मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ध्रुव बीसी
२०७५ माघ ८ मंगलबार १६:३९:००
Read Time : > 2 मिनेट
प्रदेश

जथाभावी खोटो संकलनले उजाड बन्दै वनक्षेत्र 

Read Time : > 2 मिनेट
ध्रुव बीसी
२०७५ माघ ८ मंगलबार १६:३९:००

निजी व्यावसायका लागि खुलेका कम्पनीहरुले नौ वर्षयता जिल्लाका सामुदायिक वनहरुबाट मनोमानी रुपमा खोटो संकलन गर्दै आएका छन् । जसकारण खोटे सल्लाको वनक्षेत्र विनाश हुने क्रम बढ्दो छ । 

वन उपभोक्ता समूह तथा वन प्राविधिकसँगको मिलेमतोमा लामो समयदेखि गंगा रोजिन र हिमचुली रोजिनले मापद्दण्ड मिचेर खोटो निकालिरहेको जनप्रतिनिधिहरुको आरोप छ । ‘यसमा वन समूह र प्राविधिकको पनि गल्ती छ,’ पञ्चदेवल बिनायक नगरपालिकाकी उप–प्रमुख अम्बीका चलाउनेले भनिन,‘राम्रोसँग कहिल्यै अनुगमन भएको छैन ।  
कागजी रुपमा ठिकठाक देखाउने तर जंगलको अवस्था अध्ययन नगर्नाले यस्तो भएको हो ।’ खोटो बेचे वापत वन उपभोक्ता समूहको खातामा जम्मा हुने रकमसमेत दुरुपयोग भइरहेको उनको आरोप छ । अन्धाधुन्ध रुपमा खोट संकलन गर्ने गरेको भेटिएपछि जिल्लाको तुर्माखाँद गाउँपालिकाले पहिलो गाउँसभा मार्फत निर्णय गरेर रोजीनहरुलाई प्रवेशमा प्रतिवन्ध लगाएको छ । 

‘जथाभावी खोटो संकलनले वन पुरै सखाप हुने अवस्था देखियो,’ गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले भने,‘खोटो निकाल्दा पुरै वनहरु उजाड बने । त्यसकारण प्रतिवन्ध लगाइएको हो ।’ मापद्दण्ड कार्यान्वयन नहुँदा वन संरक्षणमा ठुलो समस्या उत्पन्न भइरहेको उनले बताए । ‘विधि प्रक्रियाबारे वन समूहका पदाधीकारीहरुलाई कुनै जानकारी नै गराइएको छैन,’ उनले भने, ‘त्यही भएर रोजिनहरु मनपरी रुपमा खोटो संकलन गरेर फर्कन्छन् ।’ 

२०६४ सालमा बनेको कार्यविधि पालना नगरी वन मासेर खोटो संकलन भइरदाँ पनि सम्बन्धित निकायले वास्ता नगरेकोले वनक्षेत्र मरुभुमिमा परिणत हुने अवस्था आएको सामुदायिक वन उपभोक्ता महासंघका सचिवालय सदस्य जनक बटालाले बताए । उनका अनुसार  कार्यविधिले तोकेको मापदण्डअनुसार ३६ इन्च गोलाइको रुखबाट मात्र खोटो निकालिनुपर्ने भएपनि १६ इन्च सम्मका रुखबाटसमेत खोटो निकालिएको छ । 

घाउ लगाउन र खोटो निकाल्न तोकिएको मापदण्डका विषयमा संकलनमा खटिएका कामदार जानकार नहुनु, एउटै रुखमा पाँच वटासम्म कुल्पी लगाइनु, पुराना कुल्पीको व्यवस्थापन नहुनु जस्ता कारणले वातावरणमा असर परिरहेको उनले बताए । आगलागीबाट जोगाउन खडेरीको समयमा संकलक कम्पनीले रुखको वरिपरि सफा गर्नुपर्नेजस्ता सामान्य मापदण्डसमेत पालना नगरेको उनको गुनासो छ ।

खोटो संकलन पश्चात रुखमा लगाइएको घाउ माटोले पोत्ने, आगलागीबाट बचाउन झारपात हटाउने जस्ता काम समयमै सम्पन्न नगरिदा वर्षेनी वन विनास बढ्दै गएको छ । बटालाका अनुसार कार्यविधिमा खोटो संकलनका लागि रुखमा रिल (घाउ) बनाउन तालिम प्राप्त कामदार प्रयोग गर्नुपर्ने व्यवस्था छ । जथाभावी रिल बनाइएको वा तोकिए भन्दा गहिरो घाउ बनाइएको भेटिए कारबाही गर्ने व्यवस्था छ । 

खोटो संकलन भएको वन क्षेत्रमा उक्त क्षेत्रको रेन्जपोस्टले तोकिए बमोजिम बृक्षारोपण लगायतका अन्य निर्देशन बारे नियमित अनुगमन गरी त्यसको प्रतिवेदन डिभिजन वन कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । तर कार्यविधिले तोकेका कुनैपनि कुरा पालना नभएको उनले बताए । 

२७ लाख किलो खोटो निकासी
गंगा रोजीन र हिमचुली रोजीनले पछिल्लो तीन वर्षयता २७ लाख ५६ हजार पाँच सय ५० किलो खोटो निकासी गरेका छन् । डिभिजन वन कार्यालय अछामका अनुसार उनीहरुले ०७३/७४ मा १३ लाख ६४ हजार दुई सय ८४ किलो खोटी निकासी गरेका थिए । 

त्यसपछि ०७४/०७५ मा ११ लाख ७६७ र चालु आर्थिक वर्ष ०७५/०७६ को हालसम्ममा दुई लाख ९१ हजार चार सय ९९ किलो खोटी निकासी गरेका छन् । खोटो संकलनका लागि गंगा रोजीनले ६५ वटा सामुदायिक वनसँग सम्झौता गरेको छ भने हिमचुलीले १६ वटा सामुदायिक वनसँग सम्झौता गरेको डिभिजन वन कार्यालय अछामका सहायक वन अधिकृत भक्ताराज गिरीले बताए । उनका अनुसार अधिकांश ठाउँमा प्रतिबन्ध लगाइनु र बजार मुल्य घटेका कारण रोजीनहरुले केही सामुदायिक वनहरुमा खोटो संकलन गर्न पाएका छैनन् । 

अहिले गंगा रोजिनले ३५ वटा र हिमचुलीले ६ वटा सामुदायिक वनहरुबाट मात्र खोटो संकलन गरिरहेको उनले बताए ।