मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फोटो– डेनमार्कको भूमि (बायाँ) इङगा र जर्मनीको भूमितर्फ कास्र्टन । बीचमा सीमा छुट्ट्याउन निर्माण गरिएको ‘व्यारिअर’
एजेन्सी
२०७६ चैत १८ मंगलबार १८:२८:००
Read Time : > 3 मिनेट
विश्व

लकडाउन, उमेर र सिमानाले पराजित गर्न नसकेको एउटा उत्कृष्ट प्रेम

Read Time : > 3 मिनेट
एजेन्सी
२०७६ चैत १८ मंगलबार १८:२८:००

कोरोना भाइरस र लकडाउनले विश्वभरका कराेडौँ मानिसलाई घरभित्र कैद गरिदिएको छ । तैपनि, धन्न इन्टरनेट छ । र, मानिसहरू भर्चुअल माध्यमबाट भए पनि एक–आपसमा कुराकानी गर्न पाएका छन् ।कोरोना भाइरस र त्यसको विस्तार हुन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन गरेका वेला युरोपेली मुलुकहरू जर्मनी र डेनमार्कको वृद्ध जोडीको उत्कृष्ट प्रेमको कथाले विश्वभर चर्चा पाएको छ । 

कोरोनाकालमा मौलाएको अनौठो प्रेमकथाका पात्र हुन्–  कास्टर्न ट्युखसेन र इङ्गा रासमुसेन । जर्मन नागरिक कास्टर्न ८९ वर्ष पुगिसकेका छन् भने डेनमार्ककी इङ्गा ८५ वर्षकी छन् । 

कोरोना भाइरस र ‘बोर्डर लकडाउन’ (सीमा बन्द)ले समेत पराजित गर्न नसकेको कास्टर्न र इङ्गाको प्रेमकथा दुई वर्षअघि भेट भएपछि सुरु भएको हो । आफ्ना पतिको निधनपछि इङ्गा निरसलाग्दो एक्लो जिन्दगी बिताइरहेकी थिइन् । पत्नीको निधनका कारण कास्टर्नको हालत पनि उस्तै थियो । जब संयोगवश दुई वर्षअघि उनीहरूबीच भेट भयो, उनीहरूले फोन साटासाट गरे । नियमित रूपमा फोनमा कुराकानी पनि गर्न थाले । 

कुराकानीका क्रममा दुवैमा प्रेमको टुसा पलाउन थालिसकेको थियो । कास्टर्नले अब ढिलो गर्न उचित सम्झेनन् । र, एक दिन प्रेमको प्रस्ताव राख्दै इङ्गालाई गुलाबको थुङ्गा उपहार दिए । हर्षित हुँदै इङ्गाले गुलाबको त्यो थुङ्गा आफ्नो हातमा लिइन् । र, त्यसलाई चुम्बन गरिन् । कास्टर्नको प्रेम–प्रस्तावले इङ्गाको स्वीकृति पायो । अब के चाहियो ? दुवैजना दिनहुँ भेट्न थाले । उनीहरूको बसोवासस्थल जर्मनी–डेनमार्कको सिमाना नजिक भएकाले भेटघाट गर्न पनि सजिलै थियो । 

भेटघाटका लागि कास्टर्न कहिले इङ्गाको घर पुग्थे भने कहिले इङ्गा आफैँ कास्टर्नको घर धाउँथिन् । जर्मनी र डेनमार्कबीचको सीमा खुला नै भएकाले भेटघाट गर्न उनीहरूलाई कुनै अप्ठेरो थिएन । 

तर, कोरोना भाइरसको विश्वव्यापी संक्रमण विस्तारसँगै डेनमार्कले (१४ मार्च) १ चैतमा सीमा बन्द गऱ्यो । त्यसको दुई दिनपछि (१६ मार्च) ३ चैतमा जर्मनीले पनि यस्तै निर्णय लियो । जब जर्मनी र डेनमार्क दुवै मुलुकले सीमा बन्द गरे, त्यसपछि यो जोडीलाई अलिक अप्ठ्यारो पऱ्यो । अब उनीहरूको कुराकानी र भेटघाट फोनमा सीमित रह्यो । 

फोन कुराकानीको क्रममा उनीहरूले के निधो गरे भने, सिमाना पार गरेर भेट्न सकिँदैन भने सिमानामा पुगेर एक–अर्कोसँग भेट गर्ने, भावना साटासाट गर्ने । र, समय बिताउने । 

त्यसैले, कास्टर्न साइकलबाट जर्मनी–डेनमार्कको सिमानामा दिनहुँ पुग्न थालेका छन्, ता कि सीमाबाटै भए पनि इङ्गाको एक झल्को देख्न पाइयोस् । यस्तै अपेक्षाका साथ इङ्गा पनि सिमानामा पुग्छिन् । दुवैतर्फको ‘लकडाउन’ले भेटघाटमा समस्या पारे पनि यो जोडीको ‘लभ’ले त्यसलाई त्यो अप्ठ्यारोलाई पराजित गरिदिएको छ ।  

जब इङ्गा बिहानै उठ्छिन्, कास्टर्नसँग भेटघाटका लागि तयारी सुरु गरिहाल्छिन् । ब्रेकफाष्ट खाइवरी लञ्च (बिहानको खाना) तयार पार्छिन् र सिमानातर्फ रमानाका लागि तयार हुन्छिन् । उनले तयार पारेको त्यो लञ्च उनी एक्लैका लागि होइन, बरु कास्टर्नका लागि पनि हो । दुवैका लागि तयार पारिएको लञ्च त साथमा राखेकी हुन्छिन् नै, कफीको थर्मस पनि बोकेकी हुन्छिन् । एउटा कुर्सी पनि उनको  साथमा हुन्छ ।

इङ्गा जर्मनी–डेनमार्कको सीमासम्म कार चलाएर पुग्छिन् । कास्टर्न वबजुलीबाट चल्ने साइकल चलाउँदै आइपुगेका हुन्छन् । कास्टर्नको साथमा पनि एउटा छरितो कुर्सी हुन्छ । 

दुई देशबीचको सिमानामा व्यारियर तेर्स्याइएको छ । कोरोना भाइरस र ‘बोर्डर लकडाउन’का कारण न इङ्गा जर्मन भूमिमा प्रवेश गर्न सक्छिन्, न कास्टर्न डेनमार्कको भूमिमा छिर्न सक्छन् । 

एक–अर्को सीमामा प्रवेश गर्न सक्ने स्थिति नरहेपछि दुवैजना आ–आफ्नो देशको भूमितर्फ साथमा रहेको कुर्सी राख्छन् । इङ्गा आफूले बिहानै तयार पारेर ल्याएको खाना थालीमा पस्कन थाल्छिन् । र, आडैको जर्मन भूभागमा रहेका कास्टर्नलाई दिन्छिन् । दुवैजना खाना खान थाल्छन् । केही समयपछि इङ्गा गिलासमा थर्मसबाट कफी खन्याउन थाल्छिन् । कफी चियर्स गर्दै र पिउँदै यो जोडीले घन्टाैँ समय सिमानामा बिताउँछ । र, यसैगरी सिमानाको एक–अर्को कुनाबाट प्रेम साटासाट गर्छ ।  

लकडाउनभन्दा पहिले जर्मनी–डेनमार्कको सीमा खुला थियो । त्यो वेला पनि यो वृद्ध प्रेमिल जोडी यसैगरी भेटघाट गरिरहन्थ्यो । कास्टर्नलाई भेट्न इङ्गा आफैँ जर्मनीको अभेनटफ्ट इलाकामा पुग्थिन् । भेटघाटका दौरान उनीहरू एक–अर्कोलाई अंगालो हाल्थे, चुम्बन गरेर समय बिताउँथे । 

डेनमार्क र जर्मनीले पालैपालो जब एक–अर्कोसँगको सीमा बन्द गरे । तर, नेपाली चलचित्र ‘युगदेखि युगसम्म’ को चर्चित गीत ‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन’ बोलको गीतले भनेझैँ यी दुईबीचको प्रेमलाई सीमा बन्दाबन्दीले रोक्न सकेन । उनीहरू फोनमा कुराकानी गरेर चित्त बुझाउन थाले । केही दिन फोनमा कुराकानी भएपछि भेटघाट र प्रेम साटासाटका लागि उनीहरूले सीमाक्षेत्र रोजे । 

कोरोना भाइरस र त्यसको संक्रमणलाई थप विस्तार हुन नदिन गरिएको लकडाउनले उनीहरूबीचको भेटघाट र प्रेम दुवैलाई रोक्न नसके पनि प्रेमको ‘एक्सप्रेसन’मा भने जरुर बदलाव आएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण हुन नदिन अंकमाल नगर्न र हात नमिलाउने उपाय चिकित्सकहरूले सुझाएका छन् । त्यसैले, यसअघि भेट्नासाथ अंकमाल गर्ने कास्टर्न र इङ्गा आजकल अंकमाल गर्दैनन्, चुम्बन गर्नु त झन् परैको कुरा भयो ।

कास्टर्न र इङ्गाको प्रेमकथा दुई वर्षअघि भेट भएपछि सुरु भएको हो । आफ्ना पतिको निधनपछि निरसलाग्दो एक्लो जिन्दगी बिताउँदै थिइन् इङ्गा । पत्नीको निधनका कारण कास्टर्नको हालत पनि उस्तै थियो । जब संयोगवश उनीहरूबीच भेट भयो, उनीहरू नियमित रूपमा फोनमा कुराकानी गर्न थाले । 

नियमित फोन कुराकानीले दुवैको हृदयमा प्रेमको टुसा पलाउन थाल्यो । बाठा कास्टर्नले ढिलो गर्न उचित सम्झेनन् । एक दिन प्रेमको प्रस्ताव राख्दै इङ्गालाई गुलाबको थुङ्गा उपहार दिए । इङ्गा पनि यही चाहन्थिन् । त्यसैले हर्षित हुँदै उनले थुङ्गा हातमा लिइन् । र, त्यसलाई प्रेमपूर्वक चुम्बन गरिन् । कास्टर्नको प्रेम–प्रस्तावले इङ्गाको स्वीकृति पायो । 

त्यसपछि दिनदिनै भेट्न थालेका उनीहरूले कोरोना भाइरस र लकडाउनले सिर्जना गरेको बाधा–व्यवधानलाई समेत पराजित गर्दै सिमानाको वल्लो–पल्लो कुनामा बसेर आफूहरूको प्रेमलाई अझै परिपक्व बनाएका छन् ।  

कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा जस्तो स्थिति सिर्जना भएको छ, इङ्गा यसलाई ‘दुःखद स्थिति’ भन्न रुचाउँछिन् । ‘तर, के गर्नु, हामी यो स्थितिलाई बदल्न सक्दैनौँ,’ उनी भन्छिन्, ‘सीमा बन्द भए पनि कास्टर्नलाई भेटौँ–भेटौँ लागिरहन्छ, त्यसैले यहाँसम्म आइपुग्छु । उनीसँग भेट भएपछि समय बितेको पत्तै हुँदैन । घरैमा एक्लै बस्नुभन्दा उनलाई भेट्न यहाँसम्म धाउने गरेकी छु ।’ 

कोरोना भाइरसको संक्रमण र लकडाउनको अन्त्य छिट्टै भइदेओस् भन्ने कामना कास्टर्न र इङ्गा दुवैको छ । भन्छन्, ‘आगामी इस्टर पर्व (१२ अप्रिल) सम्म सीमा खुल्नेछ । र, हामी पहिले जसरी नै एक–अर्कोसँग भेटघाट र निर्धक्कसँग घुमफिर गर्न सक्नेछौँ ।’