मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७६ चैत १५ शनिबार ०७:०९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

स्वास्थ्य मन्त्रालयमा राजनीति : भाइरस विशेषज्ञसहितका डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयाे

समायोजन नमिलेका तीन सय स्वास्थ्यकर्मी सम्पर्कविहीन

Read Time : > 4 मिनेट
२०७६ चैत १५ शनिबार ०७:०९:००

भएका स्वास्थ्यकर्मीलाई काम नदिएर नयाँ दुई सय ५६ कर्मचारी भर्ना गर्न स्वास्थ्य मन्त्रालयको विज्ञापन, तर न्यून आवेदन

स्वास्थ्य मन्त्रालयमा हाजिर गरेर मात्र फर्किन्छन् यी कर्मचारी जसको बस्ने कुर्सी छैन, गर्ने काम छैन

 

कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन । 

समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् । 

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौँ तहका महमद दाउद र राधिका थपलिया तथा दशौँ तहका डा. पवनकुमार शाह र डा. श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् । त्यस्तै, नवौँ तहका डा. प्रज्ज्वल श्रेष्ठ, डा. नीलम ठाकुर, डा. रवीन्द्र रेग्मी, डा. सुमित अग्रवाल र डा. सन्ध्या जोशीले मन्त्रालयमा हाजिर गर्ने र वीर अस्पतालमा काम गरिरहेका छन् । 

जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौँ तहका जनरल फिजिसियन सातजना मागेको छ । त्यस्तै, नवौँ तहका एनेस्थेसियोलोजिस्ट सातजना, आठौँ तहका मेडिकल अधिकृत २० जना, पाँचौँ तहका स्टाफ नर्स सयजना गरी एक सय ३४ स्वास्थ्यकर्मी मागेको छ । आवेदनको म्याद सात दिन राखेकोमा पाँच दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ । 

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको नयाँ पत्रिकालाई बताए । उनीहरू प्रदेश र स्थानीय तहमातहत रहेको उनको भनाइ छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका तीन सयभन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कबाहिर रहेको बताए । करिब दुई सयलाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका छन् । जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ । नवौँ तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौँ तह चिकित्सक (एमडी क्रिटिकल केयर/एमडी इन्टरनल मेडिसिन) चारजना, आठौँ तह मेडिकल अधिकृत १६ जना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स ५० जना मागेको छ । विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । ‘अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो वेला दर्खास्त दिनुपर्ने थियो, तर दिएनन् ।’

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि तीन महिनाका लागि भन्दै करारमा ४४ स्वास्थ्यकर्मी मागेकोमा अपेक्षाअनुसार आवेदन परेको छैन । पाँच दिन समय दिएर ९ चैतमा विज्ञापन खोलिएको टेकुमा सोचेअनुसार आवेदन नपरेपछि चिन्तित बनाएको स्रोतले बतायो । 

टेकुले नवौँ तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, आठौँ तह मेडिकल अधिकृत आठजना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स २६ जना मागेको थियो । 

अपेक्षाअनुसार आवेदन नपरेपछि अब स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सक र नर्सहरू खटाउने विकल्प सोचेको छ । विभागका महानिर्देशक श्रेष्ठले देशभर चिकित्सक र नर्सको अवस्था हेरेर काठमाडौं तानिने पनि बताए । तर, संक्रमण फैलिँदा काठमाडौंबाहिर झन् भयावह हुन सक्ने भएकाले सरकारको यो नीति प्रभावकारी देखिँदैन । 

सेवासुविधा प्रशासनलाई, काम स्वास्थ्यकर्मीलाई

स्वास्थ्य मन्त्रालयमा एक सय पाँच कर्मचारीको दरबन्दी छ । त्यसमा ५० जना स्वास्थ्य सेवाका छन् भने बाँकी प्रशासन समूहका छन् । तर, कोरोना महामारीको समयमा मन्त्रालयका सीमित मात्रै कर्मचारी छन् । 

अधिकांश शाखा बन्द रहेका छन् । मन्त्रालयमा सेवासुविधा प्रशासन समूहका कर्मचारीले लिएका छन् । उपसचिवदेखि माथिका कर्मचारीले सबै सेवा लिएका छन् । तर, स्वास्थ्य सेवा समूहका सहसचिवहरूले भने पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । यो महामारीको समयमा सुविधाविहीन कर्मचारी नै काममा खटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ जनस्वास्थ्य अधिकारीले भने, ‘सेवासुविधा लिएका प्रशासनका कर्मचारी घरमा बसेका छन्, तर हामी हिँडेर काममा आउनुपरेको छ ।’ स्वास्थ्यमा ६ जना प्रशासनका उपसचिव रहेकोमा सबै अनुपस्थित छन् ।

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव यादव कोइराला, प्रशासन प्रमुख सहसचिव रघुराम विष्ट, लेखा प्रमुख मुक्तिराम न्यौपाने, कानुन उपसचिव पुष्करराज नेपाल, शाखा अधिकृत प्रेम खुवा, नासु प्रेम विक र सचिवका पिए राजमणि निरौला मात्रै काममा छन् । 

त्यस्तै, स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटा, सागर दाहाल, जनस्वास्थ्य अधिकृत यशोदा अर्याल, डा. गुणनिधि शर्मा, रविकान्त मिश्र र पानबहानुर श्रेत्री काममा छन् । 


टेकु प्रयोगशालाबाट यही वेला मन्त्रालय तानिएका भाइरसविज्ञ डा. श्रवणकुमार मिश्र भन्छन्–

मलाई एक सातादेखि मन्त्रालय तानिएको छ, किन र केका लागि तानियो थाहा छैन, कतैबाट जवाफ पाएको पनि छैन, देश संकटमा परेको वेला म जस्तोसुकै काम गर्न पनि तयार छु तर काम पाएको छैन

राजनीतिको मुख्य केन्द्र स्वास्थ्य मन्त्रालय, डेढ वर्षमा ६ सचिव

यादव कोइराला डेढ वर्षमा स्वास्थ्य मन्त्रालय पुग्ने छैटौँ सचिव बनेका छन् । यसअघि पाँच सचिवको सरुवा भएको छ । मन्त्रिपरिषद्को १८ फागुनको बैठकले स्वास्थ्यसचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा लगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई स्वास्थ्यमा ल्याउने निर्णय गरेको हो । 

२८ असोज ०७५ मा सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णयसँगै स्वास्थ्य मन्त्रालयको प्रशासनमा अस्थिरता सुरु भएको हो । सरकारले मन्त्रालयमा प्रशासनतर्फका केदारबहादुर अधिकारीलाई मंसिर १७ गते स्वास्थ्यसचिवका रूपमा सरुवा गरेको थियो । माघ ३ मा अधिकारीलाई पनि स्वास्थ्यबाट सरुवा गरेर सरकारले अर्का सचिव चन्द्र घिमिरेलाई स्वास्थ्यमा पठाएको थियो । सरकारले घिमिरेलाई पनि वैशाख २ मा स्वास्थ्यबाट सरुवा ग¥यो । उनको ठाउँमा कर्णाली प्रदेशको प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई पठाइएको थियो । ९ भदौमा स्वास्थ्यसचिवका रूपमा रहेका रामप्रसाद थपलियालाई हटाएर शिक्षासचिव रहेका खगराज बराललाई स्वास्थ्यसचिवमा सरुवा गरिएको थियो । उनको पनि सरुवा भएको छ ।

राजधानीबाहिर पनि देखियो कोरोना संक्रमण : दुबईबाट फर्किएका धनगढीका संक्रमित युवाको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

उपत्यकाबाहिर पनि कोरोना संक्रमित फेला परेका छन् । धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या चार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमण देखिएका धनगढीका पुरुष दुबईबाट फर्किएका हुन् । ६ चैतमा दुबईबाट दिल्ली आएका उनी ७ चैतमा काठमाडौँ आइपुगेका थिए । त्यस रात उनी काठमाडौँस्थित मामाको घरमा बसे । धनगढीको टिकट नपाएपछि उनी ८ चैतमा बुद्ध एयरको जहाजबाट नेपालगन्ज र त्यहाँबाट बसमा धनगढी पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी ११ चैतमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । 

कोरोना संक्रमण देखिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार गराइरहेका अन्य दुई संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । पहिलोपटक संक्रमण देखिएका युवा भने उपचारपछि घर फर्किसकेका छन् ।

१२ माघयता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय दुईजना शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिएको छ । परीक्षण दायरा फराकिलो बनाउन धरान र नेपालगन्जमा पनि तत्काल सेवा सुरु गर्ने सरकारको योजना छ । प्रवक्ता देवकोटाका अनुसार टेकु अस्पतालमा चार, पाटनमा ६ र कान्ति अस्पतालमा तीन गरी हाल उपत्यकामा १३ जना आशंका गरिएका आइसोलेसनमा छन् । उपत्यकाबाहिर पनि केही रहेको, तर रिपोर्ट आइनसकेको उनले बताए । 

सरकारले टेकुसँगै पाटन र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि कोरोना शंकास्पदको जाँच र संक्रमण देखिए उपचार गर्ने व्यवस्था मिलाएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी बिरामी परे अस्पतालनजिकैको होटेल वा साना अस्पताल खाली गराएर राख्ने व्यवस्था मिलाउने प्रवक्ता देवकोटाले बताए । सरकारले हरेक अस्पताललाई पाँच सेट पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) दिएको छ ।

६बुँदे परीक्षण मापदण्ड तयार

सरकारले कोरोना शंकास्पदको परीक्षणका लागि ६बुँदे मापदण्ड बनाएको छ । जथाभावी पिपिई माग भएको भन्दै स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएको हो । नमुना लिने व्यक्तिले एन ९५ मास्क, चस्मा, पन्जा, गाउन र क्याप लगाउनुपर्नेछ । ज्वरो आएका बिरामी जाँच्दा सर्जिकल मास्क, चस्मा, पन्जा, पानी छेक्ने गाउन र क्याप लगाउनुपर्नेछ । स्क्रिनिङ टेस्ट गर्दा एक मिटरभन्दा नजिक भए मात्रै मास्क लगाउने नत्र आवश्यक नहुने मापदण्ड बनाइएको छ । एम्बुलेन्सचालकले सर्जिकल मास्क र पन्जा लगाउनुपर्नेछ । प्रयोगशालामा परीक्षण कार्यमा संलग्न हुनेहरूले सर्जिकल मास्क, चस्मा, पन्जा, गाउन र क्याप प्रयोग गर्नुपर्नेछ । कोरोना प्रभावित अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीले कुनै पनि प्रकारको पिपिई लगाउनुपर्ने छैन ।