मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
उत्तमबाबु श्रेष्ठ
२०७६ चैत १४ शुक्रबार ०९:५३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

कोरोना महाव्याधीमा कुसमाचार

यस्तो घडीमा मानिस नयाँ सूचनाको खोजीमा हुन्छन्, कुसमाचारका बानियाँले यसैलाई मौकाका रूपमा लिन्छन्

Read Time : > 5 मिनेट
उत्तमबाबु श्रेष्ठ
२०७६ चैत १४ शुक्रबार ०९:५३:००

ग्लोबल जर्नल अफ मेडिकल रिसर्च : के इन्टरडिसिप्लिनरीको डिसेम्बर २०१५ अंकमा ‘बढी कोका भएको चक्लेटले वजन घटाउँछ’ शीर्षकमा एउटा वैज्ञानिक लेख छापियो । सो शोधमा आधारित ‘स्लिम हुन चक्लेट’ शीर्षकको समाचार युरोपको सबैभन्दा बढी बिक्री हुने जर्मन ट्याब्ल्वोइड ‘विल्ड’ को पहिलो पृष्ठमा छापियो । समाचारमा भनिएको थियो– जर्मन अध्येताहरूले गरेको अनुसन्धानअनुसार शरीरको तौल घटाउन कम कार्बोहाइड्रेटयुक्त खाना खानेले दैनिक चकलेट सेवन गरे वजन १० प्रतिशतले चाँडै घट्छ । ‘राम्रो कुरा यो छ कि चकलेट सर्वत्र पाइन्छ’ सो अध्ययनका प्रमुख अध्येता जोह्नेस वानोनको भनाइ समाचारमा ‘कोट’ गरिएको थियो । समाचारअनुसार डा. वानोन इन्स्टिच्युट अफ डाइट एन्ड हेल्थका निर्देशक थिए ।

विल्डले समाचार ब्रेक गरेपछि त्यसलाई अमेरिकाको हपिंmग्टन पोस्ट, बेलायतको डेली मेल र भारतको टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले पछ्याउँदै समाचार प्रकाशित गरे । दसौँ लाखले समाचार पढे, सञ्जालमा सेयर गरे । पंक्तिकारले सो अध्ययनबारे गुगल गर्दा ३० हजार ८ सय पेज देखायो । सो अनुसन्धान छाप्ने जर्नल, समाचार बनाउने सञ्चारमाध्यम सबै साँचा थिए र अझै पनि अस्तित्वमा छन् । तर, अध्येता जोह्नेस वानोन र उनको अनुसन्धान संस्था इन्स्टिच्युट अफ डाइट एन्ड हेल्थ संसारभर कतै अस्तित्वमा थिएन । त्यो सबै एउटा योजनामुताबिकको प्रपञ्च मात्र थियो । फेक अर्थात् झुटो थियो, जसले दसौँ लाखलाई एकैपटक झुक्यायो ।

१७ मार्च २०२० कभेरी गनपथे अनुजाले कभेरी ट्विटर ह्यान्डलबाट केही फोटो राखेर यसरी ट्विट गरिन्– महाव्याधीको अकल्पनीय असर, भेनिस (इटाली) का नहरहरू सधैँभन्दा सफा छन् । माछा देखिएका छन् । पानीहाँस फर्किएको छ । इटालीमा कोभिड–१९ महाव्याधी फैलिएर त्यसले सधैँ पर्यटकले खचाखच हुने भेनिस सहरलाई लकडाउनको अवस्थामा पु-याएपछि गरिएको सो ट्विटले केही दिनमै दश लाखभन्दा बढी लाइक र करिब तीन लाख रिट्विट पायो ।

त्यसको केहीपछि अर्को व्यक्तिले भेनिसका नहरहरू सफा भएको मात्रै होइन, डल्फिनसमेत देखिन थाले भनेर भिडियो ट्विट गरे । सो फोटो र भिडियोलाई लिएर संसारभरका समाचार माध्यमले समाचार बनाए, जसमध्ये प्रसिद्ध बेलायती दैनिक गार्जियन पनि थियो । वन्यजन्तुको विषयमा विश्वसनीय मानिने नेसनल जियोग्राफिक म्यागेजिनले अनुसन्धान रिपोर्ट प्रकाशित गरेपछि थाहा लाग्यो, ती लाखौँ सेयर भएको डल्फिनको भिडियो 
भेनिसको थिएन । 

झुटो समाचारको फैलावट 

अमेरिकी लेखक मार्क ट्वेनको भन्ने ठानिएको एउटा प्रसिद्ध उक्ति छ– सत्यले जुत्ता लगाउन नपाउँदै झुटले आधि संसारको फन्को मारिसकेको हुन्छ । मार्क ट्वेनले इन्टरनेट देख्न पाएनन् । फेसबुक र ट्विटर पनि चलाएनन् । तैपनि, इन्टरनेट र सामाजिक सञ्जालको जमानामा झुटो समाचार फैलने गतिको भने सही पूर्वानुुमान गरेका रहेछन् । दुई वर्षअघि गरिएको एक वैज्ञानिक अनुसन्धानका अनुसार झुटो समाचारको फैलावटको गति सत्य समाचारभन्दा कैयौँ गुणा तीव्र हुन्छ ।

साइन्स जर्नलमा सन् २०१८ मा प्रकाशित सो अनुसन्धानमा अध्येताहरूले सन् २००७ देखि २०१२ सम्म प्रकाशित र ३० लाख मान्छेले ट्विट गरेका १ लाख २६ हजार समाचारलाई केलाएका थिए । ती समाचारलाई ६ वटा सत्य जाँच्ने संस्थाले सुरुमा सत्य र झुटमा वर्गीकरण गरेका थिए र त्यसको फैलने गति (रिट्विट) को विश्लेषण गरिएको थियो । उनीहरूका अनुसार असत्य समाचार १ लाख मान्छेसम्म फैलँदा सत्य समाचार १ हजारसम्म पनि पुगेको हुँदैन । सामाजिक सञ्जाल ट्विटरमा झुटो समाचार सत्य समाचारभन्दा ७० प्रतिशत बढि रिट्विट हुन्छ । असत्य समाचार तीव्र गतिमा र धेरै मान्छेबीच फैलने मात्र होइन, त्यसले पार्ने प्रभाव पनि दीर्घकालसम्म रहने सो अनुसन्धानको निष्कर्ष थियो । 

मानव अवधानको व्यापार

यतिखेर संसारमा पौने दुई अर्ब वेबसाइट सञ्चालनमा रहेको विश्वास गरिन्छ । सूचनाको युग भनिने यो समयमा ती वेबसाइटमा विभिन्न सूचना र समाचार पाइन्छन् । सूचना विभागका अनुसार, नेपालजस्तो गरिब देशमा समेत १८ सय ४५ समाचार–वेबसाइट दर्ता छन् । त्यहाँ दर्ता नभएका कैयौँ वेबसाइट होलान् । तिनले प्रत्येक क्षणजस्तो उत्पादन गर्ने सूचना हेर्दा हामी साँच्चै सूचनाको बमबारीमा बाँचिरहेका छौँ जस्तो लाग्छ । कुनै कुराको प्रचुरताले त्यसप्रतिको वास्ता स्वाभाविक रूपमा घटाउँछ । जसरी औजार उपलब्ध हुनासाथ मान्छेले त्यसलाई प्रयोग गरिहाल्दैन, त्यसरी नै समाचार–माध्यम जन्माउँदैमा त्यसमा झुम्मिनेहरू पाइहालिन्छन् भन्ने हुँदैन । त्यसकारण जसरी आपूर्ति बढेपछि माग स्वतः घट्छ, त्यसरी नै सूचनाको बाढीले सूचनाका उपभोक्ताको माग घटाएको छ ।

यतिखेर सञ्चार–माध्यमका समाचार पढेर, फेसबुक, ट्विटर चलाएर, गुगलमा सूचना हेरेर हामीले आफ्नो समय र ध्यान त्यसलाई दिइरहेका हुन्छौँ । अर्थशास्त्रको भाषामा भन्दा सूचनाको बजारमा मानिसले आफूसँग भएको मानव अवधान (अटेन्सन) को विनिमय गरिरहेको हुन्छ उपलब्ध सूचनासँग । त्यस्तो बजारमा उत्पादित वस्तु (समाचार) को उत्पादन बढी भएपछि त्यसका उपभोक्ताको आवश्यकता पर्छ । त्यसैले यतिखेर सूचना होइन, त्यसलाई उपभोग गर्ने मान्छे वा बजारको खाँचो छ ।

सूचना र समाचारको समृद्धिले अवधानको अभाव निम्त्याएपछि मानिसको ध्यान खिचिराख्नु चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले मानव अवधान (अटेन्सन) लाई अहिलेको शताब्दीको सबैभन्दा दुर्लभ तर अमूल्य उपभोग्य वस्तु (कमोडिटी) मानिन्छ । त्यस्तो उपभोग्य वस्तुलाई मुद्रीकरण (मनिटाइज) गरेर सूचनाका उत्पादक र व्यवस्थापकले अकुत नाफा कमाइरहेका छन् । त्यही नाफाका लागि मानव अवधानका व्यापारीले झुट, अर्धसत्य, प्रपोगान्डाको सहारा लिएका हुन्छन् । 

कुसमाचारको पासो

उल्लिखित चकलेटको अनुसन्धानदेखि भेनिसको नहरमा डल्फिन आएकोसम्म र यतिखेर भाइरल भइरहेको इटालीको प्रमले आत्मसमर्पण गरेकोदेखि पुटिनले सडकमा सिंह छाडेकोसम्मका समाचारमा ठूलो समानता छ । ती समाचार मूलधारमा दिइने समाचारभन्दा पृथक् छन् । त्यसमा नवीनता छ । नयाँ र फरक कुराले मान्छेको भावनालाई चाँडै उद्वेलित गराउने तागत राख्छन्, जसको कारण त्यस्ता समाचार क्षणभरमा फैलन्छन् वा अहिलेको प्रचलित भाषामा भन्दा ‘भाइरल’ हुन्छ ।

नयाँ र फरक विषयले मान्छेको भावनालाई चाँडै उद्वेलित गराउने तागत राख्ने हुनाले कुसमाचार क्षणभरमा फैलन्छन् वा अहिलेको प्रचलित भाषामा भन्दा ‘भाइरल’ हुन्छन् ।

वैज्ञानिकहरूका अनुसार त्यस्तो नयाँ सूचनासँगको हाम्रो प्रेम मानव उत्पत्तिसँग जोडिएको छ । नयाँ सूचनाले हामीलाई निर्णय गर्न सघाउँछ । बसिरहेको कुर्सीको खुट्टामा सर्प भएको थाहा पाउनासाथ त्यसले हामीलाई तुरुन्तै भाग्ने निर्णय गर्न सघाउँछ । हामीले त्यस्तो निमेषभरमै निर्णय गर्ने क्षमता विकासक्रममा बाँच्नका लागि हासिल गरेको एउटा गुण हो ।

स्नायु अध्येताका अनुसार, मानिसको दिमागको एक भागले नवीन कुरालाई तुरुन्तै विश्लेषण गर्ने क्षमता राख्छ । त्यसकारण नयाँ कुरा, चाहे त्यो हामी जंगली अवस्थामा हुँदा अफ्रिकाको जंगलमा नयाँ जनावर देखेर भाग्दाको अवस्थामा होस् या कम्प्युटरको स्क्रिनमा देखिएको नयाँ सूचनामा होस्, त्यसले दिमागको त्यस्तो भागलाई निमेषमै उद्वेलित गराउँछ र दिमागमै रहेको अर्को विवेकपूर्ण क्षमता भएको भागलाई छायामा पार्छ । दिमागको यस्तो बनोटले गर्दा हामी त्यस्तो समाचार साँचो, झुटो नछुट्याई तुरुन्तै सेयर गरिहाल्ने निर्णय गरिहाल्छौँ । यो प्रक्रिया एकदमै चाँडो हुन्छ । त्यसो त मानव मस्तिष्कले शरीरको ऊर्जा कम खपत गर्न पनि निर्णय गर्दा सोचेर विचार गरेर गर्नेभन्दा यस्ता छोटा बाटाहरू बनाएको हुन्छ । 

दोस्रो, नवीन कुरा थाहा पाएर आफ्नो कविला वा झुन्डमा सेयर गर्दा अफ्रिकाको जंगलमा बसेको मानिसले समाजबाट एक किसिमको पुरस्कार पाउँथ्यो । जानकार रहेछ भन्ने हिसाबले अन्य सदस्यले हेर्थे । त्यसकारण सामाजिक प्राणी मानिसले त्यस्तो कुरा आफ्ना वरिपरि सेयर गर्न मन पराउँछ । यतिखेर त्यस्तो नयाँ कुरा सेयर गर्दा फेसबुकमा लाइक, कमेन्ट र सेयर पाउँछ, जसले उसको दिमागको डोपोमिन (खुसी पार्ने हर्मोन) लाई बढाउँछ । त्यसकारण मानिस नयाँ र फरक कुरा देख्नासाथ सेयर गरिहाल्छन् । 

तेस्रो, मानिसमा आफू र आफ्नाले गरेको कुरा ठीक भन्ने पूर्वाग्रह हुन्छ । चुरोट खाने मान्छेले आफूले चुरोट खाएको राम्रो भन्न समाजमा चुरोट खाएर बढी वर्ष बाँचेको मान्छेको उदाहरण दिइरहेको हुन्छ । जब कि त्यस्तो उदाहरण अपवाद हुन् भन्ने उसले बिर्सेको हुन्छ । मानिसमा आफ्नाले भनेको ठीक हो भन्ने गुणको साइनो पनि प्राचीन नै हो । अफ्रिकाको जंगलमा १०, १२ जनाको झुन्डमा बसेका वेला झुन्डका सदस्यको कुरा नमान्दा आफ्नो ज्यानका लागि खतरा हुन सक्थ्यो । हामीले अझै पनि त्यो गुणलाई फाल्न सकेका छैनौँ । यस्तो गुणका कारण विश्वास, विचारलाई अरूले चुनौती नदेओस् भनेर मान्छेले आफूलाई मनपर्ने विचारका, उस्तै आस्था बोकेका मान्छेको झुन्ड बनाएर बस्छ, चाहे त्यो छरछिमेकमा होस्, फेसबुक या ट्विटर नै किन नहोस् । 

अफ्रिकाको जंगलमा बस्दाको त्यो प्राचीन गुणलाई फेसबुक र ट्विरका एल्गोरिदमले झनै बढाएका हुन्छन् । ती एल्गोरिदमले मान्छेको रुचि लाइक, कमेन्ट र सेयरका आधारमा चिनेर उसको रुचिअनुसारका सामग्री बारम्बार देखाउँछन् । भनिन्छ, फेसबुकमा गरिएको १५० लाइकको विश्लेषण फेसबुकले मान्छेलाई उसको श्रीमान् या श्रीमतीले भन्दा बढी र ३०० लाइकको विश्लेषणले मान्छेले आफूले आफूलाई बुझेको भन्दा बढी बुझेको हुन्छ । त्यसरी मान्छेको आस्था, विचार र सोच बुझेको फेसबुकले ऊसँग मिल्ने उस्तै सूचनाको बमबारी टाइमलाइनमा पठाएर मान्छेलाई एकपछि अर्का त्यस्तै पोस्टको सेयर गर्ने एकांकी र मुर्ख बनाउँछ । अर्को अध्ययनअनुसार पूर्वाग्रही मान्छे असत्य वा कुसमाचारको जालोमा पर्ने जोखिम बढी हुन्छ । 

अन्त्यमा, अहिले चल्तीमा आएको जोडी शब्द ‘फेक न्युज’को न्वारन इबोला महामारीका वेला गरिएको थियो । यसको न्वारन गर्ने पण्डित बजफिडका सम्पादक क्रेग सिल्भरम्यानको परिभाषामा फेक न्युज नाफाका लागि उत्पादित पूर्ण रूपमा गलत सूचना हो । यस्तै संकटका वेला लिइने निर्णयका लागि मानिस नयाँ सूचनाको खोजीमा अधैर्य भएका हुन्छन् । कुसमाचारका बानियाँहरूले यसलाई मौकाका रूपमा लिन्छन् । अतिरञ्जना, भावनात्मक र आत्मपरक सूचनाहरूले मान्छेको अवधान लुटेर नाफा कमाउन खोज्छन् । त्यसैले लकडाउनको यस मौकामा कोरोनाबाट मात्रै होइन, कुसमाचारको भाइरसबाट पनि बचौँ ।