मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी पेरिस
२०७६ चैत १४ शुक्रबार ०७:५२:००
Read Time : > 3 मिनेट
खेलकुद

कोरोनाले एक वर्षपछि खेल धकेलिँदा स्टार खेलाडीको ओलम्पिक यात्रा अनिश्चित

Read Time : > 3 मिनेट
एजेन्सी पेरिस
२०७६ चैत १४ शुक्रबार ०७:५२:००

कोरोना भाइरस संक्रमणका कारण ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता एक वर्ष पछि सरे । यसले खेल क्षेत्रलाई समेत नराम्ररी प्रभावित गरेको छ । आयोजक र सम्बन्धित खेलका सर्वोच्च निकायले खेलाडी सुरक्षित बनाउन नै प्रतियोगिता एक वर्षपछि धकेलिदिएका हुन् । युरोकप, ओलम्पिक र कोपा अमेरिकाजस्तो खेलकुद प्रतियोगिता एक वर्षपछि हुने भएका छन् । यस घोषणासँगै सम्भवतः अर्को वर्ष ती प्रतियोगिता आयोजना हुँदा स्टार खेलाडी नदेखिन पनि सक्छन् । 

३५ वर्षमाथि नाम चलेका खेलाडीले यो वर्षलाई नै करिअरको अन्तिम सिजनका रूपमा लिएका थिए । तर, कोरोना भाइरसका कारण लगभग यो वर्ष त्यस्ता बृहत् खेलकुद प्रतियोगिता नहुने भएपछि उनीहरूको करिअर लगभग समाप्त नै भएको मान्नुपर्छ । उनीहरूले आफ्नो करिअर सामान्य रूपमै सकाउने अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

रोजर फेडेरर (टेनिस)
२० पटकका ग्रान्डस्लाम च्याम्पियन रोजर फेडेरर २०२१ को अगस्टमा ४० वर्षका हुनेछन् । फेडेररको ओलम्पिकको एकल स्वर्ण जित्ने सपना अब पूरा नहुने देखिएको छ । टोकियो ओलम्पिकको तयारीमा रहेका फेडेररले अब एक वर्ष प्रतीक्षा गर्नुपर्नेछ । सन् २००८ मा उनले स्टान वारिन्कासँग मिलेर डबल्समा ओलम्पिक स्वर्ण जितेका थिए । एकलतर्फ उनी बेइजिङ ओलम्पिकमा क्वार्टरफाइनलमै बाहिरिएका थिए । २०१२ को लन्डन ओलम्पिकको फाइनलमा उनले घरेलु खेलाडी एन्डी मुर्रेसँग ३–२ को सेटमा पराजित हुँदै रजतमै चित्त बुझाए । 

फेडेररले सन् २०१६ को रियो ओलम्पिकमा चोटका कारण सहभागिता जनाएनन् । सन् २००२ देखि ओलम्पिकको यात्रा गरिरहेका फेडेररले यसपटक राम्रो तयारी गरेका थिए । ‘२००० को सिड्नी ओलम्पिकदेखि नै मेरो लक्ष्य एकलतर्फ स्वर्ण जित्नु थियो, यो चाहना टोकियोमा पूरा गर्ने सपना बनाएको थिएँ,’ ३९ वर्षीय फेडेररले भने, ‘ओलम्पिकको एकल स्पर्धामा म कहिल्यै उत्कृष्ट हुन सकिनँ, सिड्नी र एथेन्समा दोस्रो चरणभन्दा माथि नै पुगिनँ ।’ 

फेडेररले अर्को वर्ष यही समयमा ओलम्पिक हुँदा आफू शारीरिक र मानसिक रूपले नै कमजोर हुन सक्ने जनाएका छन् । ‘यद्यपि अहिले पनि ओलम्पिक एकल स्वर्ण जित्ने चाहना छ, तर अर्को वर्षसम्म म थाकिसक्नेछु, म त्यसवेला ४० वर्षको हुन्छुु,’ फेडेररले भने, ‘म आफूलाई सकेसम्म फिट राख्ने प्रयास गर्नेछु, तर अझ एक वर्ष समय बाँकी छ, त्यो वेलासम्म जे पनि हुन सक्छ ।’ 

सेरेना विलियम्स (टेनिस)
फेडेरर मात्र होइन, अमेरिकी महिला खेलाडी सेरेना विलियम्स यही वर्षको सेप्टेम्बरमा ४०  वर्षकी हुनेछिन् । उमेरका हिसाबले सन्न्यास लिइसक्नुपर्ने वेला पनि सेरेना टेनिस कोर्टमा सक्रिय नै छिन् । उनले पनि फेडेररझैँ  ओलम्पिक खेल्ने सपना बुनेकी छिन् । जसरी हुन्छ, टोकियो ओलम्पिकमा सहभागिता जनाउनु नै सेरेनाको इच्छा हो । तर, फेडेररको तुलनामा सेरेना ओलम्पिकमा भाग्यमानी नै छिन् । हालसम्म उनले चारवटा ओलम्पिक स्वर्ण जितेकी छिन् । २०१२ मा लन्डन ओलम्पिकको एकलतर्फ नै स्वर्ण हात पार्न उनी सफल भइन् । 
सन् २००० र २००८ को ओलम्पिकमा दिदी भेनससँग मिली सेरेनाले डबल्समा स्वर्ण जितिन् । २०१६ मा सेरेनाले इलिना स्भिलिनालाई हराउँदै एकलतर्फ स्वर्ण जित्न सफल भइन् । उपाधि रक्षा गर्नुपर्ने दबाबमा सेरेनाले टोकियो ओलम्पिकमा आफ्नो उपस्थिति देखाउने बताएकी छिन् । तर, चोट नै मुख्य समस्या हुन सक्ने उनको भनाइ छ । ‘यो एक वर्षभित्र धेरै टेनिस प्रतियोगिता खेल्नुपर्छ,’ सेरेनाले भनिन्, ‘यसमा चोट लाग्यो भने ओलम्पिक खेल्न पाउँदिनँ होला ।’ 

जस्टिन गाटलिन (एथलेटिक्स)
अमेरिकाकै जस्टिन गाटलिनले २०२० को ओलम्पिकपछि सन्न्यास लिने योजना बनाएका थिए । निर्धारित समयमा ओलम्पिक हुँदा उनको त्यो चौथो सहभागिता हुने थियो । तर, अर्को वर्ष ३८ वर्षको हुँदा जस्टिनले भाग लिन सक्ने उनका प्रशिक्षक बताउँछन् । मुख्यतः उमेरकै कारण खेलाडीहरू पछि हट्नुपर्ने बाध्यता रहेकाले नै ओलम्पिक खेल्ने योजना पूरा नहुने प्रशिक्षकको भनाइ छ । ‘धेरैको चाहना ओलम्पिक खेल्नु हो, कहिलकाहीँ उमेर र अवस्थाअनुसार निर्णय लिनुपर्छ,’ घुमाउरो रूपमा सन् २०२१ मा ओलम्पिक खेल्न सक्ने जनाउँदै जस्टिनले भने । जस्टिनले २००४ मा स्वर्णपदक जितेका थिए । 

लिना डान (ब्याडमिन्टन)
चिनियाँ ब्याडमिन्टन खेलाडी लिना डानले सम्भवतः टोकियो ओलम्पिक गुमाउनेछन् । अर्को वर्ष ३७ वर्षमा लाग्ने लिनाले पाँचपटक विश्व च्याम्पियनसिप जितेका छन् । लिनाले चीनलाई २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिकमा स्वर्णपदक दिलाएका थिए । रियो ओलम्पिकमा उनी कांस्यमै सीमित भए । करिअरको अन्तिम ओलम्पिक खेल्ने योजना बनाएका लिनाले अर्को वर्षसम्म स्थान सुरक्षित गर्न सक्छन् वा सक्दैनन्, त्यो भविष्यले नै बताउनेछ । तर, अबको एक वर्षभित्र लिनालाई चुनौती दिन सक्ने खेलाडी आउने पक्का छ । 

ओलोसन फेलिक्स (ट्र्याक एन्ड फिल्ड)
महिलातर्फको ट्र्याक एन्ड फिल्डमा ६ पटककी स्वर्णपदक विजेता अमेरिकन खेलाडी ओलोसन फेलिक्सले टोकियो ओलम्पिकका लागि दुई वर्ष कडा मिहिनेत गरिन् । टोकियो ओलम्पिक एक वर्ष पछि धकेलिँदा उनको योजनामा धक्का लागेको छ । अर्को वर्ष उनी ३५ वर्षकी हुनेछिन् । सातौँ ओलम्पिक स्वर्ण र लगातार पाँचौँ सहभागितासहित सन्न्यास लिने उनको योजना थियो । अमेरिकन खेलाडीले अर्को वर्षसम्म छनोट चरण पार गर्नुपर्नेछ । छनोट चरणमा जे पनि हुन सक्छ । यस कारण उनको ओलम्पिक खेल्ने सम्भावनामा अब प्रश्न चिह्न लागेको छ । 

टाइगर उड (गल्फ)
एक दशकपछि उत्कृष्ट फर्ममा देखिएका अमेरिकन गल्फ स्टार टाइगर उडको अवस्था यस्तै छ । आउँदो डिसेम्बरमा उड ४६ वर्षका हुनेछन् । यस वर्ष उड युएस टोलीमा अटाउन संघर्षरत छन् । अमेरिकाको गल्फ वरीयताको शीर्ष चारमा रहने खेलाडीले नै ओलम्पिकमा सहभागिता जनाउनेछन् । वर्तमान वरीयतामा उड छैटौँ स्थानमा छन् । शीर्ष चारभित्र रहन उडको मिहिनेत खेर जान सक्ने सम्भावना छ । तर, उनीसँग एउटा मौका पनि छ । २०२१ मै टोकियो ओलम्पिक हुँदा उडले शीर्ष चारभित्र अटाउन प्रयास गर्नेछन् । तर, उडलाई एउटै समस्या छ, उनको शरीरको पछाडि भागमा बारम्बार चोटले सताउने गर्छ । ढाडको चोटकै कारण शीर्ष चारभित्र रहँदा पनि उडले २०१६ को रियो ओलम्पिक खेल्न पाएनन् । करिअरकै अन्तिम ओलम्पिकका रूपमा लिएका उडले आफूलाई शीर्ष चारभित्र राखी ओलम्पिक खेल्ने लक्ष्य राखेका छन् ।