मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२०७६ चैत १६ आइतबार १८:१५:००
Read Time : > 1 मिनेट
समाचार

खाद्यान्न आयात आधा घट्यो, तरकारीकाे मूल्यमा वृद्धि

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७६ चैत १६ आइतबार १८:१५:००

लकडाउनको छैठौ दिन चलिरहँदा खाद्यान्न आयात नियमित भन्दा आधामा झरेको छ । जलेश्वर भन्सार कार्यालय हुँदै भारतबाट नियमित आयात हुने चामल,आलु,प्याज र तरकारी लगायतका खाद्य सामग्री झण्डै आधा परिमाणमा मात्र भित्रिएको छ । 

जलेश्वर भन्सार कार्यालय महोत्तरीका प्रमुख केशव भण्डारीका अनुसार अन्य समयमा दैनिक सरदर ६ देखि ७ पट्रक आउने गरेकोमा अहिले दुईदेखि तीन ट्रक भन्दा वढी आउनै सकेको छैन ।

खाद्यान्न तथा तरकारीहरु सवै भारतबाट आउने गरेकोमा भारतीय ट्रक चालकहरु समेत वर्तमान परिस्थितिमा आउन नचाहेको तथा अन्य थप कारणहरुले आयातमा कमि आएको हो । महोत्तरीमै विषादी परीक्षणको व्यवस्था नभएकोले विषादी परीक्षणका लागि सर्लाहीको नवलपुर पुग्नुपर्ने बाध्यता र सो को लागि जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गर्नु पर्ने भएकोले आएका ट्रकहरु समेत एकदेखि दुई दिन भन्सारमै थन्कनु पर्ने बाध्यता रहेको छ ।

जलेश्वर भन्सार कार्यालयले ११ देखि १५ चैत्रसम्मको तथ्यांक अनुसार आलु १ लाख ५७ हजार किलो (सात ट्रक) मात्र जाँचपासको लागि आएको र सो मध्ये ७१ हजार २५० किलो (तीन ट्रक) जाँचपास भई  गएको जनाएको छ । त्यस्तै अझै ८५ हजार ७५० किलो (चार ट्रक) विषादी जाँचपासकै प्रकृयामा रहेको छ । यता ५७ हजार ४३० किलो (दुई ट्रक) प्याज समेत जाँचपासको प्रकृयामा रहेको छ ।

भन्सार कार्यालयमै व्यवस्था, ट्रक चालकहरुलाई रोगबाट बँच्न विशेष स्वास्थ्य सुरक्षाको व्यवस्था लगायतका व्यवस्थापन नभएसम्म चालकहरु ट्रक चलाएर आउन डराइरहेका भन्सार प्रमुखको भनाई छ । अझै आलु, प्याज लगायतका विभिन्न तरकारी जन्य वस्तुमा कालोबाजारी समेत सुरु भइसकेको छ ।

बजारमा तरकारीको मूल्यमा वृद्धि

यता आयातमा कमि भएपछि बजारमा समेत तरकारीहरुको अभाव देखिन थालेको छ । प्राय हरियो तरकारी पाउन छोडिएको जलेश्वर, गौशाल, बर्दिवास र रामगोपालपुर लगायतका बजारमा आलु,प्याज, हरियो तरकारीको मूल्य अत्यधिक रुपमा बढेको छ । एकडारा गाउँपालिकाको वहेडा बजारमै शनिवार प्याज १५० रुपया किलोसम्म विक्री भएको स्थानीयले बताएका छन् ।

त्यसैगरी  जलेश्वर लगायतका वजारमा खाना पकाउने एलपी ग्यास समेतको अभाव देखिएको छ । दुई साता अघिसम्म खाली सिलेन्डर डिलर कहाँ जम्मा गरेका ग्यासका उपभोक्ताले अझै पाउन सकेका छैनन् । अधिकांश ग्यासको डिलरले ग्यास नभएको वोर्ड झुण्ड्याएका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले हालै अनुगमन गर्दा समेत अधिकांश ग्यास डिलरहरुमा खाली सिलेण्डरहरुमात्र भेटिएको थियो ।