१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमलपोखरी–कालोपुल सडकमा थुप्रिएको फोहोर ।
२०७६ चैत १४ शुक्रबार २०:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोना भित्रिने भन्दै सिसडोलवासीले फ्याँक्न नदिएपछि सडकमै थुप्रिन थाल्यो फोहोर

Read Time : > 1 मिनेट
२०७६ चैत १४ शुक्रबार २०:१२:००

डम्पिङसाइड वरपरका बासिन्दाले भाइरसयुक्त फोहोर ल्याएर गाउँमा विसर्जन गर्दा कोरोना भाइरसको संक्रमण फैलिने भन्दै अवरोध गरेपछि काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेका वेला फोहोर संकलन गर्न नआएपछि सर्वसाधारणले सडकमै फोहोर फ्याँक्न थालेका छन् । फोहोरले सडक दुर्गन्धित बनेका छन् । डम्पिङसाइड रहेको नुवाकोटको सिसडोल वरपरका बासिन्दाले फोहोर ढुवानी र विसर्जन गर्दा गाउँमा कोरोना फैलिने भन्दै फोहोर फ्याँक्न अवरोध गरेका हुन् । 

तीन दिनदेखि काठमाडौंको फोहोर उठेको छैन । सडकमै फोहोर थुप्रिएको छ । ‘एकातर्फ फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीमै कोरोनाको त्रास छ, अर्कोतर्फ प्रशोधन केन्द्र क्षेत्रका बासिन्दाले समेत पनि फोहोर फ्याँक्न अवरोध गरिरहेका छन्,’ महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘केही दिनदेखि फोहोर व्यवस्थापनको कार्य प्रभावित भएको छ ।’  

भाइरसयुक्त फोहोर विसर्जन गर्दा गाउँमा संक्रमण फैलिने भन्दै स्थानीयले फोहोर नल्याउन चेतावनी दिएकाे उनले बताए । स्थानीयले फोहोर फ्याँक्न दिँदा घरघरमै पुगेर स्थानीयको स्वास्थ्य परीक्षण गरिदिनुपर्ने सर्त राखेका छन् । उनीहरूको मागबमोजिम स्थानीय वडाध्यक्षमार्फत टोलमा आठवटा हात धुने ठाउँ, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको विभागका प्रमुख श्रेष्ठले बताए । 

स्थानीयले बिहान ८ बजेभित्र फोहोर विसर्जन गरिसक्न, नभए फोहोर नल्याउन भनेपछि महानगरले शनिबारदेखि बिहान ८ बजेभन्दा अगावै फोहोर विसर्जन गर्ने तयारी गरेको छ । ‘राति तीन बजे नै फोहोरका गाडी पठाउने तयारी भएको छ, अरू थप एक दुई घन्टा काम गर्न दिए भने आइतबारबाट सहज हुने अपेक्षा छ,’ विभागका प्रमुख श्रेष्ठले भने । 

श्रेष्ठका अनुसार ल्यान्डफिल्ड साइटमा बत्तीको व्यवस्था छैन । सडकको अवस्था पनि राति लोड लिएर जान सक्ने छैन । प्राविधिक रूपमा निकै असहज भए पनि तत्काललाई फोहोर विसर्जनको कुनै विकल्प नभएकाले समस्या भएको उनले बताए । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यसअघि अपिल जारी गर्दै निषेधाज्ञा अवधिमा घरको फोहोर जथाभावी नफाल्न महानगरवासीलाई आग्रह गरेका थिए । तर, भाइरसको संक्रमण फैलिएका वेला घरभित्र उत्सर्जन भएको फोहोर सर्वसाधारणले धेरै दिनसम्म घरभित्र राख्न खतरा हुने भन्दै अटेरी गरेका छन् ।

महानगरका अधिकांश भित्री सडकका पेटीमा फोहोर थुप्रिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका १८ नगरपालिकाको फोहोर सिसडोल फोहोर प्रशोधन केन्द्रमा विसर्जन हुँदै आएकोे छ । उपत्यकामा निजी तथा सरकारीमा समेत गरी दुई हजार पाँच सयभन्दा बढी कर्मचारी फोहोर व्यवस्थापनमा खटिएका छन् । निजी कम्पनीले मात्रै दैनिक ८० देखि एक सय टिपर फोहोर सिसडोलमा पुऱ्याउँछन् । काठमाडौं महानगरपालिकाले पनि दैनिक तीन सय ५० मेट्रिक टन फोहोर आफैं सिसडोल पुऱ्याएर विसर्जन गर्ने गरेको छ ।