१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १८ मंगलबार १९:४६:००
Read Time : > 3 मिनेट
समाचार

एम्बुलेन्सचालकको प्रश्न– मास्कको भरमा कसरी जोखिम मोल्ने ?

Read Time : > 3 मिनेट
२०७६ चैत १८ मंगलबार १९:४६:००

केही दिनअघि गुल्मी दरबार गाउँपालिका– ५ चारपालाका एक युवा ज्वरोले थलिए । परिवारले एम्बुलेन्स चालकलाई खबर गरे तर चालक आउन मानेनन् । एकपछि अर्काे एम्बुलेन्सलाई बोलाए तर सबै चालक ज्वरोको बिरामी भएकाले कोरोना भाइरसको आशंका गर्दै तर्किए । अन्तिममा नेपाल रेडक्रस सोसाइटीका एम्बुलेन्स चालक लालबहादुर खत्री चारपाला जान तयार भए । खत्रीकाअनुसार ती बिरामी युवालाई गाउँका कसैले छोएनन् । खत्रीले मन थाम्न सकेनन् । आफैँले एम्बुलेन्समा हालेर एक्लै बुटवल पुर्‍याए ।

खत्रीले केहीपछि मात्रै अरु चालक तर्किएको पत्तो पाए । त्यसपछि बल्ल झसंग भएको उनले बताए । ‘ज्यानको माया सवैलाई हुन्छ । पहिले नै थाहा पाएको भए म पनि पुग्दैनथेँ होला,’ उनले भने, ‘मास्कको भरमा कसैले ज्यान फाल्न सक्दैन ।’ खत्रीले लामो समयदेखि रेडक्रस गुल्मीले सञ्चालन गरेको एम्बुलेन्स चलाउँदै आएका छन् । आफूलाई संस्थाले स्यानिटाइजरबाहेक केही पनि नदिएको भन्दै उनले अहिलेकै अवस्थामा काम गर्न मुस्किल परेको बताए ।

संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले आफूहरूको कुरा कसैले नसुनेपछि एम्बुलेन्स रोकेर घर गएको बताए । ‘बिरामी परीक्षण गर्ने डाक्टरले पिपिई पाए तर तिनै बिरामी बोक्ने चालकबारे कसैले सोचेनन्,’ बस्नेतले भने, ‘मास्कको भरमा कसरी जोखिम मोल्ने ?’ आठ वर्षदेखि जिल्लामा एम्बुलेन्स चलाउँदै आएका बस्नेतले बिरामीको चाप बढेको समयमा चार रात नसुतेर पनि बिरामी बोकेको बताउँदै भने, ‘अब चाहिँ सकिँदैन ।’

जिल्लामा संयुक्त एम्बुलेन्स चालक संघमा आबद्ध ४२ वटा एम्बुलेन्स छन् । तर, कसैले पनि आफू सुरक्षित भएको महसुस गर्न नपाएको बस्नेतले बताए । समिति आफैँ पनि जिल्लामा क्रियाशील नभएका कारण आवाज कमजोर भएको उनको भनाइ छ । गुल्मीमा ४२ वटा एम्बुलेन्समध्ये ११ वटा भारतीय दुतावासले प्रदान गरेका र २० वटा सरकारी स्वास्थ्य संस्थाका छन् । त्यस्तै ब्रिटिस वेलफेयर, गुल्मेली समाज युके, गुल्मी केयर विश्व सञ्जाल, जापान सेवा समाज वामी, नेपाल रेडक्रस सोसाइटी तथा स्वदेशी एवं विदेशी संघ÷संस्था र स्थानीयको सहयोगमा पनि एम्बुलेन्स सञ्चालनमा छन् ।

पूर्वी रुकुममा एम्बुलेन्स नै छैन । त्यहाँ सिस्ने, भुमे र पुथा उत्तरगंगा गरेर तीन स्थानीय तह छन् । गाउँमा कोही बिरामी परे निजी गाडी रिजर्भ गर्नुको विकल्प नै छैन । कोरोना संक्रमणको जोखिम पूर्वी रुकुममा पनि उत्तिकै छ । काम गर्न स्वदेशका विभिन्न सहर र भारत तथा अन्य मुलुक गएका व्यक्ति गाउँ आएका छन् । अहिले ३३ जनालाई क्वारेन्टाइनमा राखिएको सिस्ने गाउँपालिका प्रमुख कुमारी बराल गौतमले बताइन् । अहिले रुकुमकोटबाट प्राइभेट एम्बुलेन्स सम्पर्कमा राखिएको गौतमले जानकारी दिइन् ।

पूर्वी रुकुमका गाउँ–गाउँमा पुग्ने एम्बुलेन्स चालक पनि त्रासमै छन् । तीन वर्षदेखि रुकुमकोटमा कुमार थापा क्षेत्री कल्याण समितिको एम्बुलेन्स चलाउँदै आएका देवबहादुर बिसीले मास्कको भरमा पूर्वी रुकुमका गाउँबाट बिरामी ल्याएर नेपालगञ्ज र बुटवल पु¥याउने गरेको बताए । राज्य र सञ्चालकहरूले आफूहरूको सुरक्षाको विषयमा कुनै चासो नदिएको आरोप पनि बिसीले लगाए । ‘निद्रा र भोक छाडेर दिनरात नभनी बिरामीसँगै कुद्ने एम्बुलेन्स चालक जोखिममा परे,’ उनले भने, ‘महसुस गरेर पनि दबाबमा काम गर्नुपरेको छ ।’ 

यो पीडा दुर्गमका एम्बुलेन्स चालकको मात्रै होइन । सुगमकै चालकहरू पनि काम गर्ने वा छाड्ने दोधारे मनस्थितिमा छन् । देवदह नगरपालिका–७ खैरेनीका सोमप्रसाद डुम्रेले एम्बुलेन्स चलाउन थालेको ६ वर्ष भयो । अहिले कोलीय सामुदायिक विकास केन्द्रको एम्बुलेन्स चलाउँदै आएका छन् । मास्क र ग्लोब्सबाहेक आफूहरूसँग अर्को कुनै विकल्प नभएको डुम्रेले बताए । उनले आफूहरू चालक मात्रै नभएर अभिभावकसमेत भएकाले बिरामी चढाउने, ओराल्ने र अस्पतालको सम्बन्धित वार्डसम्म पु¥याउनुपर्ने बाध्यताकोबीच संक्रमणको उच्च जोखिममा रहेको बताए । गन्तव्यमा पुग्न अन्य व्यक्तिहरूले बिरामी भनेर फोन गरेरसमेत दुःख दिने गरेको पनि उनको गुनासो छ । ‘गाउँबाट बिरामी भनेर फोन गरेपछि नजाने कुरा भएन, धेरैले बहाना बनाएर पनि दुःख दिए,’ उनले भने, ‘आफूहरूले सबै पहिचान गर्ने कुरा पनि भएन ।’

अर्घाखाँचीमा पनि सुरक्षित हुने कुनै उपाय नहुँदा एम्बुलेन्स चालकहरू त्रासमै काम गर्न बाध्य छन् । संयुक्त एम्बुलेन्स चालक संघका अनुसार अर्घाखाँचीमा १७ वटा एम्बुलेन्स दर्ता भएका छन् । सबै संघ–संस्थाका एम्बुलेन्स चालकसँग आफैँले किनेको मास्क र ग्लोब्सबाहेक अरु केही नभएको अर्घाखाँची हस्पिटल प्रालिका एम्बुलेन्स चालक दीपकबहादुर गाहाले बताए । उनले आफूहरूले प्रहरी, प्रशासन र हस्पिटलमा आफ्नो सुरक्षाको विषयमा जानकारी गराए पनि कतैबाट चासो नदिएको गुनासो गरे ।

अर्घाखाँचीको अधिकांश एम्बुलेन्स चालकले बिरामीबाट केही भए पनि सुरक्षित हुने हिसाबले चालक र बिरामीको बीचमा काठको पाता (प्लाई) ठोकेर पार्टेसन गरेका छन् । ‘बिरामीको अत्यन्तै चाप बढ्यो, आफू जे भएपनि अरु कसैलाई मर्न दिन सकिएन त्यसैले पार्टेसन गरेका छौँ,’ संयुक्त एम्बुलेन्स चालक संघ अर्घाखाँचीका सचिवसमेत रहेका गाहाले भने, ‘यो अवस्था कसले बुझ्ने ?’ अर्घाखाँचीमा सात सरकारी स्वास्थ्य संस्था र अन्य १० वटा गैरसरकारी संस्थाका एम्बुलेन्स सञ्चालनमा छन् ।

एम्बुलेन्स सञ्चालकहरू पनि चालकको सुरक्षाको विषयमा गम्भीर छैनन् । इस्मा स्वास्थ्य चौकी एम्बुलेन्स सञ्चालक समिति अध्यक्ष नारायण पैयाँनीले चालकहरू संक्रमणको उच्च जोखिममा भए पनि आफूले केही सोच्न नसकेको स्वीकार गरे । उनले अहिले एम्बुलेन्स गाउँपालिकाले प्रयोग गरिरहेकाले आफूहरूको खासै चासो नदेखिएको बताउँदै उनीहरूको संरक्षण र सुरक्षाको दायित्वबाट भने आफूहरू उम्कन नहुने बताए ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव मुक्ति काफ्लेका अनुसार प्रदेश ५ मा चार सय पाँच एम्बुलेन्स सञ्चालनमा रहेका छन् । काफ्लेका अनुसार रुपन्देहीमा ८४, गुल्मीमा ४२, पाल्पामा २२, अर्घाखाँचीमा १७, पश्चिम नवलपरासीमा २२, बाँकेमा ४५, बर्दियामा २५, दाङमा ८०, कपिलवस्तुमा २६, प्युठानमा २३ र रोल्पामा १२ वटा एम्बुलेन्स रहेका छन् । पूर्वी  रुकुममा एम्बुलेन्स छैनन् । तर, पश्चिम रुकुमको खलंगाबाट आवश्यकताको आधारमा ७ वटा एम्बुलेन्स पूर्वी रुकुम पुग्ने गरेको महासचिव काफ्लेले जानकारी दिए ।

पाल्पामा चैत १६ गते सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले एम्बुलेन्स चालकको सुरक्षाको विषयमा चासो देखाएको छ । तर, अहिलेसम्म ठोस योजना भने बनेको छैन । बैठकले चालकलाई सुरक्षित र तयारी अवस्थामा बस्न आग्रह ग¥योे । तर, एम्बुलेन्स चालकहरू मास्कको भरमा बिरामी बोकिरहेका छन् । छहरा स्वास्थ्य चौकीको एम्बुलेन्स चालक मोहन घिमिरे क्षेत्रीले कार्यालयले दिएका दुईवटा मास्कले काम चलाएको बताए । सुरक्षाको अरु कुनै उपाय नभएपछि एम्बुलेन्समा काठको पाताले पार्टेसन गर्न थालेको उनको भनाइ छ ।

प्रदेश ५ को मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई एम्बुलेन्स चालकलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म कुनै पनि जिल्लाले चालकहरूलाई पिपिई वितरण गर्न सकेका छैनन् ।