१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार १६:५०:००
Read Time : < 1 मिनेट
समाचार

सरकारलाई संवेदनशील बन्न कांग्रेस युवा नेता प्रदीप पौडेलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १६ आइतबार १६:५०:००

कांग्रेस युवा नेता प्रदीप पौडेलले कोरोना भाइरस (कोभिड–१९) र लकडाउनबाट उत्पन्न परिस्थितिमा सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले संक्रमितहरूको परीक्षण गर्ने उपकरण छिटो ल्याउन र धेरैभन्दा धेरैको परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

कोरोनाबाट मुक्ति पाउन विभिन्न देशले चालेको कदमको उदाहरण दिँदै पौडेलले फेसबुक पेजमार्फत श्रमिक वर्ग, मजदुर र विद्यार्थीलाई लक्षित गरी तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग गरेका छन् ।

कोभिड–१९ संक्रमितको छिटो पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाउन आग्रह गर्दै उनले तत्काल परीक्षण क्षमता वृद्धि गर्न र सातवटै प्रदेशमा परीक्षणको व्यवस्था गर्न पनि माग गरेका छन् । त्यस्तै, स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा र परीक्षण उपकरण उपलब्ध गराउन र स्वास्थ्य बिमाको व्यवस्था गर्न पनि उनले माग गरेका छन् । 

पौडेलले विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी तथा साना व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गर्नसमेत आग्रह गरेका छन् । दैनिक उपभोग्य वस्तु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको व्यवस्था गर्न र भ्रष्टाचार, कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

ब्याजदर कटौती गर्दै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन, नागरिकलाई बैंकिङ, बिमालगायत पुँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निःशुल्क हुने व्यवस्था तत्काल मिलाउन पनि  पौडेलले आग्रह गरेका छन् ।