मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ चैत १७ सोमबार १२:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नेपालमा हान्ता भाइरसको जोखिम कति ?

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७६ चैत १७ सोमबार १२:०५:००

 डा. नवीन रौनियार, जनरल फिजिसियन, नेपाल पुलिस अस्पताल

चीनमा हान्ता भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएसँगै सामाजिक सञ्जालमा यसबारे बहस सुरु भएको छ । विश्वले कोरोना भाइरसको महामारी खेपिरहेको अहिलेको अवस्थामा हान्ता भाइरस देखिनुले आममानिसमा अर्को डर थपिएको छ ।

पछिल्लो दुई दिनमा हान्ता भाइरस सबैभन्दा धेरै खोजिएको विषय हो । त्यस्तै, ट्विटरमा पनि यो ट्रेन्डिङमा रहेको छ । हान्ता भाइरसबाट मंगलबार दक्षिण पश्चिमको युनान प्रान्तमा एकजनाको मृत्यु भएपछि अन्य ३२ जनामा परीक्षण गरिएको थियो । 

 के हो हान्ता भाइरस ?

मुसाबाट सर्ने भाइरस हो, हान्ता । यो विभिन्न किसिमको हुन्छ । अमेरिकामा पाइने भाइरसलाई ‘न्यु वल्र्ड’भन्ने गरिन्छ । जसको संक्रमणबाट पल्मोनरी सिन्ड्रोम अर्थात् एचपिएसको समस्या हुने गर्छ । हान्ता भाइरसको संक्रमण हुँदा मानिसमा थकान महसुस हुने, ज्वरो आउने, मांसपेसी दुख्ने र बिस्तारै श्वासप्रश्वासमा समस्या आएर मृत्युसमेत हुने गर्छ ।

त्यस्तै, युरोप र एसियातिर पाइने हान्ता भाइरसलाई ‘ओल्ड वल्र्ड’ नामले चिनिन्छ । यो भाइरसको संक्रमण हुँदा रेनल सिन्ड्रोम अर्थात् एचएफआरएसको समस्या निम्तिन्छ । साथै, ज्वरो आउने, श्वासप्रश्वासमा गम्भीर समस्या देखिने, अत्यधिक टाउको, कम्मर, गर्दनकोे दुखाइ हुने, दृष्टि धमिलो हुँदै जानेजस्ता लक्षण देखिन्छन् । हान्ता भाइरस विरलै हुने समस्या भए पनि निकै घातक हुन्छ । 

कसरी हुन्छ संक्रमण ?

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार, हान्ता भाइरस संक्रमित मुसाको पिसाबबाट मानिसमा सर्ने गर्छ । तर, यो एक मानिसबाट अर्कोमा सर्दैन । सामान्यतया, संक्रमित मुसाको पिसाबमा रहेका भाइरस हावाकोे माध्यमबाट मानिसमा सर्ने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा जंगल, खेत र फार्महरूमा काम गर्ने व्यक्ति, पुराना भवनमा काम तथा झाडी सफा गर्दा भाइरसको संक्रमण हुन सक्ने जोखिम हुन्छ । भाइरस हातबाट विभिन्न माध्यम हँुदै मुखमा पुग्दा भाइरसको संक्रमण हुन्छ । 

नेपाल कति जोखिममा ?

हान्ता भाइरस एक व्यक्तिबाट अर्कोमा नसर्ने हुँदा यसले कोरोना भाइरसजस्तो महामारीको रूप लिएको पाइँदैन । तर, संक्रमण भइसकेपछि यो स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । हान्ता भाइरसलाई आममानिसले कोरोनासँग दाँजेर हेर्न थालेको पाइन्छ, तर यसबाट आत्तिनुपर्दैन । नेपाल हान्ता भाइरसको न्यून जोखिममा रहेको देश हो । यो भाइरस मानिसबाट मानिसमा र मानिसबाट मुसामा नसर्ने भएकाले यसले महामारीको रूप लिँदैन । 

उपचार छ ?

कोरोना भाइरसजस्तै हान्ता भाइरसका लागि पनि भ्याक्सिन वा औषधि अहिलेसम्म उपलब्ध छैन । यसले छिटो प्रभावित हुने भएकाले लक्षण देखिनासाथ तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । लक्षणका आधारमा अक्सिजन थेरापी, रेनल र पल्मोनरी सिन्ड्रोमको उपचार गर्न सकिन्छ । तसर्थ, मुसाको नजिक भएको शंका लागेमा वा श्वास फेर्न गाह्रो हुने, मांशपेसी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ । त्यस्तै, यो भाइरस हातको माध्यमबाट मुखसम्म पुग्ने भएकाले बाहिर काम गरेर आएपछि साबुनपानीले अनिवार्य हात धुनुपर्छ ।