१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. सुदीप खड्का
२०७६ चैत १७ सोमबार ०७:३८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

कोरोना रोकथामका सन्दर्भमा नेपाल

सामाजिक आइसोलेसनसँगै सामाजिक सञ्जालबाट आउने भ्रमपूर्ण कुसूचनालाई पनि बहिष्कार गर्नु जरुरी छ

Read Time : > 4 मिनेट
डा. सुदीप खड्का
२०७६ चैत १७ सोमबार ०७:३८:००

डेंगु, हेपाटाइटिस सीजस्ता भाइरसको अनुसन्धानबाट सुरु भएको मेरो भाइरससँगको लडाइँ समयक्रमसँगै नयाँ-नयाँ भाइरसको प्रकोप उब्जिँदै गर्दा जिका र इबोलासम्म पुगेको छ । इबोलाजस्तो जोखिमयुक्त भाइरससँग काम गर्न जैविक सुरक्षा–४ तहको प्रयोगशाला आवश्यक हुन्छ भने हाल देखिएको कोरोना भाइरस अध्ययन गर्नसमेत सुरक्षा–३ तहको प्रयोगशाला आवश्यक हुन्छ । अर्थात् यी दुवै भाइरस गम्भीर प्रकृतिका हुन् र दुवै भाइरससँग नजिक हुनुपर्दा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । 

अनुसन्धानकै सिलसिलामा श्वासप्रश्वासबाट सर्ने इन्फ्लुएन्जामा अनुसन्धानरत संसारकै ख्यातिप्राप्त वैज्ञानिकको विभागमा रहेर नजिकबाट नियाल्ने मौका पाएको छु । १५ वर्षदेखिको यो अनुभव अनि केही वर्षयता इबोलाजस्तो संसारकै खतरनाक भाइरसविरुद्ध काम गर्दै गर्दा प्रप्त उच्च तहको जैविक सुरक्षा तालिमको धरातलमा टेकेर नेपालको सन्दर्भमा कोरोनाविरुद्ध उपयोगी हुने केही सुरक्षा उपायको जानकारी गराउँदै केही अफवाह चिर्ने प्रयास प्रस्तुत आलेखमा गरिनेछ । 

चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणले अहिले सम्पूर्ण विश्वलाई नै ठप्प पारिदिएको छ । यो भाइरस–परिवारअन्तर्गत पहिला पनि तहल्का मच्चाइसकेका सार्स र मर्स भाइरस पनि पर्छन् । विगतमा देखिएको सार्ससँग अत्यन्तै नजिकको यो भाइरस सार्स–२ को आधिकारिक नामले परिचित छ भने यो भाइरसको संक्रमणबाट हुने रोगलाई कोरोना भाइरस डिजिज (कोभिड– १९) भनिन्छ । अत्यन्तै सूक्ष्म यो भाइरसले श्वासप्रश्वास प्रणाली तथा फोक्सोमा संक्रमण गरी संक्रमितलाई मृत्युको मुखमा पनि पु-याउन सक्छ । 

नवजातदेखि वृद्धसम्म सबैलाई संक्रमण गर्न सक्ने यो भाइरस विशेषतः वृद्ध तथा कमजोर स्वास्थ्य अवस्थाका बिमारीका लागि घातक देखिएको छ । 

नवजातदेखि वृद्धसम्म सबैलाई संक्रमण गर्न सक्ने यो भाइरस विशेषतः वृद्ध तथा कमजोर स्वास्थ्य अवस्थाका बिमारीका लागि घातक देखिएको छ । नेपालमा पनि हालै मात्र नयाँ संक्रमितको पुष्टि भएको छ । अनियन्त्रित आगमन, कमजोर अनुगमन तथा अव्यवस्थित अभिलेखीकरणका कारण संक्रमितको संख्या उच्च हुन सक्ने तथा केही दिनमै स्थिति भयावह हुन सक्ने सम्भावना पनि उत्तिकै छ । आजका दिनसम्म अन्यत्र महामारी फैलिँदै गर्दा पनि नेपालमा नाफैलिनु हाम्रो सौभाग्य भए पनि अब स्थिति त्यही रहेन । यत्तिका समय उपलब्ध हुँदा पनि राज्यका तर्फबाट पूर्वतयारी अत्यन्तै फितलो र सतही मात्र रहन गयो । खैर, त्यो विषयमाथि भविष्यमा बहस हुने नै छ । आर्थिक सामाजिक तथा विकासका दृष्टिकोणले पनि नेपाल सरुवाजन्य महामारीका निमित्त पायक स्थान हो ।

हाम्रा सहर–बजार अत्यन्त अव्यवस्थित तथा घना छन् । निरन्तरको अव्यस्थित निर्माण, कमजोर सरसफाइ, सीमित स्वास्थ्यसेवा र चर्को प्रदूषणले गर्दा श्वासप्रश्वाससँग सम्बन्धित समस्या नेपालमा बढ्दो छ । जन्म, मृत्यु संस्कार, जात्रा, चाडबाड, नातागोता भेट्ने चलन, अति भिडभाडयुक्त सार्वजनिक सवारी इत्यादिले गर्दा हाम्रो समाजमा कोरोनाजस्ता संक्रमण फैलिने प्रचुर सम्भावना छ । सीमित स्वास्थ्य सेवाको उपलब्धताले गर्दा महामारी फैलिँदै गर्दा सबैले उचित स्वास्थ्य सेवा पाउने सम्भावना पनि थोरै छ । तसर्थ, संक्रमण फैलिन नदिनु नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । 

कोरोना आफैँ सर्दैन । व्यक्ति–व्यक्तिको सम्पर्कबाट यो भाइरस सर्छ । संक्रमित व्यक्तिको श्वासप्रश्वास प्रणालीबाट बोल्दा, हाच्छिउँ गर्दा या खोक्दा यो भाइरससहितका मसिना थुकका छिटा हावामा फैलिन्छन् । स्वस्थ व्यक्तिले ती छिटा श्वासमार्फत ग्रहण गर्दा नयाँ संक्रमण हुन जान्छ । यो भाइरस हावामा केही घन्टासम्म संक्रमणयोग्य अवस्थामा रहने हुँदा संक्रमित हुने सम्भावना बिरामीको प्रत्यक्ष सम्पर्कमा नरहँदा पनि हुने गर्छ । साथै, यो भाइरस सतहमा समेत टाँसिएर बस्न सक्ने हुँदा संक्रमित सतहको माध्यमबाट पनि फैलिन सक्छ । 

संक्रमित सतह छुँदा यो भाइरस हातमा लाग्ने र सोही हातले अनुहार छुँदा श्वासप्रश्वास प्रणालीमा पुग्न गई नयाँ संक्रमण हुन सक्छ । तसर्थ, पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरेर भाइरस संक्रमणबाट जोगिन सकिन्छ । घरेलु उपायका लागि स्पिरिट वा अन्य कुनै शुद्ध मदिरा पनि ७० प्रतिशतको अनुपात (३ भाग अल्कोहोल १ भाग पानी) मिलाएर हात सफा गर्न‘का साथै सतह सफा गर्न प्रयोग गर्न सकिन्छ । केही उपलब्ध नभएको खण्डमा साबुनपानीले ढोका, टेबुल कुर्चीलगायत धेरै छोइने सतहलाई पटक–पटक सफा गर्न‘पर्छ । 

यो रोग लागेपछि सुरुमा अन्य भाइरल संक्रमणसरह सामान्य रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिन्छन् भने केही संक्रमितमा सुक्खा खोकी, श्वास फेर्न कठिनाइ, निमोनिया, टाउको दुख्नेजस्ता लक्षण पनि देखिन सक्छ । जीवनमै गम्भीर जोखिम पार्ने लक्षण नदेखिएसम्म अस्पताल जानु उचित हुँदैन । यो भाइरसविरुद्ध कुनै उपचार नभएको हुनाले अस्पताल गएर पनि फाइदा हुँदैन, उल्टो अरूलाई संक्रमण फैलिने सम्भावना हुन्छ । तर, गम्भीर लक्षण देखिएमा भने तुरुन्त अस्पतालमा सम्पर्क गरेर सुझाब लिई थप स्वास्थ्य सेवा लिनुपर्छ ।

सरुवा रोगहरू दिन दुई गुना रात चौगुना फैलिन्छन् । यो रोग उपचारको प्रविधि विकास नभइसकेको हुनाले संक्रमणबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो । यो रोग लाग्न नदिन सबैले घरमा अन्य व्यक्तिको सम्पर्कबाट टाढा बस्नुपर्छ । अरूलाई भेट्न नजाने मात्र होइन, आफ्नो घरमा पनि अरूलाई आउन दिनुहुँदैन । संक्रमण भइसकेपछि पनि कुनै लक्षण नदेखिएका व्यक्तिबाट पनि यो रोग सर्न सक्छ । निश्चित उमेर समूहका व्यक्तिलाई यो रोगले थप असर पार्ने देखिए पनि यो रोगको परिणाम उमेरमा आधारित हुँदैन । साथै, सम्पूर्ण नागरिकको उद्देश्य आफू जोगिने अनि अरूलाई पनि जोगाउने हुनुपर्छ । अन्तर्राष्ट्रिय संकटको यस घडीमा सबैको आआफ्ना तर्फबाट कर्तव्य पालना अपरिहार्य छ ।

अनियन्त्रित आगमन, कमजोर अनुगमन तथा अव्यवस्थित अभिलेखीकरणका कारण संक्रमितको संख्या उच्च हुन सक्ने तथा केही दिनमै स्थिति भयावह हुन सक्ने सम्भावना पनि उत्तिकै छ।

यस रोगबाट बच्न बाहिर निस्कनै परेको खण्डमा मास्क प्रयोग गर्न सकिन्छ । मास्क प्रयोग गरेको खण्डमा पनि कम्तीमा ६ फिटको दूरी कायम राख्नेलगायत सावधानी अपनाउनु उत्तिकै जरुरी छ । मास्क, पन्जालगायत पहिरनले सुरक्षा गर्न मद्दत गरे पनि उचित प्रयोग विधि अपनाउन नसकेको खण्डमा यिनै साधन संक्रमण फैलाउने कारण बन्न सक्छन् । घरबाहिर प्रयोग गरेको मास्क घरछिर्नुअघि नै जतनसाथ निकालेर फ्याँक्नुपर्छ भने पन्जा लगाउँदा वा नलगाउँदा पनि हात धुनैपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनसम्पर्कमा रहनुपर्ने व्यक्तिले अनुहार छोप्ने फेस सिल्ड प्रयोग गर्दा उत्तम हुन्छ । यस्तो सिल्ड प्लास्टिक प्रयोग गरेर पनि बनाउन सकिन्छ । 

हालसम्म कोरोनाविरुद्ध उपयोग हुने कुनै औषधि वा खोप उपलब्ध छैन । कुनै चामत्कारिक आविष्कार नभएको खण्डमा अझै केही वर्ष यो भाइरसविरुद्धको उपचार निस्कन लाग्नेछ । यही परिप्रेक्षमा सामाजिक सञ्जाल तथा नैतिक धरातल कमजोर भएका केही सञ्चारमाध्यममार्फत यथेष्ट प्रमाणीकरण नगरी अफवाह फैलाउने कार्य भएका छन् । कुनै पनि खानेकुरा, जडीबुटी, व्यायाम वा अन्य उपायले कोरोनाको उपचारमा सघाउँछन् या फैलाउन मद्दत गर्छन् भन्ने प्रमाण छैन । यो विषम परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छनीय तत्व अनेक भ्रम फैलाउन उद्यत छन् । यस्ता भ्रम भाइरस संक्रमणभन्दा खतरनाक साबित हुन सक्छन् ।

तसर्थ, विश्व स्वास्थ्य संगठन वा नेपाल सरकारले आधिकारिक रूपमा सम्प्रेषण गरेकाबाहेक अन्य सन्देश कुनै पनि रूपमा प्रवाह गर्न पूर्ण रूपमा बन्द गरौँ । साथै, कुनै पनि उपचार पद्धतिको प्रमाण भएमा विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा पुष्टि गर्ने नै छ । तसर्थ, सो संगठनको आधिकारिक पेजबाहेक अन्यत्रको कुनै पनि समाचार सम्प्रेषण गर्न‘ भनेको अरूको जीवनसँगको ठूलो खेलबाड हो । सामाजिक आइसोलेसनसँगै सामाजिक सञ्जालबाट आउने यस्ता भ्रमपूर्ण कुसूचनालाई पनि बहिष्कार गर्नु जरुरी छ ।

अहिले होडबाजीकै रूपमा क्वारेन्टाइन वार्ड तथा हेल्थ डेस्क बनाउने लहड चलेको छ । समाजमा सहयोग पुगोस् भन्ने कामनासाथ सुरुवात गरिएका यस्ता गतिविधि आफैँ भाइरस सार्ने माध्यम बन्ने सम्भावना पनि उत्तिकै छ । विश्वका अति विकसित देशका सुविधा सम्पन्न अस्पतालमा कार्यरत वर्षौंदेखिका अनुभवी वरिष्ठ स्वास्थ्यकर्मीको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको अवस्था छ । श्वासप्रश्वासमार्फत सर्ने जघन्य रोग कुनै खेलाची होइन । तोकिएका उपचार केन्द्रमा समेत उपयुक्त पिपिई नभएर त्रासद स्थिति भएको अवस्थामा उचित तवरको तालिम प्राप्त, स्वास्थ्य अधिकृतको निर्देशनविना केबल पन्जा, मास्क अनि इन्फ्रारेड थर्मोमिटरको भरमा कोरोनाको जाँच गर्न‘ जोखिमयुक्त मात्र नभई लापर्बाहीको पराकाष्ठा पनि हो ।

दशकौँसम्म भाइरसबारे अनुसन्धान गरेका हामीसमेत अति उच्च सतर्कता अपनाउँदै विशेष प्रयोगशालामा थप तालिमपश्चात मात्र यस्ता भाइरससँग काम गर्छौं । तसर्थ, यी ‘हेल्थ डेस्क’ तथा ‘चेक पोइन्ट’ तत्काल बन्द गरेर केबल टेलिफोनमार्फत सुझाब लिने व्यवस्था गर्न‘पर्छ । सम्पूर्ण अस्पतालले पनि एउटा हट–लाइन बनाएर तालिम प्राप्त स्वस्थ्यविदबाट परामर्श दिनुपर्छ ।अन्तमा यो त्रासद परिस्थितिबाट आफू पनि जोगिन अनि अरूलाई पनि जोगाउन प्रमुख भूमिका हाम्रै रहनेछ । सामाजिक बहिष्कारमा बसेर आफू पनि जोगिऔँ अनि अरूलाई पनि जोगाऔँ । अति अवश्यक नभएसम्म कोरोनाकै लक्षण देखिए पनि अस्पताल नजाऔँ । हाम्रो एक गलत कार्यले अरू कसैको ज्यान जान सक्छ । यो समय सही सन्देश पु-याऔँ अनि सकारात्मक गतिविधिमा लागौँ । 

(मेडिसिनल केमिस्ट्री तथा मोलिकुलर फर्माकोलोजीमा विद्यावारिधि गरेका खड्का हाल अमेरिकाको एटलान्टास्थित जर्जिया स्टेट युनिभर्सिटीमा जिका र इबोला भाइरसबारे अनुसन्धानरत छन्)