१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
भोजराज भण्डारी काठमाडाैं
२०७६ चैत १५ शनिबार १७:५०:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोना कहर : मेलम्चीको पानी असार मसान्तमा पनि नझर्ने

Read Time : > 1 मिनेट
२०७६ चैत १५ शनिबार १७:५०:००

खानेपानीमन्त्री बिना मगरले गत फागुनमा आगामी असार मसान्तभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने भन्दै श्वेतपत्र जारी गरेकी थिइन् । उनले मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सकिएको पनि जानकारी दिएकी थिइन् ।

तर, अहिले विश्वभर महामारीको रूप लिएको कोरोना संक्रमण (कोभिड–१९)का कारण मेलम्चीलगायत सबै पूर्वाधार निर्माणका काम ठप्प भएको छ । जसका कारण मेलम्चीको पानी असार मसान्तभित्र काठमाडौं नझर्ने निश्चित भएको छ ।

पटक–पटक निर्माण कम्पनीले समयमा काम नगर्ने, कहिले विभिन्न बहानामा काम रोक्ने हुँदै गुज्रिएको मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम–अन्तिम चरणमा आइपुगेको थियो । र, यसपटक भने असार मसान्तभित्र धारामा पानी झर्ने काठमाडौंवासीलाई ठूलो आशा थियो । तर, यसपटक काठमाडौंका नागरिकका लागि मेलम्ची सपनामा निर्माण कम्पनी होइन कोरोना भाइरस बाधक बनेको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यतिवेला नेपाल लकडाउनमा गुज्रिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण मेलम्ची आयोजनालाई आवश्यक पर्ने सामान केही साताअघिबाटै अभाव हुन थालेको थियो । कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै जाँदा नेपाल लकडाउन गरिएपछि मेलम्ची खानेपानी आयोजनाको काम अहिले ठप्प छ ।

मेलम्चीको पानी असार मसान्तसम्ममा सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झार्ने आयोजनाको लक्ष्य थियो । सरकारले पनि चालू आर्थिक वर्षको अन्त्यसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत नै गरिसकेको थियो । र, सोही घोषणाअनुरूप असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको थियो ।

आयोजनाको कामलाई मुख्य दुई लक्ष्य राखेर अघि बढाइएको थियो । पहिलो लक्ष्य ठेक्का सम्झौताअघि नै पानी काठमाडौं ल्याउने । त्यसका लागि कफर ड्याम बनाएर पानी डाइभर्ट गर्ने योजना रहेको थियो । त्यस्तै, दोस्रो लक्ष्य भनेको ठेक्का सम्झौताअनुसार समयमै काम सक्ने आयोजनाको योजना थियो । तर, अब असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

आयोजनाको काम अहिले पूर्ण रूपमा रोकिएकाले समयमै सकिन्छ भन्ने स्थिति नरहेको खत्रीले नयाँ पत्रिकालाई बताए । ‘भएका अधिकांश कामदार फर्किएका छन्,’ उनले भने, ‘एक सय ५० जना कामदार मात्र काम गर्ने स्थानमा छन् । उनीहरू पनि घर टाढा भएकाले जान नपाएका हुन् । त्यसैले आयोजनाको काम निकै समय लम्बने देखिन्छ ।’ मेलम्चीसँगै अरू पनि ठूला आयोजना सबैका काम अहिले रोकिएका छन् ।