१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत १७ सोमबार १०:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

महाकाली पुलको गेट नखुलेपछि पारि भारतमा अलपत्र नेपालीको नाराबाजी

धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १०:२८:००

लकडाउन र सीमा बन्दका कारण दार्चुलापारि धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार सरकारविरुद्ध नाराबाजी गरेका छन् । 

भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि उनीहरू घर फर्किएका थिए । तर, नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार आइतबार साँझसम्म धार्चुलामा पाँच सयभन्दा बढी नेपाली आइपुगेका छन् । ‘सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन छैन, सरकारले नभन्दासम्म पुल खोल्न पनि सकिँदैन,’ उनले भने, ‘त्यसमाथि भारतीय पक्षले आधिकारिक जानकारी पनि दिएको छैन ।’ सरकारको सीमानाका बन्द गर्ने निर्णयपछि गत मंगलबार ७८ र शुक्रबार दुई सय २५ नेपालीलाई दार्चुला ल्याएर सम्बन्धित गाउँपालिकाको जिम्मा लगाइएको थियो । 

दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेश ठगुन्नाले सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेपछि धार्चुलामा अलपत्र परेका नेपालीलाई दार्चुला ल्याइने बताए । पारि अलपत्र परेका नेपाली भारतको सोबला, दर, मुन्स्यारीलगायतका क्षेत्रमा मजदुरी गर्थे । उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले स्थानीय सरकारहरूले क्वारेन्टाइनको तयारी नगर्दा समस्या भएको बताए । अलपत्र परेका नेपालीहरू खानसमेत नपाएको पीडा सुनाउँछन् । समूहमा बसेकाले उनीहरूमा संक्रमणको जोखिम पनि उत्तिकै छ ।