मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ११:३६:००
Read Time : > 1 मिनेट
विश्व

एक लाख ६५ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ११:३६:००

कोरोना भाइरसबाट संक्रमण भएकामध्ये एक लाख ६५ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् । 

यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या सात लाख ८५ हजार सात सय ९७ पुगेको छ भने निको हुनेको संख्या एक लाख ६५ हजार ६ सय आठ पुगेको छ ।

मृत्यु भएकाबाहेक पाँच लाख ५२ हजार आठ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ । अर्थात् उनीहरू कोरोनाबाट संक्रमित भए पनि सामान्य रुघा, खोकीको समस्यामा मात्रै रहेका छन् र चाँडै निको हुनेछन् ।

२९ हजार चार सय ८८ मानिसको अवस्था भने अलिक जटिल रहेको छ । अर्थात् उनीहरूलाई भेन्टिलेटर तथा आइसियूमा राखेर उपचार गरिँदै छ । कोरोना संक्रमितमध्ये ४.८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपि यो औसत मृत्यु दर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदरसमेत रहेको छ । 

यसको अर्थ प्रत्येक देशमा मृत्युदर फरकफरक छ । संक्रमित हुनेमा कस्ता मानिस, कुन उमेरका मानिस परेका छन् भन्ने कुरामा निर्भर गरिरहेको छ । जस्तो कि इटालीमा धेरै मानिसको मृत्यु हुनुमा त्यहाँ संक्रमित हुने बढी मानिस वृद्ध भएका कारणलाई मृत्युदर बढी हुन पुगेको मानिएको छ ।

दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समूहका मानिस यसबाट संक्रमित हुनुलाई कारण मानिएको छ । त्यसका साथै दक्षिण कोरियामा स्वास्थ्य एवं चिकित्सा सुविधा पनि निकै सम्पन्न भएका कारण मृत्युदर कम हुन पुगेको विश्लेषण गरिएको छ । 

नयाँ संक्रमित घटे

त्यस्तै इटालीमा पनि हिजो (सोमबार) नयाँ संक्रमित हुनेको संख्या घटेको छ । आइतबार त्यहाँ पाँच हजार नाै सय ७४ नयाा संक्रमित भेटिएका थिए भने सोमबार पाँच हजार दुई सय १७ नयाँ संक्रमित भेटिएका छन् ।

कोरियामा पनि नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार एक सय पाँच् जनामा संक्रमण देखिएको थियो भने सोमबार ७८ जनामा मात्र नयाँ संक्रमण पाइएको छ । चीन र दक्षिण कोरिया कोरोना भाइरस नियन्त्रण गर्ने पहिलो र दोस्रो मुलुकका रूपमा रहेका छन् । यी देशमा अहिले विदेशबाट स्वदेश आइरहेका मानिस मात्रै नयाँ संक्रमितका रूपमा देखा परेका छन् । 

लकडाउनका कारण नयाँ मानिस संक्रमित हुन पाउँदैनन् र संक्रमण फैलिनबाट कम हुन्छ । तर, लकडाउनको अवधिभर सम्पूर्ण संक्रमित फेला पारेर अलग राखेर उपचार गर्न सकिएमा मात्रै कोरोना भाइरसको थप संक्रमण हुन पाउँदैन ।

सबैभन्दा कम संक्रमित रहेको महादेशका रूपमा अफ्रिका रहेको छ । त्यहाँ सोमबारसम्म तीन हजार चार सय ८६ मानिस मात्रै संक्रमित पाइएका छन् । दोस्रोमा पूर्वी एसिया रहेको छ, नेपाललगायतका ११ मुलुक पर्ने यो क्षेत्रमा संक्रमित संख्या चार हजार ८४ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण युरोपमा फैलिएको छ । युरोपमा सोमबारसम्म तीन लाख ९२ हजार सात सय ९७ मानिस संक्रमित भएका छन् भने त्यसपछि उत्तर, दक्षिण अमेरिका रहेको छ । संयुक्त राज्य अमेरिका भने सबैभन्दा बढी मानिस संक्रमण हुने देशका रूपमा रहेको छ, त्यहाँ यो समाचार तयार पार्दासम्म एक लाख ६४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

(एजेन्सी)