१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १७ सोमबार १४:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पूर्वराज्यमन्त्री खड्काद्वारा एक महिनाको घरभाडा छुट दिने घोषणा

Read Time : > 1 मिनेट
२०७६ चैत १७ सोमबार १४:४९:००

पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छिन्। 

बाग्लुङ नगरपालिका– २ मा रहेको आफ्नो घरमा वहालमा बस्नेहरूसँग चैत महिनाको करिब एक लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने उनले घोषणा गरेकी हुन्।

कोरोना भाइरस (कोभिड–१९) का कारण पेसा–व्यवसाय सबै ठप्प भएको वेला वहालमा बस्नेहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनाको भाडा छुट दिने निर्णय गरेको उनले बताइन्।

‘यो विषम परिस्थितिमा मानव जाति नै संकटमा रहेको वेला थोरै भए पनि मानवीय सहयोग होस् भन्ने उद्देश्यले एक महिनाको घरभाडा छुट गर्ने निर्णय गरेकी हुँ,’  खड्काले भनिन्, ‘यो वेला भाडामा बसेका व्यापारीको व्यवसाय पनि ठप्प छ, यस्तो अवस्थामा सबैले मानवीयताको आधारमा डेरामा बस्नेहरूलाई सहयोग गर्नुपर्छ।’ 

खड्का हाल अमेरिकामा छिन्। आफ्ना भान्जा अर्जुन घिमिरेमार्फत एक महिनाको घरभाडा छुट दिने जानकारी उनले बहालमा बस्नेहरूलाई गराएकी हुन् । घिमिरेले भाडामा बस्ने सबैलाई एक महिनाको घरभाडा छुट भएको जानकारी गराइएको बताए।

०७० मा भएको संविधानसभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित तत्कालीन संविधानसभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन्। 

पतिको मृत्युपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा उनी विजयी भएकी थिइन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा गरिबी निवारण तथा सहकारी राज्यमन्त्री भएकी थिइन्। उनी अहिले कांग्रेस महासमिति सदस्य छिन्। 

उनका दुई भाइ छोरा डा. सुदीप खड्का र सुमित खड्का अमेरिकामा रहेकाले पारिवारिक भेटघाटका लागि उनी अमेरिका गएकी हुन्। जेठो छोरा डा. सुदीप चर्चित इबोला भाइरसको औषधि पत्ता लगाउने टिममा रहेका एक मात्र नेपाली वैज्ञानिकसमेत हुन्। 

यसैबीच बाग्लुङका युवा व्यवसायी कुमार खड्काले पनि एक महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। उनले बाग्लुङ– ३ मा रहेको घर र केही छाप्राको करिब एक लाख रुपैयाँबराबर घरभाडा छुट गरेको जानकारी दिए। 

उनले काठमाडौंमा रहेको आफ्नो घरमा बस्नेलाई पनि एक महिनाको भाडा मिनाहा गर्ने बताएका छन्।