१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोना भाइरस  नियन्त्रणका लागि सहयोगी हातहरू

कुन व्यापारिक घरानाले गरे कस्तो सहयोग ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ०६:५५:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न विभिन्न निजी संस्थाले आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । केही संस्थाले सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गरेका छन् भने कुनैले विभिन्न मेडिकल सामग्री सहयोग गरेका छन् । नेपालका निजी घरानादेखि बैंक तथा वित्तीय संस्थाले सहयोगलाई निरन्तरता दिएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा नेपाल पनि पाँच दिनदेखि ‘लकडाउन’मा छ । आममानिस घरभित्रै थुनिएका छन् । मुलुक संकटमा परेका वेलामा उद्योगी–व्यवसायीले सहयोगी हात अगाडि बढाएका छन् । कतिपयले घोषणा गरिसकेका छन् भने कतिपयले सहयोग घोषणा गर्ने तयारीमा छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले हालै सरकारले स्थापना गरेकोकोषमा १ करोड रुपैयाँबराबरको राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।

एन९५ माक्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री आपूर्ति गरी देशभरका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउने योजना फाउन्डेसनको छ ।यसअघि कोरोनाको त्रास सुरु भएपछि फाउन्डेसनले वीर अस्पताल, प्रसूतिगृह र कान्ति बाल अस्पताललाई विभिन्न सामग्री उपलब्ध गराएको थियो ।

यस्तै, उद्योगी विनोद चौधरीले कोरोना संक्रमितको उपचार गरिने अस्पतालमा सर्जिकल मास्क र पिपिई वितरण गरिरहेका छन् । अर्का उद्यमी वसन्त चौधरीले सरकारको कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग दिने भएका छन् । त्यसमा ५० लाख नगद र बाँकी मेडिकल उपकरणहरू उपलब्ध गराउने उनको भनाइ छ । व्यावसायिक घराना लक्ष्मी ग्रुपले पनि कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

अर्का व्यवसायी दीपक मल्होत्राले स्वदेशमै डिस्पोजेबल मास्क उत्पादन र वितरण गरिरहेका छन् । मास्कको चरम अभाव भएपछि मल्होत्राले नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा मास्क उत्पादन थालेका हुन् । ललितपुरको लुभुस्थित उद्योगले दैनिक ७० हजार थान मास्क उत्पादन गर्छ । 

यसैगरी, ग्लोबल आइएमई बैंकले सरकारको कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । कोषमा एनसेल प्रालिले १० करोड रुपैयाँ दिने भएको छ ।नेपाल बैंक लिमिटेडले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । भाटभटेनी सुपर मार्केटले १ करोड रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल धितोपत्र बोर्डले ५० लाख र सहकारी विकास बैंकले ११ लाख रुपैयाँ दिएका छन् । नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि सुरक्षा उपकरण सहयोग गरेका छन् ।

सिद्धार्थ बैंकद्वारा हरेक प्रदेशलाई १०–१० लाख रुपैयाँ सहयोग

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सातवटै प्रदेशलाई १० लाख रुपैयाँका दरले सहयोग गरेको हो । 

कोरोनाभाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेका वेला बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । व्यावसायिक संस्थाहरूले उक्त कोषमा रकम जम्मा गर्ने क्रम बढ्दो रहेको छ । देशमा यस्तो किसिमको संकट आएका वेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रहिआएको बैंकले जनाएको छ । 

सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रूपमा पालना गर्दै बैंकले आफ्ना देशभरका बैंकका शाखाहरूबाट सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । विश्वमा देखिएको यस विषम परिस्थितिसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधिमैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरूसमक्ष बैंकले आग्रह गरेको छ ।