मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत १८ मंगलबार ०८:२६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

परीक्षण, परीक्षण  र परीक्षण

Read Time : > 1 मिनेट
२०७६ चैत १८ मंगलबार ०८:२६:००

सम्पादकीय -

कोरोना भाइरसको प्रकृति हेर्दा यो सय वर्षयताकै सबैभन्दा जोखिमपूर्ण भाइरस मानिएको छ । पहिलो विश्वयुद्धलगत्तै फैलिएको स्पेनिस फ्लुबाट चार करोडभन्दा बढी मानिस मारिएको अनुमान गरिन्छ । त्यसयता टिबी, बिफर, स्वाइनफ्लु, सार्स, एड्स, इबोलालगायत भाइरसका कारण विश्वमा लाखौँ मानिस मारिएका छन् । तर, यसपालिको जस्तो विश्वव्यापी आतंक सिर्जना गर्दै गत वर्षको अस्ट्रेलियाली डढेलोझैँ फैलिएको महामारी भने देखिएको थिएन । औपचारिक रूपमा रोग निदान गरिएको तीन महिना पुग्दा–नपुग्दै साढे सात लाखभन्दा बढी संक्रमित भएका छन्, १९९ देशमा यो फैलिएको छ, ३५ हजारजतिको मृत्यु भएको छ । विश्वको जनसंख्यामा यो संक्रमित संख्या अत्यन्त न्यून हो, त्यसबाट मर्नेहरूको संख्या गणना मात्र गर्दा पनि यो सामान्य लाग्न सक्छ ।

तर, जुन रूपमा यो फैलिँदै गएको छ, त्यसले पार्न थालेको प्रभाव भने लामो समय रहने देखिएको छ । अहिले नै विश्व अर्थतन्त्र महामारीको चपेटामा धकेलिइसकेको छ । अन्तर्राष्ट्रिय उडान, आवतजावत ठप्प छन् । उद्योगहरू लकडाउनमा परेका छन् । साना व्यापार र व्यवसायसँग जोडिएका पेसा खारेज भएका छन् । विश्वभर लाखौँ मानिसले पेसासंँगै आफ्नो नियमित आय गुमाएका छन् । संक्रमण फैलिएका सहरका अस्पतालले नियमित बिरामीको समेत उपचार गर्न छाडेका छन् । यस्ता कारणले अहिले नै कतिको ज्यान गयो, यकिन भएको छैन । विश्वस्तरमा औद्योगिक उत्पादन बन्द मात्र भएको छैन, वस्तु तथा सेवाको मागमा उल्लेख्य कमी आएको छ । यसमा वेलैमा हस्तक्षेप गर्न नसक्दा घट्न जाने विश्वको आर्थिक वृद्धिको नकारात्मक दरले रोजगारीलाई पार्ने प्रभावसँगै गरिबीको दरमा उल्लेख्य वृद्धि आउने निश्चित छ । यस्तो गरिबीको दूरगामी असर अर्थतन्त्र र शिक्षासहित उत्पादनका अनेक क्षेत्रमा पर्ने नै छ । 

अब सकभर धेरैधन्दा धेरैको परीक्षण गरी संक्रमण देखिएका व्यक्ति र तिनको सम्पर्कमा आएकालाई पत्ता लगाउनु, परीक्षण गर्नु, अलग्गै बस्ने व्यवस्था मिलाउनु र जहिलेसम्म संक्रमण देखिन्छ, यो प्रक्रिया दोहोर्‍याइरहनु आवश्यक छ

यी दूरगामी प्रभाव न्यूनीकरणका लागि नेपालले गर्न सक्ने मुख्य उपाय भनेको संक्रमण फैलन नदिन गरिने प्रयास नै हो । यतिवेला बाहिरबाट संक्रमित व्यक्ति भित्रिने सम्भावित मार्ग लगभग थुनिएका छन् । जेजति भारतबाट आइरहेका छन्, तिनलाई क्वारेन्टाइनमा राख्न सकियो भने बाहिरबाट फैलने संक्रमण रोक्न सकिनेछ । जेजति रोग लिएर भित्रिएका छन्, उनीहरू असुरक्षित ढंगले सवारीसाधनको प्रयोग गर्ने र समुदायमा घुलमिल हुने अवस्था भएकाले नेपालमा संक्रमणको मुख्य स्रोत त्यही हुने निश्चित छ । अरू देशमा पनि यस्तै भएको हो । अब देश आमबन्दीमा गएको दोस्रो साता सुरु भएको छ ।

संक्रमण फैलन नदिन हामीसँग भएको सबैभन्दा ठूलो उपाय नै हरेकलाई सचेत बनाउँदै व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी बढाउनु तथा सम्भावित सबैको स्वास्थ्य परीक्षण गर्नु हो । यसरी परीक्षण गर्दा जसमा संक्रमण देखिन्छ, उसको सम्पर्कमा आएकालाई पत्ता लगाउनु, परीक्षण गर्नु र अलग्गै बस्ने व्यवस्था मिलाउनु, जहिलेसम्म संक्रमण देखिन्छ, यो प्रक्रियालाई दोहो¥याइरहनु आवश्यक हुन्छ । नेपालले गर्न सक्ने काम यही हो । आमजनताले यस मामिलामा सरकारलाई साथ दिनु जरुरी छ । तर, मुख्य काम भने स्वास्थ्यकर्मी, अस्पताल, सुरक्षाकर्मी र जनप्रतिनिधिले नै गर्नुपर्नेछ । आवश्यक पर्दा सबै राजनीतिक दल मिलेर स्वयंसेवक परिचालनमा सरकारलाई सहयोग गर्नुपर्ने हुन सक्छ । हिजोदेखि नै गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा प्रयोगशाला विस्तार भएको छ । स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था पनि हुन थालेको छ । अब गर्नुपर्ने भनेकै परीक्षण हो र समुदायमा फैलिन नदिन हरसस्म्भव उपाय अपनाउनु हो ।