१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १८ मंगलबार १८:१३:००
Read Time : > 1 मिनेट
समाचार

पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनैजनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ

Read Time : > 1 मिनेट
२०७६ चैत १८ मंगलबार १८:१३:००

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनैजना बिरामीको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । 

ज्वरोका बिरामी देख्नेबित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे । उनले ज्वरोका बिरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था सिर्जना हुनेतर्फ सजग हुन सबैलाई आग्रह गरे ।

‘ज्वरोको बिरामी देख्नेबित्तिकै डराउने प्रवृत्ति रहेको छ । ज्वरोका बिरामीलाई नहेरिदिँदा थप जटिलतामा जाने र मृत्यु पनि हुन सक्ने हुन्छ,’ उनले भने, ‘त्यसैले ज्वरोको बिरामीलाई नहेर्ने काम नगरिदिनुहुन अनुरोध छ । ज्वरोलगायत कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पतालहरूले नहेर्ने विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गम्भीरतापूर्वक हेरेको छ ।’

देवकोटाले हरेक प्रदेशमा एक हजार तीन सयदेखि दुई हजार पाँच सयसम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिई मौज्दात रहेकाले उपचारमा कुनै कमी नहुने पनि स्पष्ट पारे । उनले कोरोना भाइरस संक्रमणका नयाँ आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सतर्कतालगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरूसँग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणको स्वाब परीक्षण गर्न प्रदेशहरूमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको  छ । पोखरामा परीक्षण सुरु हुने क्रममा, धनगढीमा आवश्यक सामान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जाँदै रहेको तथा हेटौँडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरी आवश्यक सामान पठाइएको छ ।

प्रवक्ता देवकोटाले मंगलबारसम्म एक हजार ६० वटा नमुना परीक्षण गरिएको, टेकु अस्पतालमा १० जनासहित सबै प्रदेशमा गरी ७७ जना आइसोलेसनमा राखिएको र आइसोलेसनमा रहेका सबै बिरामीको स्वाब परीक्षण गरिने जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण देखिएकामध्ये दुईवटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो दुईवटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उनले दिए।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर खेम कार्कीले व्यक्तिगत सुरक्षा सामग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहलाई आग्रह गरे । पिपिई लगाएर स्वास्थ्यकर्मीले सूमुहिक तस्बिर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपूर्ण सामग्रीको गतल ढंगले प्रयोग नगर्न पनि उनले सुझाब दिए । 

मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको ऱ्यापिड टेस्ट किट विश्वसनीय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उनले त्यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गरे । कोरोना संक्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्ने दुविधाका कुरा आएको उल्लेख गर्दै उनले सामाजिक दूरी कायम गरेर खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पारे । 

चिकित्सक र नर्सलाई घरबेटीहररूले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै उनले त्यस्तो भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरे ।