मोजाम्बिकमा कन्टेनरभित्र ६० आप्रवासी मृत भेटिए
इथियोपियाबाट आएका आप्रवासीहरू मोजाम्बिकको उत्तर पश्चिमी टेटे प्रान्तमा एउटा कार्गो कन्टेनरभित्र ६० भन्दा बढी मृत भेटिएको त्यहाँका अधिकारीले बताएका छन् ।
एकातिर मलावी र अर्कोतर्फ जिम्बाबेको सिमानामा रहेको टेटे प्रान्तमा मंगलबार बिहान सबेरै प्रहरी र अध्यागमन अधिकारीले मलावीबाट आउँदै गरेको कन्टेनरलाई रोकेका थिए ।
टेटेको माइग्रेसन सेवाका प्रवक्ता अमेलिया दिरेटोले भित्रबाट आवाज आएको सुनेपछि अधिकारीहरूले कन्टेर रोकेर जाँच गरेको बताएकी छिन् । उनीहरूले कन्टेनरभित्र रहेकामध्ये १४ जना जीवित भेट्टाएका थिए भने ६४ जना मृत थिए ।
ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । चालकहरूले ती मानिसलाई सीमा कटाउन पाँच सय डलर लिएको प्रहरीसमक्ष बताएका छन् ।
अदिस अबाबास्थित परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकामा रहेको इथियोपियाको दूतावासमार्फत मलावीबाट मोजाम्बिक जाँदै गरेका धेरै इथियोपियाका नागरिकको कन्टेनरभित्र निस्सासिएर मृत्यु भएको पुष्टि गरेको छ ।