मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत १७ सोमबार १८:५७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना नियन्त्रणका लागि बागमती प्रदेश सरकारको कोषमा ५० करोड पुर्‍याइने 

Read Time : > 1 मिनेट
२०७६ चैत १७ सोमबार १८:५७:००

बागमती प्रदेश सरकारले खडा गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ५० करोड  पुर्‍याइने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा ५० करोड रकम  पुर्‍याउने निर्णय गरेको हो । प्रदेशमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि १० करोड रकम जम्मा गरेर खडा गरिएको कोषमा ४० करोड थपेर ५० करोड पुर्‍याइने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको ढुंगेलले बताए । बैठकले कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदको संयोजकत्वमा र समानुपातिक सांसद, स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको छ । 

बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भए–गरेका गतिविधिबारे जानकारी आदानप्रदान गराउन संयन्त्र बनाउने निर्णय गरेको  ढुंगेलले जानकारी दिए ।

प्रदेश सरकारको कोषमा एकैदिन १७ लाख सहयोग
बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एकैदिन १७ लाख सहयोग जुटेको छ ।  

कोषमा सोमबार दुई संस्थाले रकम सहयोग गरेका हुन् । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी र सिटिजन्स बैंकले सहयोग रकम मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरेका थिए । गोर्खा लाहारीका म्यानेजर बजरंगीप्रसाद सिंहले १० लाख र सिटिजन्स् बैंक हेटौँडाका सहायक म्यानेजर मोनिका प्रधान र क्रेडिट विभागका दीपबहादुर थापाले सात लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सिद्धार्थ बैंक लिमिटेडले प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी गोर्खा लाहारीले एक लाख रुपैयाँ जिल्ला विपत् कोषलाई सहयोग गरेको छ । कम्पनीका म्यानेजर सिंहले जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।