कोरोना संक्रमण परीक्षण गर्न जुम्लाबाट चारजनाकाे स्वाब काठमाडौं पठाइयो
जुम्लामा कोराेना भाइरस संक्रमणको आशंका गरिएका चारजना बिरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुईजना र तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एक–एकजना गरी चारजनाको ‘स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको हो ।
‘उच्च ज्वरो आएका चारजना बिरामीको स्वाब संकलन भएको थियो,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘सोमबार नै एम्बुलेन्सबाट स्वाब नेपालगन्ज पठाइसक्यौँ ।’ मंगलबार काठमाडाैंबाट विमान नेपालगन्ज आउने र परीक्षणका लागि नमुना लैजाने उनले बताए ।
जुम्लामा पनि कोरोनाको नमुना परीक्षण गर्न पहल भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।
‘जुम्लामा भारतबाट आएकाहरूको संख्या धेरै छ । निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन् । धेरैजनाको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले हामीसँग स्वाब संकलन गर्ने भिटिएम १० पिस मात्रै छ । चारजनाको परीक्षणका लागि पठाएका छौँ । अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट बाँकी छ, त्यसैले जुम्लामा नै नमुना परीक्षण गर्न मिल्ने व्यवस्था गर्न जरुरी छ ।’