मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
जनार्दन बराल काठमाडाैं
२०७६ चैत १५ शनिबार ०६:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वुहानदेखि न्युयोर्कसम्म पत्रपत्रिकाको प्रकाशन निरन्तर

Read Time : > 1 मिनेट
जनार्दन बराल, काठमाडाैं
२०७६ चैत १५ शनिबार ०६:३८:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्–यो संकटका वेला फेक न्युजबाट जनतालाई बचाउन, निरन्तर विश्वसनीय समाचार सम्पे्रषण गर्न म प्रिन्ट मिडियालाई हार्दिक आग्रह गर्छु 

प्रिन्ट इज प्रुफ : द हिन्दु, द हिन्दुस्तान टाइम्स, हिन्दुस्तान, टाइम्स अफ इन्डिया, दैनिक भास्कर, दैनिक जागरण र द इकोनोमिक टाइम्सलगायतका १९ वटा भारतीय पत्रिकाले संयुक्त रूपमा जारी गरेको विज्ञापन

‘प्रिन्ट मिडियाको अद्भूत विश्वसनीयता छ, यसले सरकार र जनताबीच सम्बन्ध–सेतुका रूपमा मात्रै नभई राष्ट्रिय र क्षेत्रीय तहमा सरकार र सरोकारवालालाई सुझाब र प्रतिक्रिया दिएर पनि कोभिड– १९ विरुद्धको अभियानमा सघाउन सक्छ । यो महामारी र संकटका वेला फेक न्युजबाट जनतालाई बचाउन, निरन्तर विश्वसनीय समाचार सम्प्रेषण गर्न म प्रिन्ट मिडियालाई हार्दिक आग्रह गर्छु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार भारतभरका छापा माध्यमलाई भिडियो कन्फरेन्सबाट सम्बोधन गर्दै यसो भनेका थिए । 

मंगलबार नै भारतका सञ्चारमन्त्री प्रकाश जावडेकरले समेत ‘अफवाहको विश्वास नगर्नुस्, समाचारपत्र पढपछि वा अन्य कुनै पनि काम गरेपछि साबुनपानीले हात धुनुहोला । समाचारपत्रबाट नै हामीलाई सही सूचना मिल्छ’ भन्ने सन्देश ट्विटरमार्फत प्रवाह गरेका छन् । कोरोनाको सन्त्राससँगै निराशा फैलिरहेको अवस्थामा त्यसलाई रोक्न भारतमा र संसारभर प्रिन्ट मिडियाको झन् ठूलो आवश्यकता महसुुुस भएको छ । 

बिक्री घट्नु, विज्ञापन कम हुनु र वितरणमा ठूलो समस्या आउनुका बाबजुद पनि भारत, चीन, जापान, सिंगो युरोप र अमेरिकाका राष्ट्रिय दैनिकका प्रकाशन बन्द भएका छैनन् । कतिसम्म भने कम्युनिस्ट शासन भएको चीनको वुहान लकडाउन हुँदासमेत पत्रपत्रिकाको वितरण बन्द भएन । ‘स्वास्थ्य महामारीको वेला अस्पताल, सुरक्षाकर्मी र मिडियाको झन् ठूलो महत्व हुन्छ । सञ्चारकर्मी सतर्क हुने, तर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले जोखिम मोले पनि हुन्छ भन्ने हुँदैन, संकटको वेला सबैले आ–आफ्नो दायित्व सतर्कतापूर्वक पूरा गर्नुपर्छ,’ चिनियाँ अधिकारीहरूको सार्वजनिक प्रतिक्रिया नै यस्तो थियो । 

कोरोना भाइरस हङकङमा पनि फैलिएको छ । तर, त्यहाँबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टले पनि प्रकाशन बन्द गर्नुपर्ने कुनै कारण नभएको जनाएको छ । पोस्टका प्रमुख प्रबन्ध–सम्पादक एलिस वङले भने, ‘फेक न्युजबाट जनतालाई बचाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । त्यसैले पनि जिम्मेवार सञ्चारमाध्यमले आफ्नो दायित्व झन् गम्भीरताका साथ पूरा गर्नुपर्छ । अहिले पत्रिकामा विज्ञापन घटेका कारण खाली ठाउँलाई कोरोना भाइरससम्बन्धी जनचेतनामूलक सामग्री राम्रोसँग प्रस्तुत गर्न सकिन्छ ।’ 

युरोपमा सर्वाधिक क्षति भएको इटालीदेखि कोरोना तुलनात्मक रूपमा सबैभन्दा नियन्त्रणमा राख्न सफल बेल्जियमका सरकारले पत्रपत्रिकाको प्रशासनलाई प्रोत्साहन गरिरहेका छन् । इटालीका ६ करोड मानिस लकडाउनमा छन् । इटालीको सरकारले पत्रपत्रिकालाई आधारभूत आवश्यकतामा राखेको छ । पत्रकारहरूलाई लकडाउनका वेलामा पनि समाचार संकलन गर्न मात्र होइन, मुद्रण र वितरणलाई पनि प्रोत्साहन गरिएको छ । अन्य पसल बन्द रहे पनि न्युजपेपर स्टलहरू भने खुलै छन् । इटलीमा महामारीको सुरुवात भएको लोेम्बार्डी र भेनेटो क्षेत्रका तीनवटा दैनिक पत्रिका पनि निरन्तर प्रकाशन भइरहेको प्रेस ग्याजेटले जनाएको छ । 

अमेरिकाका द न्युयोर्क टाइम्स, वासिंटन पोस्टलगायतले पनि प्रकाशन बन्द गरेका छैनन्, बरु पत्रिका प्रकाशन र वितरणमा पूर्वसतर्कता अपनाउँदै जनतालाई सुसूचित गर्ने काम गरिरहेका छन् । बेलायतमा कोरोना भाइरसका कारण राष्ट्रिय पत्रपत्रिकाको बिक्री ३० प्रतिशत घटेको द गार्जियनले उल्लेख गरेको छ । तर, त्यहाँ कुनै पनि राष्ट्रिय पत्रिकाले प्रकाशन बन्द गरेका छैनन् । अस्ट्रेलियामा पनि कुनै राष्ट्रिय दैनिकको प्रकाशन बन्द छैन ।