छन् । एकातिर राजधानी, भारत र तेस्रो मुलुकबाट आएका लाखौँ नागरिक गाउँ पसेका छन् भने अर्कोतिर सहरमा जस्तो घरमै बसेका छैनन् । गाउँघरमा सामूहिक भेटघाट नरोकिएको र संक्रमणबाट बच्न पर्याप्त सावधानी नअपनाइएको समाचार आइरहेका छन् । अझ गृह मन्त्रालयले त आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ । यस्तोमा स्थानीय तहले कसरी काम गरेका छन् ? त्यहाँको अवस्था के छ ? साधनस्रोतको अभाव छ कि छैन ? संघ र प्रदेश सरकारको सहयोग स्थानीय तहमा पुगेको छ कि छैन ? थुप्रै जिज्ञासा उठेका छन् । उत्तर खोज्न नयाँ पत्रिकाकर्मी किरण दहाल शान्ति तामाङले सातै प्रदेशका १४ स्थानीय तह (गाउँपालिका)का अध्यक्षसँग कुराकानी गरेका छन् :

हाम्रै आपत्कालीन कोषले काम चलाइरहेका छौँ : टीकाराम गुरुङ, अध्यक्ष
सिरिजंघा गाँउपालिका, ताप्लेजुङ, प्रदेश १

कोरोना रोकथामका लागि लकडाउन गरेपछि त्यसको प्रभाव अहिले गाउँमा पनि परेको छ । मानिसहरू खेतिपातीमा अलिअलि लागिरहेका छन् भने अनावश्यक काममा हिँडडुल गरेको पनि देखिँदैन । दुई हप्ताअघि एकजना विदेशबाट आएका थिए । क्वारेन्टाइनमा त बसेका थिएनन्, तैपनि कोरोनाको लक्षण देखिएको छैन । त्यसयता झापा, इलामतिरबाट फाट्टफुट्ट मान्छे आउँछन्, अन्यत्रबाट आएका छैनन् । यहाँका मान्छे रोजगारीका लागि भारतभन्दा पनि दुबई, कतारतिर धेरै जान्छन्् । हवाई सेवा बन्द भएपछि उनीहरू आउने कुरै भएन । स्वास्थ्य चौकीहरूमा राम्रै व्यवस्था गरेका छौँ । भवितव्य परिहाल्यो भने हाम्रो स्थानीय तहले पहिलादेखि नै आपत्कालीन कोष बनाएको थियो, त्यहीँबाट खर्च गर्छौं । अहिले १० बेडको क्वारेन्टाइनको पनि व्यवस्था गरिसकेका छौँ ।

केन्द्रसँग मास्क, ग्लोब्स, पिपिई मागेका छौँ, आएको छैन : अञ्जरा आलम, अध्यक्ष
कचनकवल गाउँपालिका, झापा, प्रदेश १

कोरोना संक्रमण फैलन नदिन सकेसम्म प्रयास गरिरहेका छौँ । बाहिरबाट आउने मानिसका लागि स्थानीय विद्यालयमा १४ बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । अहिले त्यहाँ दुईजना बसिरहनुभएको छ । क्वारेन्टाइनस्थलमा प्रहरी छन् । पालोपालो गरेर वडाका पदाधिकारी पनि बस्छन् । यहाँ वेलावेलामा भारतबाट भागेर मानिस आइपुग्छन् । नयाँ मानिस गाउँमा आउनेबित्तिकै वडाले गाउँपालिकालाई जानकारी दिन्छ । र, त्यसको स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी पठाउने गरेका छौँ । लकडाउनपछि मानिस पनि सचेत भएका छन्, घरबाट विशेष कामबाहेक निस्किएको देखिँदैन । अहिले विपन्न मानिसलाई चाहिँ गाउँमा अप्ठ्यारो पर्नेवाला छ । चियाबगानमा काम गर्ने मजदुर धेरै छन् । लकडाउन लम्बियो भने उनीहरूलाई खानका लागि मुस्किल पर्छ । अतिविपन्नको तथ्यांक संकलन गरिरहेका छौँ । त्यो सकिएपछि राहत दिने विचार गरिरहेका छौँ । दैवी प्रकोपका लागि भनेर १४ लाख विनियोजन गरेका थियौँ, त्यही रकमबाट सहयोग गर्नुपर्छ । तीन लाखजति त डाक्टरलाई इक्युपमेन्ट किन्दा नै सकिएको छ । केन्द्रबाट पनि मास्क, ग्लोभ्स, पिपिई मगाएका छौँ । कसरी अघि बढ्ने भनेर सबै दलका प्रतिनिधिसँग सल्लाह गरिरहेको छु ।

गाउँमा साबुन, स्यानिटाइजर बाँडेका छौँ : हेमन्तकुमार बहडखेर, अध्यक्ष
तिरहुत गाउँपालिका, सप्तरी, प्रदेश २

कोरोना संक्रमणबाट जोगिन साबुन, स्यानिटाइजरलगायतका सामान उपलब्ध गराएका छौँ । बाहिरफेरबाट मानिस आएका छन् भने उनीहरूलाई क्वारेन्टाइनमा राखेर मात्रै घर जान दिएका छौँ । उनीहरूको स्वास्थ्य जाँच गर्छौं । अहिले पनि ६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । लकडाउनले गर्दा बाहिरबाट त्यति धेरै मान्छे आएका छैनन् । गाउँपालिकाले विपद् व्यवस्थापनका लागि रकम छुट्याएको छ । कोरोनाकै कारणबाट केही भवितव्य आइहाल्यो भने त्यही जम्मा गरेको रकमबाट खर्च गर्छौं । अहिले योभन्दा बढी केही भएको छैन । 

भारतबाट रातिराति खेतबारी भएर आइरहेका छन् : विक्रम चौधरी, अध्यक्ष
पिपरा गाउँपालिका, महोत्तरी, प्रदेश २

लकडाउन भएपछि मानिस दिउँसोभरि बाहिरफेर निस्किएका छैनन् । तर, पहिलादेखि नै बानी लागेको हुनाले बेलुका–बेलुकाचाहिँ निस्किएर हिँडडुल गर्छन् । तैपनि, उनीहरूलाई घरभित्रै बस्न आग्रह गरिरहेका छौँ । त्यसमा प्रहरीले सहयोग गरिरहेको छ । अहिले स्थानीय स्वास्थ्य चौकीमा २५ बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । १० वटा पिपिई किनेर राखेका छौँ । गाउँगाउँमा साबुन, पानी, स्यानिटाइजरको व्यवस्था गरेका छौँ । भैपरी आयो भने आकस्मिक कोषबाट भए पनि खर्च गर्छौं । त्यसमा अहिले २५ लाख रुपैयाँजति जम्मा छ । लकडाउन भए पनि भारतमा काम गर्ने मान्छे रातिराति भागेर खेतबारी हुँदै आइरहेका छन् । 

आइतबार राति मात्रै दुईजना आए । बाहिरबाट आउनेको स्वास्थ्य जाँच गरिरहेका छौँ । नयाँ मान्छे को आउँछन्, के गर्छन्, गाउँमा समस्या के हुन्छ, यो सबै बुझ्न वडापिच्छे टिम नै बनाएका छौँ । म आफैँ पनि सुरक्षित भएर घुमिरहेको हुन्छु । अहिलेसम्म ठीकै छ, तर सुरक्षाका लागि आवश्यक पर्ने सामग्री छैन । यसको छिटै व्यवस्था भए बाँकी काम सहज हुन्थ्यो ।

ज्वरो नाप्ने मेसिन पनि पर्याप्त छैन : कमानसिंह तामाङ, अध्यक्ष
दोरम्बा गाउँपालिका, रामेछाप, बागमती प्रदेश

कोरोनाको संक्रमण रोक्न वडाका स्कुलमा क्वारेन्टाइन बनाएका छौँ । प्रत्येक वडाको स्वास्थ्य चौकीमा आइसोलेसनका निम्ति दुई–दुई वार्ड बनाएका छौँ । एउटा गाउँपालिकास्तरको १५ शय्याको अस्पताल छ, त्यसमा सातवटा बेड तयार पारेका छौँ । अहिले सबैभन्दा अभाव स्वास्थ्य सामग्रीको छ । किन्नलाई पनि कतै पाइएको छैन । ज्वरो नाप्ने मेसिन पनि पर्याप्त छैन । अहिले पाँचवटा पिपिई आएको छ, १० वटा स्वास्थ्य चौकीमा कसरी पुर्‍याउनु ? गाउँपालिकाको स्रोतबाट औषधि किनिरहेका छौँ । २० लाखको विपद् व्यवस्थापन कोष छ, अहिले त्यही कोषबाट काम गर्नुपर्नेछ । गरिबीको रेखामुनि धेरै मानिस छन् । विदेश जानेको संख्या थुप्रै छ । अहिले बाहिरबाट मान्छे लुकिछिपी भित्रिरहेका छन्, तर थाहा दिँदैनन् । रोगै नलागे पनि ‘हामी आएका छौँ है’ भनेर थाहा दिए, क्वारेन्टाइनमा राख्थ्यौँ । लुकेर बस्छन् । बाहिरबाट आएको थाहा पाए भने अरूले हेला गर्लान्, भेट्न नमान्लान्, जिस्क्याउलान् भनेर लाज मानेको देखिन्छ । मजदुरी गर्न गएका मानिस दैनिक फोन गरेर भन्छन्, ‘काठमाडौंमा मर्ने भयौँ, गाउँ आएर खोले खाएर भए पनि बाच्छौँ ।’ नआऊ भन्न पनि मिलेन । अर्को, विदेशबाट आएकालाई जानकारी दिएर क्वारेन्टाइनमा बस्न सचेत गराइरहेका छौँ । 

हेल्थ डेस्क राखेका छौँ, तर स्वास्थ्य सामग्री छैन : कान्छालाल जिम्वा, अध्यक्ष
महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक, बागमती

लकडाउन भएपछि मानिस सकेसम्म घरभित्रै बस्छन् । खेतीकिसानी गर्नेहरू खेतबारीतिर पुग्छन् । खेती पनि लगाउनु परिहाल्यो, नभए झनै संकट पर्छ । अहिले क्वारेन्टाइन व्यवस्थापनमा लागिरहेका छौँ । बुधबारसम्म ४० बेडको क्वारेन्टाइन वार्ड तयारी गर्दै छौँ । काठमाडौं, ललितपुर, भुक्तपुर, काभ्रेलगायतका जिल्ला प्रशासन कार्यालयको पास लिएर रातिको समयमा गाडी गुडिरहेकाले निकै गाह्रो भइरहेको छ । आवतजावत हुँदा कोरोना आउला भनेर गाउँलेले रुख नै ढालेर गाडी रोकिदिएका छन् । पास नदिए हुन्थ्यो । अब त पास देखाए पनि गाडी चलाउन नदिने मानसिकतामा छन्, गाउँले । 

विदेशबाट मानिसको आवतजावत खासै छैन । चैत महिनामा दुईजना आएका थिए, उनीहरूलाई पनि निगरानीमा राखेका छौँ । अहिले नाकामा हेल्थ डेस्क खडा गरेका छौँ, जाँच गर्छौं । तर, आउने मान्छेको परीक्षण गर्न स्वास्थ्य सामग्री छैनन् । मुस्किलले १० सेट पिपिई पाएका छौँ, अन्य स्वास्थ्य सामग्रीको अभाव झेलिरहेकै छौँ ।

क्वारेन्टाइन त बनाएका छौँ, स्वास्थ्य सामग्री छैन : थमसरा पुन, अध्यक्ष
धवलागिरि गाउँपालिका, म्याग्दी, गण्डकी

कोरोना भाइरसको संक्रमणबाट जोगिन संघ र प्रदेशबाट अहिलेसम्म खासै सहयोग नपाएका स्थानीय सरकार आफ्नै बलमा भिडिरहेका छन् । कोही कपडाको मास्क सिलाएर स्वास्थ्यकर्मीलाई दिएका छन् भने कोही विपद् व्यवस्थापनका लागि जोगाइराखेको रकमबाट गरिब र मजदुरलाई खाना पुर्‍याइरहेका छन्

कोरोनाको त्रास बढ्न थालेपछि विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा राख्यौँ । सरकारले लकडाउन गरिसकेपछि गाउँमा मान्छे आएका छैनन् । विदेशबाट आउने १२ जना मात्रै छन् । १४ दिन नाघिसक्दासमेत उनीहरूलाई संक्रमणको लक्षण देखिएको छैन । गाउँपालिकाको कार्यालय भएकै वडामा एउटा स्कुलमा १० बेडको क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । प्रत्येक वडामा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । अहिले समस्या केही पनि देखिएको छैन, तर जोखिमको सम्भावना भएकाले तयारी गरिरहेका छौँ । अहिले ५० लाखको आकस्मिक कोषको निर्माण गरेका छौँ । त्यहाँ विभिन्न संस्थाले सहयोग गर्न चासो देखाउनुभएको छ । त्यहीँबाट खर्च गर्ने योजना छ । 

लकडाउनले गर्दा गाडी चलेका छैनन् । तर, पोखरा, तनहुँ, लमजुङ, मुस्ताङबाट मान्छे चोरबाटो हुँदै हिँडेर आएका छन् । त्यसरी आएर घरमा लुकेर बसेका मान्छेलाई घरबाट ननिस्किनु भन्दै चामल, तेल र नुन दिएका छौँ । अब आउनेलाई क्वारेन्टाइनमा राख्छौँ । अभावचाहिँ स्वास्थ्य सामग्रीको छ । अलिअलि सामग्री तीन–चार दिनअघि ल्याएका छौँ । ठूलो वडा भएकाले कुनै–कुनै गाउँबाट त स्वास्थ्य संस्थामा पुग्न १२ घन्टासम्म हिँड्नुपर्छ । गाउँमा अहिले सहरको भन्दा धेरै गाह्रो छ । सहरमा त घरबाट ननिस्किए पनि भयो, तर गाउँमा त खेतबारी धाउनैपर्छ । वस्तुभाउलाई घाँस काट्नैपर्‍यो । तैपनि, कोरोनाबाट जोगाउन कोसिस गरिरहेकै छौँ । 

काठमाडौंबाट धेरै मान्छे आएकाले गाउँ अराजक भएको छ : विष्णुप्रसाद भट्ट, अध्यक्ष
सुलिकोट गाउँपालिका, गोरखा, गण्डकी प्रदेश

अहिले विदेशबाट आएका ३३ जनाजति छन् । सबैलाई घरमै राम्रोसँग बस्न भनेका छौँ । फलो गरिरहेका छौँ । भारतबाट आएका एकजनालाई क्वारेन्टाइनमा राखेका छौँ । उनको स्वास्थ्य सामान्य नै छ । काठमाडौंबाट धेरै मानिस आएका कारण गाउँ अलि अराजक भएको छ, यताउता हिँडिदिने गरेका छन् । तास खेल्ने, युवाहरू यताउता गरिरहेका छन् । 

तैपनि, जनचेतना जगाउने, आफ्नो स्रोतबाट स्वास्थ्यकर्मीलाई मास्क, सुरक्षाका सामान बाढेका छौँ । नाकामा अझै पनि धेरै नेपाली रहेका छन् भन्ने सुनेका छौँ । भागेर आउलान् भनेर सबै वडामा सातजना जति अट्ने क्वारेन्टाइन पनि बनाइरहेका छौँ । प्रहरी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच कुराकानी, छलफल गरिरहेका छौँ । अहिलेसम्म आफ्नै बजेटले धानेका छौँ, योभन्दा बढी समस्या भयो भने गाह्रो हुन्छ । विपद् व्यवस्थापनमा भएको पैसाबाट नै काम चलाइरहेका छौँ । थप बजेट चाहियो भने संघीय सरकारलाई गुहार्नुपर्ने हुन्छ । 

लकडाउनका वेला वनफँडानीले समस्या थपिएको छ : नवलसिंह रावल, अध्यक्ष
मोहन्याल गाउँपालिका, कैलाली, सुदूरपश्चिम

लकडाउनका वेला पनि कोही घरभित्रै बसेका छन्, कोही छैनन् । नबसेकालाई सम्झाइरहेका छौँ । अहिलेसम्म २० जनाजति विदेशबाट आएका छन् । उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ठाउँठाउँमा क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । लकडाउनले गर्दा भारतबाट आउने बाटोमै रोकिएका छन् । विपद् व्यवस्थापन कोषमा २० लाख थियो । त्यही रकमले काम चलाइरहेका छौँ । त्योबाहेक कहीँबाट पनि केही आएको छैन । अहिलेसम्म त पुगेको छ । संक्रमण देखियो भने त त्यो रकमले पुग्दैन । अर्को, यही वेला वनफँडानीको समस्या देखिएको छ । हाम्रो गाउँपालिका चुरे क्षेत्रमा पर्छ । तस्कर र उपभोक्ता समितिका पदाधिकारी मिलेर वनफँडानी भइरहेकाले रोक्न गाह्रो भइरहेको छ । 

कपडाको मास्क सिलाएर स्वास्थ्यकर्मीलाई दिएका छौँ : गोविन्द्रबहादुर मल्ल, अध्यक्ष
हिमाली गाउँपालिका, बाजुरा, सुदूरपश्चिम

हाम्रो गाउँपालिका दुर्गममा पर्ने भएकाले विदेशमा आउने मानिस छैनन् । ९ चैतमा चारजना भारतबाट आएका छन् । उनीहरू पनि घरमा अलग्गै बसिरहेका छन् । गाउँपालिका प्रवेशद्वार भएको चार ठाउँमा हेल्थ डेस्क राखेका छौँ । क्वारेन्टाइनका लागि ३० वटा बेड व्यवस्था गरेका छौँ । अहिलेसम्म त्यसमा राख्ने अवस्था आएको छैन । लकडाउनको अवस्था सहरमा जस्तो गाउँमा हुँदैन । पानी भर्न धारामा जानैपर्‍यो, ट्वाइलेटका लागि बाहिर निस्कनैपर्‍यो, गाईवस्तु चराउने, घाँसदाउरा, खेतीपाती गर्नैपर्‍यो । धेरै ठूलो लापरवाहीचाहिँ छैन । ५० लाखको दैवी प्रकोप उद्धार कोष बनाएका थियौँ । त्यहीबाट खर्च गरिरहेका छौँ । तर, चेक गर्ने सामान छैनन् । स्वास्थ्यकर्मीका लागि लगाउने कपडा, मास्क, टोपीचाहिँ हामीले नै कपडा किनेर सिलाएर दिएका छौँ । ज्वरो नाप्ने मेसिनका लागि ८ चैतमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, मुख्यमन्त्रीको कार्यालयमा खबर गरेका थियौँ, आएको छैन । अलि लामो समय लकडाउन गर्नुपर्‍यो भने खाद्यान्न समस्या आउन सक्छ । यसको व्यवस्थापनमा जुटेका छौँ । 

संघ र प्रदेशबाट केही सहयोग भएको छैन : कुमारी बराल गौतम, अध्यक्ष
सिस्ने गाउँपालिका, रुकुम (पूर्व), प्रदेश ५

हामीले ३६ जनालाई क्वारेन्टाइनमा राखेका थियौँ । त्यसमध्ये दुईजनालाई घर पठाइसक्यौँ । जापानबाट आएका एकजना क्वारेन्टाइनमै छन् । गाउँमा पनि लकडाउनको प्रभाव छ । गाईभैँसी पालेका, अतिआवश्यक काम भएकाबाहेक अरू निस्किएका छैनन् । अहिलेसम्म विपद् व्यवस्थापन समितिमा भएको पैसा खर्च गरिरहेका छौँ । संघ र प्रदेशबाट केही आएको छैन । विदेशबाट आएकाको लगत संकलन गर्ने काम गरिरहेका छौँ । अतिगरिब, मजदुरको पनि लगत जम्मा गर्ने तयारी गरिरहेका छौँ । क्वारेन्टाइनको व्यवस्था पनि गरेका छौँ । 

संघ र प्रदेशबाट केही जानकारी आएको छैन, आफैँ जुटिरहेका छौँ : गोकर्णबहादुर क्षेत्री, अध्यक्ष
कञ्चन गाउँपालिका, रुपन्देही, प्रदेश ५

क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । विदेशबाट आउनेलाई घरमै राम्रोसँग बस्न भनेका छौँ । केही आशंका देखिएको र भारतबाट आएका मानिसलाई गरेर १२ जनालाई क्वारेन्टाइनमा राखेका छौँ । लकडाउनले गर्दा अतिआवश्यक परेमा मात्र मान्छे यताउता गइरहेका छन्, नत्र घरभित्रै बसिरहेका छन् । शतप्रतिशत त होइन, केही पालना भएकै छ । अहिले विपद् व्यवस्थापन कोषलाई प्रयोग गरेका छौँ । केही व्यक्ति, संघ–संस्थाले पनि सहयोग गरिरहनुभएको छ । 

जनप्रतिनिधिले पनि आधा दिनको सुविधा कोषमा राखेका छौँ । त्यसले गर्दा अहिले ठीकै छ । संघ र प्रदेशबाट कुनै पनि जानकारी आएको छैन । प्रदेशले गरिब घर–परिवारको तथ्यांक कति छ भनेर मागेको थियो । त्योबाहेक अरू आर्थिक सहयोग छैन । माथिबाट आयो भने ठीकै छ, नत्र आवश्यक पर्‍यो भने विकास निर्माणकै खर्चलाई पनि कटौती गर्नुपर्ने हुन्छ । जनचेतनाका काम गरेका छौँ । सरसफाइलाई ध्यान दिनु भनेका छौँ । विपन्न परिवारलाई प्रतिपरिवार १५ केजी चामल भोलिबाट वितरण गर्न लागेका छौँ ।

विदेशबाट आएकालाई होम क्वारेन्टाइनमै राखिरहेका छौँ : दिलमाया बुढामगर, अध्यक्ष
कुमाख गाउँपालिका, सल्यान, कर्णाली 

लकडाउनको पालना गरिएको छ । विदेशबाट आएका तीनजना होम क्वारेन्टाइनमा बसेका छन् । भारतबाट एक सयजनाजति आएका छन्, उनीहरूलाई होम क्वारेन्टाइनमै बस्न भनेका छौँ । घाँसदाउरा गर्न, आवश्यक काममा त हिँड्नैपर्‍यो भने बाहिर निस्केका छन् । गफ गर्ने, समूह बनाएर बस्नेचाहिँ छैन । यस्तै, संकटलाई टार्नका लागि विपद् व्यवस्थापन कोष बनाएका थियौँ, त्यहीँबाट खर्च गरेका छौँ । गाउँपालिकाले तीनदिने जनचेतनामूलक काम गरेको छ । साबुन बाँड्ने, माइकिङ गर्ने, पर्चा पम्प्लेट बाँड्ने काम गरेका छौँ । स्वास्थ्य सामग्री केही आएको छैन । हामीले नै चलाइरहेका छौँ । अहिले सबै भारतबाट आएकालाई घरमै बस्न आग्रह गरिरहेका छौँ । एक्सन टिम निर्माण गरेर अगाडि बढ्ने योजनामा छौँ । 

मजदुरलाई खाद्यान्नको व्यवस्था गरेका छौँ : हरिचन्द्र बस्नेत, अध्यक्ष
कुशे गाउँपालिका, जाजरकोट, कर्णाली

लकडाउनको राम्रै पालना भएको छ । नौवटै वडामा वडाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय टोली बनाएर खटिएका छौँ । भारतबाट आउने तथा आवातजावत गर्ने ठाउँ हो । अहिलेसम्म भारतबाट आएका १० जनालाई घरमै छुट्टै बस्न र १४ दिन परिवारिक सम्पर्कमा नबस्नुस् भनेका छौँ । अहिलेसम्म कसैलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था छैन । तैपनि, पूर्वतयारीस्वरूप दुई सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाएका छौँ । दिनभरि काम गर्ने मजदुरलाई खाद्यान्नको व्यवस्था गरेका छौँ । स्वास्थ्य सामग्रीको भने अभाव नै छ । माथिबाट केही आएको छैन । राहत तथा विपद् उद्धार कोष बनाएका थियौँ । त्यहीँ भएको रकमले काम चलाइरहेका छौँ । अहिलेसम्म अत्यधिक खर्च भइसकेको अवस्था छैन । तत्काल त बजेट अभाव छैन, समस्या आयो भने गाह्रो हुन्छ ।