मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ०६:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल सरकारलाई सात प्रश्न : यो भ्रष्टाचार होइन भने के हो ?

६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव मागेको सरकारले खासमा कसको सेवा गर्न खोजेको हो?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ०६:५४:००

१. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ? 

२. कोरोनाले चीनबाट दक्षिण कोरिया, जापान, इटाली हुँदै सिंगो युरोप र अमेरिका लपेट्दा संयोगले नेपालले असाधारण मौका पाएको थियो । त्यो मौकाको सदुपयोग नेपाल सरकारले के काममा गर्‍यो ?

३. वुहान लकडाउन भएदेखि पूर्वतयारीका लागि स्वास्थ्य उपकरण किन्न नेपाल सरकारले सम्बन्धित कम्पनीहरूबाट टेन्डर आह्वान गरेको थियो । २५ माघमा टेन्डर आह्वान गरिएपछि १९ कम्पनीले कोटेसन बुझाएका थिए । तर, दुई महिनासम्म ती कोटेसन सरकारले किन दराजमा थन्क्यायो ? 

४. गत सोमबार लकडाउन गरियो । पुराना टेन्डर रद्द गरेर तीन घन्टाभित्र नयाँ कोटेसन दिन कम्पनीहरूलाई किन आह्वान गरियो ? ६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव मागेको सरकारले खासमा कसको सेवा गर्न खोजेको हो ?

५. सार्वजनिक खरिद ऐनले प्रतिस्पर्धा गराउन भन्छ । प्रतिस्पर्धा गराउनका लागि नेपालसँग पर्याप्त समय थियो । तर, जानाजान इमर्जेन्सी खडा गरेर सामग्री खरिद गर्नु भ्रष्टाचार हो कि होइन ? आज जनताले मागेको र भोलि कुनै संवैधानिक निकायले प्रश्न सोधेमा जवाफदेही हुने को हो ?

. चिनियाँ दूतावास र सिचुवान प्रान्तले दुई सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) मा कसरी किन्यो ? त्यस्तै, चिनियाँ सरकारले पाँच सय पाँच रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर) केको आधारमा तिर्‍यो ?

चिनियाँ सरकारले चार हजार सात सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इन्फ्रारेड थर्मोमिटर नेपाल सरकारले किन्दा सात हजार सात सय ७१ (६५ डलर) कसरी पर्‍यो ? यो भ्रष्टाचारको जवाफदेही नेपाल सरकारको कुन विभाग र कुन पदाधिकारी हुने ?

७. अख्तियारको उपयोग नगर्नु, समयमा निर्णय नगर्नु र सार्वजनिक ढुकुटीमा क्षति पुर्‍याउनुलाई पनि भ्रष्टाचार भनिन्छ । यो भ्रष्टाचारको जवाफ कसले दिने हो ?

तर, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन्–मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन

मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन । खरिद प्रक्रियामा कुनै पनि तलमाथि भएको छैन । काम नहुँदासम्म सामान भएन भनेर जनतालाई निराश बनाउने, सामग्रीहरू पाएपछि अनियमितता गर्‍यो भनेर अतिरञ्जित गर्नु आश्चर्य हो । यी चिन्तन–प्रवृत्तिहरू सरकारको काम र व्यवहारबाट ध्वस्त हुँदै जानेछन् । यस्ता व्यक्तिलाई जवाफ दिनैपर्छ भन्ने छैन । हामी व्यवहारबाट नै जवाफ दिनेछौँ । स्वास्थ्य मन्त्रालयका सबै साथीहरू शब्दमा जुहारी खेल्नेभन्दा कामबाट जवाफ दिने तयारीमा हुनुहुन्छ । समयले यसको जवाफ सबैलाई सन्तुष्ट हुने गरी दिनेछ ।