मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीकाे ट्विटरबाट
२०७६ चैत १६ आइतबार ०८:०९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

नेपाल ल्याउने सामान ल्हासामा किन रोकियो ? 

ग्वान्जाओबाट ल्याइयो १५ टन स्वास्थ्य सामग्री 

Read Time : > 1 मिनेट
२०७६ चैत १६ आइतबार ०८:०९:००

चीनबाट नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्री उतै रोकिएका छन् । चीनको बेइजिङ साभन्त बायोटेक्नोलोजीले नेपाललाई दिएका दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) शनिबार साँझसम्म तातोपानी नाका ल्याउने तयारी थियो । चीन सरकारले सूचीकृत गरेका १९ कम्पनीका स्वास्थ्य सामग्रीलाई मात्रै निर्यात गर्ने अनुमति रहेको र स्पेनमा पठाइएका सामग्रीको चर्को आलोचना भएपछि नेपाल ल्याउन लागिएका सामग्री शनिबार रोकिएका हुन् ।

चीनको केन्द्र सरकारले अनुमति नदिएको भन्दै ल्हासा सरकारका अधिकारीले नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीलाई सामान नेपाल ल्याउन नसकिने जानकारी दिएका छन् । चारवटा कार्टुनमा प्याक गरिएका किट्समध्ये एउटा कार्टुन मात्रै शुक्रबार साँझ ल्हासा ल्याइएको थियो । तीन कार्टुन किट्स सिचुआनको छेन्दुमा थिए ।  

नेपाली महावाणिज्यदूत कार्कीले दुई हजार थान किट्स चीनले निर्यात गर्न नसकिने जानकारी शनिबार मात्रै दिएको र सामान पठाउन नसकिएको बताए । ‘ल्हासामा एउटा कार्टुन आइसकेको थियो, छेन्दुबाट थप सामान शनिबार बिहान ल्हासा आउने र सबै सामान तातोपानी पठाउने तयारी थियो । हामीले गाडीको पनि बन्दोबस्त गरिसकेका थियौँ । तर, ती सामान अहिले चीनबाहिर पठाउन रोक लगाइएको भन्ने जानकारी आएको छ । अब ती सामान आउँदैनन्,’ उनले भने ।

बुधबार चिनियाँ कम्पनीले कोरोना भाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेस्टिङ किट्स बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका थिए । यो कम्पनीले स्लोभाकियामा सामान बेच्दै आएको छ । यो बेइजिङको महानगरपालिकाको कमर्सियल ब्युरोद्वारा अनुमतिप्राप्त कम्पनी हो । 

‘चीनमा सक्कलीदेखि नक्कलीसम्म सबै प्रकारका सामान पाइन्छन् । अहिले दु्रत गतिमा सामान उत्पादन गर्नुपर्ने अवस्था भएकाले क्वालिटी प्रमाणित हुन्छ भन्ने अवस्था छैन । स्पेनमा नक्कली सामान गयो भन्ने चर्को आलोचना भएपछि सरकार संवेदनशील देखिएको छ । त्यही कारण हाम्रो सामान रोकिएको हो भन्ने सूचना पाएका छौँ,’ कार्कीले भने । 

ग्वान्जाओबाट नेपाल एयरलाइन्सको जहाजले १२ प्रकारका अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री ल्याएको छ । कोभिड–१९ जाँच्ने किट्स मात्रै एक लाख थान आइपुगेको छ भने गाउन, चस्मा, थर्मोमिटरलगायत गरी जम्मा १५ टन सामान छन् । साना ठूला गरी ११ सय २९ वटा बाकसमा सामान ल्याइएको छ । यी सामान ल्याएसँगै चिकित्सकहरूलाई विरामी जाँच्न सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । 

यी हुन् १२ प्रकारका सामग्री

 - कोभिड १९ जाँच्ने -यापिड डायग्नोस्टिक किट : एक लाख थान
 - गगल्स प्रोटेक्टिभ्स : १० हजार थान
 - भीटीएम (प्याकिङ सामग्रीसहित) : पाँच हजार थान
 -  विभिन्न प्रकारका पीसीआर रिएजेन्ट : १० हजार थान
 - पोर्टेबल पीसीआर रिएजेन्ट किट्स (कोम्बो) : २० हजार  थान
 -  पोर्टेबल पीसीआर मेसिन : पाँच थान
 - थर्मोमिटर, इन्फ्-याड, नो कन्ट्याक्ट ह्यान्डल्ड : १५०० थान
 -  सुज कर डिस्पोजेबल : २० हजार थान
 - रेस्पिरेटर, मास्क, एफएफपीटु एन ९५ इत्यादि : ३० हजार थान
 -  ग्लोब एक्जामिनेसन (विभिन्न आकारका) : एक लाख थान
 - गाउन, एएएमआई लेभल थ्री : २० हजार थान 
 - क्लोरिन एनएडीसीसी एक केजी पट : चार हजार थान