१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

लकडाउनमा खेलाडी, परिवारसँग क्वालिटी टाइम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१९:००

बिहान उठेदेखि रातिसम्म नै बुबाआमालाई आँखाअगाडि देख्न पाउँदा छोराहरू निकै खुसी छन् । नत्र बिहानै स्कुल जाने उनीहरू कक्षा सकिएपछि मामाघरमा बस्थे । साँझमा मात्र उनीहरूलाई लिन जान पाइन्थ्यो । लकडाउनको मेरो समय परिवारसँग व्यतीत भइरहेको छ । व्यस्त दैनिकीबाट केही फुर्सद मिलेको छ ।

आयसा शाक्य, राष्ट्रिय खेलाडी, तेक्वान्दो

श्रीमान् दीपक विष्ट र म दुवैले अभिभावकको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न पाएका छौँ । छोराहरूसँग चित्र कोर्न, फुटबल र क्रिकेट खेल्न अनि दौडिन पाएका छौँ । हामी आफैँलाई पनि यो समय रमाइलो लागिरहेको छ । कोरोनाको त्रासदीबीच पारिवारिक एकताको वातावरण तयार भएको छ ।

व्यस्त दैनिकीमा रहने मातापिताका लागि ‘लकडाउन’को समय सन्तानलाई समय दिने ठूलो अवसरजस्तो लाग्छ मलाई । सन्तानका लागि मात्र होइन, हजुरबा–आमा, मातापितालाई पनि समय दिने अवसर हो यो । त्यसबाहेक, लामो समयपछि घरको राम्रो सरसफाइको अवसर पनि प्राप्त भएको छ ।

खेलाडी भएपछि फिटनेस पनि दैनिकीको एक मुख्य हिस्सा हो । २–३ दिन शारीरिक अभ्यास गर्न पाइएन भने अपच हुने, खुट्टा र मांशपेसी दुख्ने, जिउ काम्नेजस्ता समस्या देखिन थाल्छन् । त्यसैले शारीरिक अभ्यासलाई निरन्तरता दिइरहेका छौँ । हामीले प्रशिक्षण दिइरहेका भाइ–बहिनीलाई पनि ग्रुप च्याटमार्फत तालिम दिइरहेका छौँ । तर, शारीरिक अभ्यास समूहमा या एक्लै गर्नुमा फरक हुन्छ ।

समूहमा प्रशिक्षक अगाडि उभिएर लिइने तालिमको मज्जा नै बेग्लै । कोरोनाको त्रासले त्यस्तो मज्जा लिन र दिन पाइएको छैन । कोरोनाको यो कहरमा पनि शारीरिक तन्दुरुस्तीमा ध्यान दिन हरेक खेलाडीलाई सुझाब दिन्छु । यस प्रतिकूल घडीमा पनि सबै नेपालीले घरभित्रै परिवारका साथ सुखद समय बिताउन पाउन् भन्ने कामना गर्छु । सबै युवा–युवतीलाई घरायसी काममा बुबाआमालाई सहयोग गर्न आग्रह गर्छु । कतिपय घरायसी कामकाज पनि व्यायामसरह हुन्छन्, जसले शरीरलाई बलियो र स्वस्थ राख्न मद्दत गर्छन् ।