१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाण्डौं
२०७६ चैत १३ बिहीबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार

इन्डक्सनमा खाना पकाउँदा विद्युत् महसुलमा २० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाण्डौं
२०७६ चैत १३ बिहीबार १३:४८:००

सरकारले लकडाउनका वेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुलाे (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने भएको छ । 

ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको हो । 

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुलाे प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 

इन्डक्सन चुलाे प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ । 

मन्त्री पुनले कठिन समयमा यसरी छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । उनले ग्यासमा बिजुलीमा खाना पकाउन सस्तो पर्ने भएकाले  उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे । 

विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट पारेका छन् । 

कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि विद्युत् खपतमा भारी गिरावट आएको छ । 

बिहान–बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ । 

यसअघि बुधबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सनको आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । 

इन्डक्सनको आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।