१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत १५ शनिबार ११:०९:००
Read Time : > 2 मिनेट
सेयर बजार

मंगलबारदेखि सेयर कारोबार गर्ने पक्षमा बोर्ड तर, लगानीकर्ता कारोबार नगराउने पक्षमा

Read Time : > 2 मिनेट
२०७६ चैत १५ शनिबार ११:०९:००

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतमा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाको संक्रमणका वेला सतर्कता अपनाई धितोपत्रसहितका विभिन्न सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सतर्कता अपनाई बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालनसम्बन्धी न्यूनतम सेवाहरूलाई सम्बन्धित निकायहरूले निरन्तरता दिने । साथै, कुन–कुन सेवा कुन क्षेत्रबाट दिने हो, सोको सञ्चारमाध्यमबाट सेवाग्राहीलाई जानकारी गराउने ।’ 

अर्थमन्त्रीको सो निर्देशनसँगै नेपाल धितोपत्र बोर्डले आउँदो मंगलबारदेखि सेयर कारोबार खुलाउने तयारी थालेको छ । आउँदो सोमबार नेप्से, ब्रोकर र सिडिएससँग छलफल गरेपछि कारोबार गर्ने–नगर्ने टुंगो लाग्ने बोर्डका अध्यक्ष भीष्म ढुंगानाले बताए । उक्त दिनसम्म मुलुकको अवस्था कस्तो हुन्छ ? सोहीअनुसार निर्णय हुने उनको भनाइ छ । तर, मंगलबारदेखि बेसिक सेवाहरू र सिडिएसचाहिँ खोल्नुपर्ने उनले बताए । ‘अहिलेको अवस्थामा कारोबार गर्न आउने लगानीकर्ता थोरै हुने भएकाले सेयर बजार कसरी सञ्चालन गर्नेमा अन्योल छ,’ उनले भने । सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्न निर्देशन दिएसँगै गत सोमबारदेखि धितोपत्र बोर्डले ५ कारोबार दिनका लागि नेप्से बन्द गरेको थियो । 

तर, अन्तर्राष्ट्रिय बजारमा लकडाउन भए पनि सेयर बजार बन्द भएको छैन । नेपालको सेयर बजार पूर्ण अनलाइन र पूर्ण बैंकिङ नभएका कारण बन्द गर्नुपरेको लगानीकर्ता बताउँछन् । सोही कारण अहिल्यै सेयर बजार खुलाउने विषयमा लगानीकर्ता सहमत छैनन् । अन्तर्राष्ट्रिय बजारजस्तो नेपाली सेयर बजार परिपक्व नभएका कारण हाल सेयर कारोबार नगराउन लगानीकर्ताको माग छ । 

सेयर बजार खुलाउन हुँदैन 

ताराप्रसाद फुल्लेल 
उपाध्यक्ष, सेयर लगानीकर्ता संघ

सरकारले जनतालाई कोरोनाबाट बचाउन सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिरहेका वेला सेयर बजार खुलाउन हुँदैन । सेयर बजार बन्द हुँदा यति धेरै चिन्ता लाग्नेहरूलाई हिजो किन प्रविधिमैत्री बनाउन जाँगर नचलेको ? विदेशी सेयर बजार र नेपाली सेयर बजार कुनै पनि हिसाबले तुलना गर्न मिल्दैन । लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर एसोसिएसनलगायतले कर्मचारी र लगानीकर्ताको स्वास्थ्यको ख्याल गर्दै कारोबार गराउन नसकिने जानकारी गराएको छ । 

साढे एक प्रतिशतले मात्रै अनलाइन लिएको र १ प्रतिशतभन्दा कमले मात्रै नियमित कारोबार गरिरहेका वेलामा सेयर बजार खुलाइयो भने चलखेल हुन सक्ने भएकाले तत्काल खुलाउनुहुँदैन । हामीले धेरैपटक डिम्याट खाता र बैंक खाता इन्ट्रिगेसन गरेर रियल टाइम बेसमा कारोबार गरौँ भनेका थियौँ । यदि आज त्यो भएको भए कारोबार बन्द गनुपर्ने अवस्था आउने थिएन । यो विकराल स्थितिमा सुरु गराउन खोजिएको कारोबारले निम्त्याउन सक्ने लगानीकर्ताको स्वास्थ्यको भयावह स्थिति र बजारले समात्न सक्ने सम्भावित खतराको जवाफदेहिता कसको हुने ? यो महामारीका बीचमा सेयर बजार सुचारु गर्नु भनेको बामे सर्न लागेको पुँजी बजारबाट सर्वसाधारण लगानीकर्तालाई भगाउने खेलसिवाय अरू केही होइन । 

समानान्तर भाइरस छोड्नु बराबर

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजीबजार
लगानीकर्ता संघ 

कोभिड–१९ बाट दुनियाँ नै आक्रान्त भइरहेको अहिलेको परिप्रेक्ष्यमा नेपालको सेयर बजार खोल्नु भनेको आमलगानीकर्ता (मुठीभर छोडेर) का लागि कोभिड–१९ जस्तै अर्को समानान्तर भाइरस छोड्नुबराबर हो ।  दुनियाँका केही सम्पन्न सेयर मार्केट खुलेका होलान्, तर  नेपालको सेयर मार्केट त्यति नै परिपक्व भएको छैन ।  भारतमा डिम्याट खाता, बैंक खाता र ब्रोकरमा खोलिएको खाता एक–आपसमा इन्टिग्रेट छन् । हामीले यो इन्ट्रिग्रेट गरौँ भनेर अनुरोध गरेको वर्षौं भयो । यस कुरामा नियामकहरू कानमा तेल हालेर बसेका छन् । 

बल्लतल्ल तंग्रिँदै गएको सेयर बजारमा यसैगरी बेमौसमी बाजा बजाएर खेल्न खोज्ने प्रवृत्ति हाम्रा लागि नौलो होइन । विगतदेखि नै यो चलिआएको चलन हो । तर, अबका दिनमा त्यस्तो हुनेछैन । किनकि तालुकदार नियामक निकायले माथिल्लो निकायमा थाहा होला कि जसरी बन्दकोठामा आमलगानीकर्ताको अहित हुने गरी गर्ने निर्णयको हामी खुलेर विरोध  गर्छौं । त्यसको सुइँको उपल्लो निकायसम्म जगजाहेर गराउँछौँ । अब भ्रमको खेती गर्न बन्द गरे हुन्छ ।

विगतदेखि नै सेयर बजारमा केही टाठाबाठा समुदायको हालिमुहाली रहँदै आएको कुरा हामीसामु छिपेको छैन । केही समयअघि १६ सयमाथि पु¥याएर सट सेल गर्नेको समेत मुटुले ढ्यांग्रो ठोक्ने दिन आउन धेरै समय कुर्नुपर्दैन । 

अहिले सेयर बजार खुलाउनुहुँदैन

संरक्षणा चौधरी
अध्यक्ष, नेपाल पुँजी बजार संघ 

कोरोनाको डरले ज्यान जोगाउनेहरू कुनै हालतमा घरबाहिर ननिस्किने भएकाले अहिले सेयर बजार खुलाउनुहुँदैन । अनलाइन युजर थोरैले लिएको अवस्थामा अझ कतिलाई त चलाउन नै आउँदैन । सेयर किनेपछि पैसा तिर्न बैंक वा ब्रोकरकोमा जानुपर्छ । सबैसँग इन्टरनेट बैंकिङ नहुन पनि सक्छ । सेयर बिक्री गर्‍यो भने पैसा र चेक लिन त बैंक वा ब्रोकर जानैपर्‍यो, अनि कतिजना जालान् । बैंक इन्ट्रिगेसन पूर्ण रूपमा छैन । ज्यान रहे सबै रहन्छ । कारोबार नै नभई कसैको सेयर घट्ने वा बढ्ने हुँदैन ।