मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ चैत १८ मंगलबार १६:४९:००
Read Time : > 1 मिनेट
विश्व

चीनको वुहानमा सपिङ सेन्टर खुले, मानिसको चहलपहल सुरु

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत १८ मंगलबार १६:४९:००

कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको वुहान सहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन सुरु भएको छ । भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित यस सहर झण्डै दुई महिनासम्म लकडाउन गरिएको थियो । यहाँका दशौं लाख मानिस घरभित्रै बस्न बाध्य थिए । 

स्थानीय सरकारले हुबेई प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहरमा लगाइएका धेरैजसो प्रतिबन्धहरु खुला गरेको छ । 

सहर खुले पनि पहिलेको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा निस्किएका मानिसहरु मास्क लगाएर हिँडिरहेका छन्, भने उनीहरुलाई निश्चित दुरी कायम राख्न पनि आग्रह गरिएको छ । 

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् तर उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात् एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो पनि नापिएको छ ।

गत जनवरी २३ तारिखदेखि नै वुहान लकडाउन भएपछि एक करोड १० लाख मानिस घरबाहिर निस्किन पाएका थिएनन ।   

वुहानमा कोरोना भाइरसका कारण २ हजार ५ सय ४७ जनाको ज्यान गएको छ। चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १ सय ८६ जनामध्ये करिब ८० प्रतिशत वुहान कै बासिन्दा थिए । चीनभर ८१ हजार ४ सय ७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको छ । 

हुबेई प्रान्तको वुहान सहरमा यात्रा प्रतिबन्ध हटाइएको चीनकै अन्तिम सहर पनि हो । स्थानीयबासीलाई हुबेईका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छोड्न दिइएको थिएन । हुबेईको वुहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । वुहानका मानिसलाई लगाइएको यात्रा प्रतिबन्ध आगामी अप्रिल ८ बाट हटाइनेछ ।

भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको समयमा राष्ट्रपति सी जिनपिङले मार्च १० मा वुहानको भ्रमण गरेपछि हुबेईमा लगाइएका प्रतिबन्ध विस्तारै खुकुलो बनाइयो । कतिपय कलकारखाना, आवश्यक ठानिएका अरु व्यवसाय खुला गरियो । बस सबवे रेलवे शनिबारदेखि खुलेका छन् । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् ।

चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न र पूर्ववत रुपमै सञ्चालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ र काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार गर्न भनिएको छ ।