१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १८ मंगलबार २१:४९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

किट नहुँदा कोरोना परीक्षण हुन सकेन

Read Time : > 1 मिनेट
२०७६ चैत १८ मंगलबार २१:४९:००

बागमती प्रदेश सरकारले राजधानी हेटौँडामै कोरोना परीक्षण गर्ने योजना बनाए पनि काम अघि बढ्न सकेको छैन । सामाजिक विकास मन्त्रालयले संघीय सरकारमातहत रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सबै तयारी पूरा गरे पनि किट नहुँदा कोरोना भाइरस परीक्षण हुन नसकेको हो ।

केही वर्ष अघिदेखि प्रयोगविहीन बनेको परीक्षण मेसिनलाई सञ्चालनमा ल्याउन आवश्यक तयारी पूरा गरे पनि किट र केमिकल नहुँदा कोरोना भाइरसको जाँच हुन नसकेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । ‘कोरोना संक्रमित भए/नभएको जाँचका लागि स्वाब परीक्षण गर्नुपर्ने हुन्छ,’ मन्त्री दुलालले भने, ‘त्यसका लागि आवश्यक मेसिन, विज्ञलगायत सबै तयारी भइसकेको छ ।’

उनले सबै तयारी भए पनि परीक्षणका लागि अतिआवश्यक किट र केमिकल नहुँदा काम अघि बढाउन नसकेको समस्या सुनाए । उनले प्रदेश राजधानी हेटौँडामै परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाविज्ञहरू विष्णु उपाध्याय र निर्मल आचार्यलाई खटाइसकेको जानकारी दिए ।

यही साताभित्र संघीय सरकारले किट, केमिकल, आवश्यक स्वास्थ्य सामग्री, पिपिई उपलब्ध गराएपछि तत्काल कोरोना परीक्षण सुरु गरिने उनले बताए । तालिम केन्द्रमा भएको उपकरणबाट कोरोनाको नतिजा आउन ६ घन्टा लाग्ने मन्त्री दुलालले जानकारी दिए । कोरोना भाइसको नतिजा तत्काल आउने पिसिआर उपकरण केही दिनमा आइपुग्ने उनले बताए । 

पाँच वर्षदेखि प्रयोगविहीन 
तालिम केन्द्रमा आवश्यक सामग्रीसहितको मेसिन भए पनि पाँच वर्षदेखि प्रयोगविहीन बनेको थियो । पिसिआर मेसिन सञ्चालनका लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्ने भए पनि दरबन्दी नहुँदा प्रयोगविहीन बनेको तालिम केन्द्रको दाबी छ ।

कोरोनालगायत अन्य भाइरसको अध्ययन, स्वरूप परिवर्तनबारे जानकारी दिने मेसिन रहेको तालिम केन्द्रले जनाएको छ । भाइरस ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौँडामा पाँच वर्षअघि मेसिन राखिएको थियो ।

तालिम केन्द्रमा रहेको ल्याब पूर्ण रूपमा सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिनेछ ।