चिनियाँ राजदूत यान्छीले गरिन् स्वास्थ्य सामग्री हस्तान्तरण
चीनले कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन: प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइभ मास्क दुई हजार थान, चस्मा पाँच सय थान, थर्मोमिटर सय थान, व्यक्तिगत सुरक्षा सामग्री पाँच सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल चार सय बक्सा उपलब्ध गराएको हो ।
त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाइन्टी फाइभ मास्क एक लाख दुई सय थान र पिसिआर टेस्ट किट्स दुई हजार ६४ थान उपलब्ध गराएको छ ।
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामग्री दुई सय थान, पुनः प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चस्मा दुई सय थान र पन्जा दुई हजार थान उपलब्ध गराएको छ ।
सिन्चुवान हुसी ग्रुपले दुई हजार थान पुन: प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसी सिमेन्ट कम्पनीले हजार थान व्यक्तिगत सुरक्षा सामग्री र पिसिआर टेस्ट किट्स तीन हजार थान उपलब्ध गराएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोभिड– १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तर्राष्ट्रियस्तरमा पनि सहयोग गर्न तयार रहेको बताइन ।
सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड– १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
उनले चिनियाँ राजदूतबाट प्राप्त यी सामग्रीलाई आवश्यकताअनुसार सक्दो छिटो नेपालका सातवटै प्रदेशमा पुऱ्याइने जानकारी दिए ।