१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत १६ आइतबार ०८:३८:००
Read Time : > 4 मिनेट
अर्थ

पाँच दिनदेखि खाद्यान्न उद्योगसमेत बन्द, तरकारी आपूर्ति आधा घट्यो

उद्योग सञ्चालनदेखि आपूर्तिसम्म सहजीकरण गरिदिन उद्योगीको माग

Read Time : > 4 मिनेट
२०७६ चैत १६ आइतबार ०८:३८:००

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनसँगै मुलुकका अधिकांश खाद्य उद्योगसमेत बन्द छन् । ६ प्रतिशतजति मात्र खाद्यान्न पसलहरू खुलेका छन् भने गाउँमा उब्जिएको तरकारीसमेत सहर ल्याउन नसक्दा राजधानीमै यसको आपूर्ति आधाले घटेको छ । 

मजदुरहरू उद्योगसम्म आउन सक्ने सुरक्षा प्रत्याभूति नभएको र खाद्य वस्तु ढुवानीमा समस्या देखिएकाले उद्योग सञ्चालन गर्न नसकेको उद्योगीले बताएका छन् । यता, ढुवानी समस्याकै कारण तरकारी आपूर्तिसमेत प्रभावित भएको हो । उद्योगी तथा व्यवसायीले उद्योग सञ्चालनदेखि आपूर्तिसम्म सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । 

मुलुकभर खाद्य वस्तु उत्पादन गर्ने झन्डै २ हजार ५ सय उद्योग छन् । ती प्रायः सबै बन्द हुँदा चामल, दाल, तेललगायतका खाद्यान्न उत्पादन हुन सकेको छैन । यसले आपूर्तिमा तत्काल असर नपरे पनि पछि समस्या हुने उद्योगीको भनाइ छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार अहिले बजारमा २–३ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । त्यसैले, उद्योग बन्द हुँदा केही समयपछि उत्पादन र आपूर्तिचक्रमा असर पर्ने उनी बताउँछन् । 

‘लकडाउनपछि खाद्यान्न उद्योग बन्द छन्, अत्यावश्यक खाद्यान्नको उत्पादन रोकिएको छ,’ उनले भने, ‘उपभोक्ताले स्टक राखेको तथा बजारमा पनि पार्यप्त मौज्दात रहेकाले उद्योग नचल्दा पनि अहिल्यै समस्या त पर्दैन, तर पछि आपूर्तिचक्रमा समस्या आउन सक्छ ।’ लकडाउनका वेलामा पनि पर्याप्त सुरक्षा व्यवस्थाको प्रबन्ध गर्दै खाद्यान्न उत्पादन र आपूर्तिको विकल्प नरहेको संघका निवर्तमान अध्यक्ष सुदीप अग्रवालको पनि भनाइ छ । ‘सरकारले तोकेका मापदण्ड पूरा गर्दै स्वास्थ्य सुरक्षा अपनाएर उद्योग चलाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि सरकारले श्रमिकलाई उद्योगसम्म पुग्ने, उत्पादन गर्ने र उत्पादित वस्तु उपभोक्तासम्म पुग्ने वातावरण बनाइदिनुपर्छ ।’

संघले शनिबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण बन्द हुन पुगेको उद्योग सञ्चालनका लागि उद्योगीहरू तयार रहेकाले सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । ‘चामल, तेल, दाल दैनिक जीवनमा नभई नहुने खाद्य वस्तु हुन् । उपभोक्तालाई अभाव नहोस् भनी हामीले विगतदेखि नै हाम्रा सदस्य प्रतिष्ठान र मातहतका सम्बन्धित सबैलाई सजग गराउँदै नेपाल सरकारसँग सहकार्य गर्दै आएका छौँ,’ संघको विज्ञप्तिमा उल्लेख छ, ‘अहिले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र ओसारपसार ठप्प भएको अवस्था छ, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर सञ्चालनमा आउनु अत्यावश्यक भएकाले यसको सहजीकरणका लागि सबैसँग हार्दिक अनुरोध गर्दछौँ ।’ 

 किन बन्द भए खाद्य उद्योग ?

सरकराले अत्यावश्यकबाहेकका उद्योग–व्यवसाय मात्रै बन्द गर्न निर्देशन दिएको हो । अत्यावश्यकभित्रै पर्ने भए पनि खाद्यान्न उद्योग भने बन्द अवस्थामा छन् । श्रमिक उद्योगमा नजानु, ओसारपसारमा समस्या हुनु र बिक्री गर्ने पसल नखुल्नुले खाद्य उद्योग बन्द अवस्थामा पुगेको संघले जनाएको छ । उत्पादित वस्तु पनि ओसारपसारमा समस्या भइरहेको संघले जनाएको छ । उद्योगका सहउत्पादनहरू भुस, कनिका, चुन्नी, पिनालगायत वस्तुहरू एक ठाउँबाट अर्को ठाउँमा लैजान समस्या हुँदासमेत उद्योग बन्द रहेको संघले जनाएको छ । 

 उद्योग सञ्चालनका लागि संघको माग 

श्रमिक कर्मचारीको मनोबल उच्च बनाउन उनीहरूका परिवारलाई सुरक्षित महसुस गराई काममा जाने वातावरण बनाउन आवश्यक रहेको संघले उल्लेख गरेको छ । खाद्य वस्तु ढुवानी गर्ने मालबाहक र खाली सवारीसाधन ४ दिनदेखि विभिन्न ठाउँमा अड्किएका तथा चालकहरू सवारीसाधन छोडेर आ–आफ्ना घरमा गइसकेका छन् । उनीहरूलाई उचित व्यवस्थासहित उच्च मनोबल वृद्धि गरी खाद्य वस्तु निर्बाध रूपमा गन्तव्यमा पठाउनुपर्ने संघले जनाएको छ । 

उद्योग सञ्चालनका लागि दैनिक करिब १ देखि ५ लाख रुपैयाँसम्म नगद आवश्यक पर्ने र सहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जन गरिदिनसमेत संघले माग गरेको छ । उद्योगले उत्पादन गर्ने खाद्यन्नहरू बिक्री–वितरणका लागि देशका विभिन्न ठाउँका पसलहरू आंशिक रूपमा मात्र खोलिएको भन्दै संघले स्थानीय अधिकारीको रोहबरमा पसल खोल्न लगाउनुपर्ने उल्लेख गरेको छ ।

खाद्यान्न पसल ६ प्रतिशत मात्र खुला

खुद्रा व्यापार संघका अनुसार काठमाडौंका किराना पसलहरू ६ प्रतिशत मात्र खुला रहने गरेका छन् । संघका अध्यक्ष राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार आफ्नै घरमा रहेका किराना पसलसमेत खुल्न सकेका छैनन् । ‘किराना पसलहरू निश्चित समयका लागि सबैले खुला गर्नुपर्छ भन्ने निर्देशन सरकारबाट आए सजिलो हुने थियो, तर किराना पसल खोल्नु भनेर आग्रह मात्र गरिएको छ,’ उनले भने, ‘त्यसैले सबै किराना पसल खोल्न बाध्यकारी छैन ।’

तरकारी आपूर्ति आधा घट्यो

काठमाडौं उपत्यकामा तरकारी आपूर्ति आधा घटेको छ । सामान्य अवस्थामा दैनिक ८ सय टन तरकारी भित्रिने कालिमाटी तरकारी तथा फलफूल बजारमा पछिल्लो दुई दिनमा करिब ४ सय मेट्रिकटनका दरले तरकारी आउन थालेको छ । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार ढुवानीमा भएको समस्या र खपत नै घटेका कारण आपूर्तिमा असर परेको हो । ‘बिहीबार २ सय ५० टन र शुक्रबार ३ सय ५० टनभन्दा केही बढी तरकारी आयात भएको छ,’ घिमिरेले भने, ‘शनिबार राति करिब ४ सय टन तरकारी भित्रिने अनुमान छ ।’

भारतमा सामान्य अवस्थामा ४ सय टनसम्म तरकारी आयात हुने गरेकामा अहिले दैनिक १ सय टन मात्र आयात भइरहेको छ । काठमाडौं उपत्यकाका आसपासका जिल्लामा नयाँ तरकारी निस्किन थालेकाले व्यवसायीले कालिमाटीमा ल्याउन थालेका छन् । ‘अहिलेको विषम परिस्थितिमा तरकारी बिक्री नगरे एकातिर बारीमै किसानको तरकारी कुहिने र अर्कातिर उपभोक्ताले नपाउने स्थिति आउँछ भनेर मात्र व्यवसायीहरू खटिएका हुन्,’ उनले भने, ‘कोरोनाको संक्रमणबाट जोगिने सुरक्षित उपाय अपनाएर काम गर्न निकै चुनौतीपूर्ण छ ।’

कालिमाटी बजारमा तरकारी किन्ने उपभोक्ताको भिड बढ्न थालेपछि व्यवसायी चिन्तित छन् । कालिमाटी बजार शनिबार बिहान २ बजे खुलेर ६ बजे बन्द भएको थियो । ‘यो अवधिमा निरन्तर १ हजारभन्दा बढी व्यवसायी र उपभोक्ता जम्मा भइरहे,’ घिमिरेले भने, ‘व्यवसायी मात्र करिब ४ सय छन् । बाँकी उपभोक्ता आएका हुन् । उपभोक्ता ठूलो संख्यामा आउन थालेपछि अत्तालिएर व्यवसायीहरूले बिहान ६ बजे नै बजार बन्द गरे ।’आपूर्तिसमेत घटेपछि मूल्य पनि अकासिएको छ । कालिमाटी बजारमा ९५ रुपैयाँमा कारोबार भएको गोलभेँडा उपभोक्ताले १ सय ३० रुपैयाँ हालेर किन्नुपरिरहेको छ ।

लकडाउन लम्बिए खाद्यान्न आपूर्तिमा समस्या पर्छ, त्यसैले उद्योग खोल्नुपर्छ : सुबोधकुमार गुप्ता
अध्यक्ष, नेपाल चामल, तेल, दाल उद्योग संघ

खाद्य उद्योगहरू अत्यावश्यक उद्योगअन्तर्गत पर्छन्, तैपनि किन बन्द छन् ? 
देशभरका साना–ठूला सबै गरी झन्डै २५ सय उद्योग छन्, तीमध्ये अधिकांश बन्द छन् । कर्मचारी र श्रमिक मजदुरहरू उद्योगसम्म पुग्न सकेका छैनन् । उद्योग जान हिँडेका कर्मचारी र श्रमिक सडकमै अड्किएका छन्, कतिपयले कुटाइ पनि खाएका छन् । खाद्यान्न बोकेका ट्रक बजारसम्म पुग्न सकेका छैनन्, ढुवानीका लागि खाली ट्रक उद्योगसम्म आउन सकेका छैनन् । त्यस्तै, कच्चा पदार्थ ओसार्न, तयारी वस्तु बजारमा पठाउन र सहउत्पादन अन्य उद्योगमा पठाउन समस्या भइरहेको छ । यसले गर्दा उद्योग बन्द भएका हुन् ।
 
उद्योग बन्द हुँदा आपूर्तिमा समस्या भएको होला नि ?
उद्योग बन्द भएका कारण अहिल्यै आपूर्तिमा समस्या हुँदैन । उपभोक्ताले टन्न स्टक राखेका छन् । थोक तथा खुद्रा विक्रेतासँग पनि मौज्दात छ । अझै २–३ महिना पुग्ने खाद्यान्न मौज्दात छ । तर, अहिले उद्योग बन्द हुँदा उत्पादन र आपूर्तिको चक्र बिग्रिन्छ र पछि समस्या पर्छ । अर्कोतर्फ खाद्यान्न उद्योग बन्द हुँदा अन्य उद्योगलाई पनि प्रभाव पर्छ । धेरै उद्योगहरू एक–आपसमा ‘इन्टर कनेक्टेड’ छन् । 

उद्योग चलाउने वातावरण कसरी बनाउने ? सरकारले के–के गरिदिनुपर्ने हो ?
सबैभन्दा पहिला कर्मचारी र श्रमिकलाई उद्योगसम्म पुग्ने वातावरण बनाइदिनुपर्छ । श्रमिकका परिवारलाई पनि आश्वस्त पार्नुपर्छ । त्यसपछि ढुवानीलाई सहजीकरण गर्नुपर्छ । चालक तथा सहचालकलाई ढुवानीका लागि आत्मबल बढाइदिनुपर्छ । ठाउँ–ठाउँमा सवारीसाधन तथा चालकहरूलाई ‘डिस्इन्फेक्ट’ गर्ने व्यवस्था गर्नुपर्छ । अर्को कुरा, खाद्यान्न पसलहरू पनि खुला गरिनुपर्छ । आवश्यक सावधानी अपनाउँदै पसल खोल्नुपर्छ । हाम्रो सहउत्पादनहरूको सहज आवत–जावतको वातावरण बनाइदिनुपर्छ ।