मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी युभेन्ट्स
२०७६ चैत १७ सोमबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद

युभेन्ट्सका खेलाडीले चार महिनाको तलब नलिने

Read Time : > 1 मिनेट
एजेन्सी युभेन्ट्स
२०७६ चैत १७ सोमबार ०८:१५:००

कोरोना भाइरस महामारीका कारण विश्व नै ठूलो आर्थिक संकटको सँघारमा छ । त्यसबाट खेलकुद क्षेत्र पनि अछुतो छैन । त्यही संकटबाट आफ्नो टोलीलाई जोगाउन इटालियन फुटबल क्लब युभेन्ट्सका प्रशिक्षक र खेलाडीले आगामी चार महिनासम्म आफ्नो तलब नलिने घोषणा गरेका छन् । इटाली कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म इटालीमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

इटाली अहिले ‘लकडाउन’मा छ । त्यहाँ सबै गतिविधि ठप्प छन् । पछिल्लो तीन सातादेखि खेलकुदका सबै गतिविधि पनि स्थगित छन् । भाइरस संक्रमणको क्रम अझ तीव्र बन्दै जाँदा यो संकट अझ बढ्ने अवस्थामा देखिएको छ । त्यसले फुटबलदेखि अन्य सबै खेलकुदको सिजन पूरा नहुने देखिएको छ । यसले गर्दा क्लबहरूले ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने खतरा देखिएको हो ।

आफ्नो टोली युभेन्ट्सलाई त्यही संकटबाट जोगाउन खेलाडी र प्रशिक्षकले आगामी चार महिनासम्मको तलब नलिने घोषणा गरेका हुन् । यसका लागि टोलीका कप्तान जियोर्जियो चिलेनीले प्रशिक्षक र खेलाडीसँग पहल गरेका थिए । त्यसअनुसार इटालियन सिरी एकै सर्वाधिक महँगा खेलाडी क्रिस्टियानो रोनाल्डोको तलबबाट मात्रै एक करोड युरो काटिनेछ । 

खेलाडी र प्रशिक्षकको यो निर्णयबाट क्लबका लागि नौ करोड युरो नाफा हुने जनाइएको छ । युभेन्ट्समा पोर्चुगिज रोनाल्डो, वेल्सका मिडफिल्डर आरोन राम्सीलगायत खेलाडी छन् । उनीहरूले मार्च, अप्रिल, मे र जुन महिनाको तलब नलिने घोषणा गरेका हुन् । खेलाडी र प्रशिक्षकको यो निर्णयप्रति क्लबले धन्यवाद दिएको छ । ‘कठिन समयमा क्लबप्रति देखाएको मायाका लागि खेलाडी र प्रशिक्षकलाई युभेन्ट्स धन्यवाद दिन चाहन्छ,’ क्लबले विज्ञप्तिमार्फत भनेको छ ।

युभेन्ट्स पछिल्लो आठ सिजनदेखि इटालीको सिरिए लिग च्याम्पियन टोली हो । यो सिजन पनि युभेन्ट्स इटालियन सिरी ए अंकतालिकाको शीर्ष स्थानमा छ । युभेन्ट्सले शीर्ष स्थानमा रहँदा लाजियोलाई मात्रै एक अंकले पछि पारेको हो । युभेन्ट्सकै तीन खेलाडी डानिइली रुगानी, ब्लेइस मातउडी र पउलो दिबालालाई पनि कोभिड–१९ संक्रमण देखिएको छ ।