मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी बार्सिलोना
२०७६ चैत १९ बुधबार ०६:५०:००
Read Time : > 1 मिनेट
खेलकुद

क्लब नेतृत्वसँग मेसी रुष्ट 

खेलाडीहरूले कसैको अनुरोधविना पूरै तलब नलिने निर्णय गरिरहँदा क्लब नेतृत्वले सोही उद्देश्यका लागि अनावश्यक दबाब दिएको आरोप

Read Time : > 1 मिनेट
एजेन्सी बार्सिलोना
२०७६ चैत १९ बुधबार ०६:५०:००

लियोनल मेसीसँगै बार्सिलोनाका सबै खेलाडीहरूले यो महिना आफ्नो तलबको ७० प्रतिशत रकम क्लबलाई नै सहयोग गर्ने घोषणा गरेका छन् । 

उनीहरूले यो संकटको अवस्थामा क्लबका खेलाडीबाहेकका अन्य कर्मचारीहरूलाई सामान्य अवस्थामा जस्तै पूरा तलब खुवाउन सम्भव होस् भन्ने उद्देश्यले आफूहरूले पूरै तलब नलिने घोषणा गरेका हुन् ।तर, त्यसका लागि आफूहरूमाथि दबाब दिन अनावश्यक नाटक गरेको भन्दै मेसीले क्लब नेतृत्वसँग असन्तुष्टि पोखेका छन् । 

मेसीले कसैको अनुरोधविना नै आफूहरूले क्लबका अन्य कर्मचारीले पूरा तलब पाऊन् भन्ने उद्देश्यले पछिल्लो निर्णय गर्ने तयारी गरिरहेको बताएका छन् । त्यसका बाबजुद पनि क्लबका उच्च पदाधिकारीहरूबाट खेलाडीहरूमाथि दबाब दिने उद्देश्यले अनावश्यक नाटक भएको तर्क उनको छ । 

‘कोरोना भाइरस महामारीका कारण उत्पन्न भएको आर्थिक संकटको सामना गर्न खेलाडीहरूले आफ्नो तलब पूरै नलिने निर्णय भइरहँदा केही नाटक पनि मञ्चन भए,’ मेसीलगायत खेलाडीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो नाटक क्लबले हामीलाई यो निर्णय गरोस् भन्ने उद्देश्यले दबाब दिन गरेको थियो । तर, क्लबले बुझ्नुपर्ने कुरा के थियो भने कसैको अनुरोधविना नै हामी त्यो निर्णय गर्दै थियौँ ।’

उनीहरूले आफूहरूको यो निर्णय कोरोना भाइरसको संकट रहेसम्मलाई जारी रहने र त्यो समयसम्म क्लबका अन्य कर्मचारीहरूले पूरा तलब पाउनुपर्ने पनि जनाएका छन् । ‘यो साँच्चिकै असाधारण अवस्था हो, त्यसैले हामी सुरुवातबाटै यो निर्णय गर्नुपर्छ भन्नेमा पक्का थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ कि यो मुस्किल अवस्थामा पनि हाम्रा अन्य कर्मचारी साथीहरूले आफ्नो पूरा तलब पाऊन् ।’
बार्सिलोनाको सञ्चालक समितिले बोर्डसदस्य र आफ्ना बास्केटबल खेलाडीहरूले पनि यो अवधिको पूरा तलब नपाउने निर्णय गरेको छ ।

मेसीको पछिल्लो वक्तव्यसँगै क्लब नेतृत्वसँगको उनको दूरी बढ्न थालेको संकेत गरेको छ । मेसीले क्लब नेतृत्वको सार्वजनिक रूपमा आलोचना गरेको यही सिजनमा यो दोस्रोपटक हो । गत फेब्रुअरीमै पनि उनले क्लबका निर्देशक इरिक अबिदलको आलोचना गरेका थिए । 

बार्सिलोनाकै पूर्वरक्षकसमेत रहेका अबिदलले प्रशिक्षक अर्नेस्टो भालभर्दीको समयमा केही खेलाडीले जानाजान कमजोर प्रदर्शन गरेको आरोप लगाएका थिए । मेसीले निर्देशक अबिदललाई कडा जवाफ दिएका थिए । उनले भनेका थिए, ‘मेरो विचारमा कसैलाई खेलाडीको आलोचना गर्नु छ भने नाम पनि स्पष्ट भन्न सक्नुपर्दछ । हैन भने यस्ता कुनै पनि आरोपलाई सत्य मान्न सकिन्न ।’

मेसीले क्लबका केही पदाधिकारीहरू खेलाडीविरुद्ध सुनियोजित रूपमै लागिरहेको प्रतिक्रिया पनि दिएका थिए । उनले आफूसहित, जेरार्ड पिके र केही पुराना खेलाडीको छवि नकारात्मक देखाउन क्लबका केही व्यक्तिहरूले एजेन्सीलाई नै भाडामा लिएको आरोपसमेत लगाएका छन् ।

नेतृत्वसँगको सम्बन्ध तिक्ततापूर्ण बन्दै जाँदा मेसीले आफ्नो जीवनको लगभग पूरै समय बिताएको क्लब छाड्न सक्ने अड्कलबाजीसमेत गर्न थालिएको छ । क्लबसँगको सम्झौतामा राखिएको एउटा बुँदाले सिजनको अन्त्यमा उनले चाहेको अवस्थामा कुनै पनि समय आफ्नो एकल निर्णयमा बार्सिलोना छाड्न सक्नेछन् । उनी हाल परिवारसँग आफ्नो घरमा छन् ।