मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी
२०७५ माघ ८ मंगलबार ०९:२४:००
Read Time : > 1 मिनेट
विश्व

चीनको आर्थिक वृद्धि तीन दशकयताकै न्यून

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ ८ मंगलबार ०९:२४:००

सन् २०१८ मा चीनको आर्थिक वृद्धि तीन दशकयताकै सबैभन्दा न्यून रहेको सरकारले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । चिनियाँ प्रधानमन्त्री ली खछियाङले चिनियाँ अर्थतन्त्रलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आर्थिक वृद्धिमा ह्रास
सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरेकोमा समग्र तथ्यांक विश्लेषण गर्दा सो वृद्धिदर ६.६ प्रतिशत भएको राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)ले जनाएको छ । एनबिएसका अनुसार सन् २०१८ को पछिल्ला तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रूपमा कमी आएको छ । अर्थविद्हरूले अमेरिका–चीनबीचको व्यापार तनाव कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमा मन्दी आउन सक्ने अनुमान गरेका छन् ।

व्यापार युद्ध अन्त्य गर्ने पहल
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच पछिल्लो समय बढेको व्यपार तनाव अन्त्य गर्न दुई देशबीच सहमतिका प्रयास भएका छन् । व्यापारयुद्ध रोक्न केही साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सहमति भएको थियो । दुवै देशले तत्कालका लागि एक–अर्काविरुद्ध शुल्क वृद्धि नगर्ने घोषणा गरेका छन् । दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता सुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनियाँ उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन जाँदै छ ।

प्रदूषण नियन्त्रणमा उल्लेख्य सुधार
गरिबी निवारण र प्रदूषण नियन्त्रणजस्ता क्षेत्रमा भने चीनले पछिल्लो समयमा उल्लेख्य प्रगति गरेको छ । ‘वित्तीय जोखिम रोकथाम, गरिबी निवारण तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ,’ एनबिएसका आयुक्त निङ जिझेले भने । चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ ।

विवादरहित हुन सकेन तथ्यांक
चीनले सार्वजनिक गर्ने आर्थिक तथ्यांकको सत्यतालाई लिएर बारम्बार विवादित हुने गरेको छ । राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)ले यसपटक सार्वजनिक गरेको तथ्यांक पनि विवादरहित हुन सकेन । विज्ञहरूले चिनियाँ सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । तर, चीन र विदेशमा रहेका केही अर्थशास्त्रीले चिनियाँ सरकारी विवरण तोडमोड गरिएको आरोप लगाएका छन् ।

अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सो तथ्यांक अस्वीकार गरेको थियो ।