१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १४:४८:००
Read Time : > 1 मिनेट
समाचार

दैनिक एक हजार नमुना परीक्षण क्षमता विस्तार अन्तिम अवस्थामा : स्वास्थ्य मन्त्रालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार १४:४८:००

काठमाडौं उपत्यकाबाहिर अब दैनिक एक हजार जनाको कोरोना (कोभिड– १९) संक्रमण भए–नभएको नमुना जाँच गर्न सकिने गरी तयारी अन्तिम चरणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याब र स्तरोन्नति गर्नुपर्ने स्थानमा रहेका पोर्टेबल पिसिआर ल्याबबाट कोरोनाको नमुना जाँच गर्न सुरु गरेपछि परीक्षणको क्षमतामा वृद्धि हुन लागेको हो । 

हाल उपत्यकाबाहिरका लागि धरानमा परीक्षण सुरु भइसकेको छ । त्यसैगरी हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याब तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशका लागि आइतबार चीनबाट आएका पोर्टेबल ल्याब पठाउने तयारी छ ।  

चीनबाट ल्याइएको पाँचवटै पोर्टेबल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको ‘कोभिड– १९ प्रयोगशाला व्यवस्थापन समिति’का पुष्पराज खनालले जानकारी दिए । ‘हामीले धरानबाट परीक्षण सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अब स्थायी ल्याब सञ्चालन गर्न स्तराेन्नति गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण सुरु गर्छौं ।’ 

मेसिन गएसँगै अब उपत्यकाबाहिरबाट दैनिक हजारजनासम्मको कोभिड– १९ को परीक्षण गर्न सकिने उनको भनाइ छ । खनालले उपत्यकाबाहिर स्तरोन्नति कोभिड– १९ परीक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिए । मंगलबारबाट पोखरामा पाेर्टेबल मेसिनबाट कोभिड– १९ जाँच सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाँचलाई तीव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीबाट तत्काल पोर्टेबल पिसिआरबाट नमुनाको जाँच सुरु गरिने जनाएको छ । 

पाेर्टेबल पिसिआरबाट परीक्षण सुरुसँगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्याबलाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बागमती प्रदेशमा काठमाडौंबाहिर हेटौँडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतबार नै त्यता गइसकेको खनालले जानकारी दिए ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगन्जको ल्याबलाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउने मन्त्रालयले जनाएको छ । त्यस्तै कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा पनि ल्याबको स्तरोन्नति गर्न टोली खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । 

आइतबारबाट नमुना परीक्षण सुरु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो चरणमा १२ जनाको स्वाब पिसिआर गर्न सक्ने प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनालले जानकारी दिए ।उनले आवश्यकता परे एकपटकमा २४ जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए । ‘अहिले हामीले एकपटकमा १२ वटा जाँच गर्न सक्छौँ,’ उनले भने, ‘आवश्यक परे थप १२ को गर्न सक्ने गरी तयार हुँदै छ ।’