मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ०७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ पत्रिका समाचार प्रभाव : रिनाको परिवारलाई देशविदेशबाट सहयोगको प्रतिबद्धता

शव दहन गर्न आनाकानी गर्ने कर्मचारीलाई पशुपति विकास कोषले सोध्यो स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार ०७:५६:००

पशुपति क्षेत्र विकास कोषले शव दहनका क्रममा बार्गेनिङ गर्ने विद्युतीय शव दहन केन्द्रका कर्मचारीसँग स्पष्टीकरण लिएको छ । विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले केन्द्रका कर्मचारीसँग आइतबार बिहान स्पष्टीकरण लिएका हुन् । आगामी दिनमा विपन्न वर्गको शव दहनमा हेलचेक्र्याइँ नगर्न पनि कोषले केन्द्रका कर्मचारीलाई निर्देशन दिएको छ । 

कार्यकारी निर्देशक खतिवडाले शव दहनका क्रममा बार्गेनिङ गर्ने कर्मचारीसँग स्पष्टीकरण लिइएको बताए । ‘शनिबार शव दहन केन्द्रका कर्मचारीबाट केही कमजोरी भएछन् । त्यसलाई सच्याउन हामीले आइतबार बिहानै स्पष्टीकरण लिएका छौँ । आगामी दिनमा यस्ता कार्य हुन नदिन हामीले सचेतसमेत गराएका छौँ । रकम अभावकै कारण शव दहन कार्य रोकिनु हुन्न । अब पनि रोकिन्न,’ उनले भने । शव दहन केन्द्रका कर्मचारीले शनिबार दिउँसो २७ वर्षीया रिना श्रेष्ठका श्रीमान् राजेशको शव दहनका क्रममा बार्गेनिङ गरेका थिए । आर्थिक रूपमा विपन्न श्रेष्ठले तोकिएजति रकम दिन नसकेपछि दहन कार्य नै रोकिन पुगेको थियो । नयाँ पत्रिकाको पहलपछि मात्रै उनका श्रीमान्को शव दहन हुन सकेको थियो । 

सहयोग गर्न दाताको दर्जनौँ प्रतिबद्धता  

आर्थिक अभावबाट शव दहनसमेत हुन नसकेको रिनाको पारिवारिक अवस्थाबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सहयोगका लागि प्रतिबद्धता जनाउने दाताको ओइरो लागेको छ । आइतबार मात्रै देशविदेशबाट गरी १५ जनाभन्दा धेरै दाताले रिनाको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तीमध्ये दुई दाता आइतबार नै नक्सालस्थित किरिया बारिरहेको रिनाको परिवारलाई भेट्न पुगेका थिए । उनीहरूले १० बोरा चामलसहित २० हजार रुपैयाँ दिएर गएको रिनाकी सहयोगी रेणु थापाले बताइन् । ‘सहयोग गर्छु भनेर धेरैले फोन गरेका छन् । लकडाउनले उहाँहरू आउन सक्नुभएको छैन । दुईजना भने आउनुभयो । उहाँहरूले चामल र केही नगद दिएर जानुभयो । भोलि थप सहयोगी आउने कुरा छ,’ उनले भनिन् ।

अब विपन्नको शव निःशुल्क दहन हुने

विश्व हिन्दू युवा संघले अब सबै विपन्न वर्गको शव दहन निःशुल्क गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि संघले आइतबार नै पशुपति क्षेत्र विकास कोषको समन्वयमा निर्णय गरिसकेको छ । ‘रकम अभावका कारण अब कुनै पनि विपन्न दाहसंस्कार गर्नबाट वञ्चित हुनेछैनन् । सोमबारबाटै लागू हुने गरी आर्यघाटमा आएका सम्पूर्ण विपन्न वर्गको शव निःशुल्क रूपमा दहन हुनेछन्,’ संघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा विपन्न वर्गको शव दहन गर्न मारवाडी सेवा समाज पनि सक्रिय छ । उसले अहिलेसम्म तीन हजारभन्दा धेरै विपन्नको शव निःशुल्क रूपमा दहन गरेको जनाएको छ । अब पनि शव दहन कार्य जारी रहने समाजले जानकारी दिएको छ ।