१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ चैत १३ बिहीबार ११:५३:००
Read Time : > 2 मिनेट
नयाँCity

फुर्सदमा उपयोगी ५ विदेशी फिल्म 

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ चैत १३ बिहीबार ११:५३:००

विश्वभर फैलिएको कोभिड–१९ को प्रभाव नेपालमा पनि देखिन थाल्दा मानिसहरू घरभित्रै बसेका छन् ।  पट्यारलाग्दो बनेको दैनिकीमा समय बिताउन अधिकांश युट्युबलगायत सामाजिक सञ्जालमा सिनेमा हेर्दै बसिरहेका छन् । सामाजिक सञ्जालमा कतिपयले सोधेका छन्– यतिवेला कुन फिल्म उपयोगी होलान् ? यतिवेला समय कटाउन सहज हुने केही फिल्मको सूची हामीले पस्केका छौँ ।

द रोड होम

चिनियाँ फिल्ममेकर चाङ यिमोउले निर्देशन गरेको यो फिल्ममा एक गाउँले युवतीले सहरबाट पढाउन गएको युवकलाई पाउन गरेको प्रयत्नको कथा छ । फिल्ममा बौद्ध जीवनदृष्टि चित्रित गरेका छन्, निर्देशक चाङले । चिनियाँ बौद्ध दर्शनले भन्छ, ‘कुनै पनि कुरा टुक्रिएर जब फेरि जोडिन्छ र पुनप्र्रयोग हुन्छ, त्यही सबैभन्दा सुन्दर हुन्छ ।

चिनियाँ फिल्ममेकर चाङ यिमोउले निर्देशन गरेको फिल्म ‘द रोड होम’मा एक गाउँले युवतीले सहरबाट पढाउन गएको युवकलाई पाउन गरेको प्रयत्नको कथा छ । फिल्ममा बौद्ध जीवनदृष्टि चित्रित गरेका छन्, निर्देशक चाङले ।

निर्देशक चाङकै अर्को सिनेमा छ, ‘नट वन लेस’ । यस सिनेमामा कलाकार वे मिन्चीको प्रमुख भूमिका छ । आफूभन्दा एक–दुई वर्ष साना बालबालिकालाई पढाउने जिम्मेवारी आइपर्छ, उनलाई । तर, अचानक एउटा विद्यार्थी स्कुलबाट गायब भएर सहर पुग्छ । र, ती विद्यार्थीलाई सहरमा खोजीका क्रममा आएका उतारचढावलाई सुन्दर ढंगले चित्रण गरिएको छ, फिल्ममा । शिक्षिका र विद्यार्थीको भेट भएको दृश्यले दर्शकलाई भावुक बनाइदिन्छ ।

अर्को सिनेमा छ, चाङ इमोउको ‘फ्लावर्स अफ वार’ । यो सिनेमा चिनियाँ–अमेरिकी लेखक गेलिङ यानको उपन्यासमा आधारित छ, जसमा दोस्रो विश्वयुद्धको कथा छ । जापानले चीनमा आक्रमण गरेपछि हजारौँले ज्यान गुमाए, उति नै संख्यामा बलात्कृत पनि भए । सिनेमामा किशोरीहरूलाई जोगाउन युवतीहरूको समूह तयार हुन्छ । सिनेमाको अन्तिमसम्म पुग्दा एन्टागोनिस्टजस्ता लाग्ने महिलाहरूप्रति दर्शक नतमस्तक बन्छन् ।

चिल्ड्रेन अफ हेभन

इरानी फिल्ममेकर मजिद मजिदीको यो सिनेमामा दाजु–बहिनीको कथा छ । गरिबीलाई नजिकबाट महसुस गरेका केटाकेटीको कथा पनि हो यो । मजिदीकै अर्को सिनेमा छ, ‘सङ अफ स्प्यारो’ । यो पनि बालबालिकाको कथा रहेको सिनेमा हो । स–साना बालबालिकाको सपना उनेका छन्, मजिदीले यस सिनेमामा । मजिदीलाई गरिबी मात्र देखाएको आरोप लाग्ने गर्छ । तर, उनी गरिबीभित्रको जीवनको रापिलो सौन्दर्य खोजी हिँड्छन् । उनका सबैजसो सिनेमाको कथा र प्रस्तुति सानदार हुने गर्छ ।

स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ

दक्षिण कोरियाली फिल्ममेकर किम कि दुकको यो सिनेमामा खासगरी रंगको संयोजन गज्जबको छ । रंगहरूमार्फत कसरी कथा भन्न सकिन्छ भन्ने कुरालाई सुन्दर ढंगले देखाइएको छ, यो फिल्ममा । एउटै लोकेसनमा चारवटा सिजनलाई देखाइएको छ । एक बौद्ध भिक्षुको बाल्यकालदेखि वृद्धावस्थासम्मको अवस्थालाई चार सिजनमा विभाजन गरेर देखाइएको छ । दुकका अन्य सिनेमा पनि उत्तिकै सुन्दर छन् । उनलाई सिनेमामा यौनिकता बढी देखाएको आरोप पनि लाग्ने गरेको छ ।

ओल्ड ब्वाय

कोरियाली फिल्ममेकर पार्क चाङ वुक निर्देशित एक्सन थ्रिलर सिनेमा हो यो । बदला लिने मानवीय प्रवृत्तिको सुन्दर प्रस्तुतीकरण छ, सिनेमामा । फिल्ममा बदलाको भावनामा क्रुरताको हद चित्रण गरिएको छ । यही सिनेमाको अभिनयमार्फत कलाकार चोई मिन सिक चर्चित बनेका थिए ।

टेस्ट अफ चेरी

इरानी फिल्ममेकर अब्बास किरुस्तामीलाई मास्टर मेकर पनि भन्ने गरिन्छ । उनी सिनेमामा दर्शनलाई प्रवेश दिन्छन् । ‘टेस्ट अफ चेरी’मा एउटा मान्छे आत्महत्या गर्न खोजिरहेको हुन्छ, तर उसलाई गाड्ने मान्छे चाहिन्छ । किन गाड्ने मान्छे चाहिन्छ ? यतिकै मर्दा पनि त हुन्छ नि ! मानिसलाई मृत्युपछि मृत्यु संस्कार चाहिन्छ, मृतकको इच्छाअनुसार उसको नाममा पाटीपौवा, धर्मशाला, प्रतिष्ठान बनाउनुपर्छ । किन त ? मानिस आफ्नो अस्तित्व मृत्युपछि पनि चाहन्छ । मानिसको यही अस्तित्व मोहलाई किरुस्तामीले सुन्दर ढंगले देखाएका छन् । उनको ‘द विन्ड विल क्यारी अंश’लगायत सिनेमा पनि जीवन दर्शनको खोजीमा अब्बल मानिन्छन् ।

यस्तै, हङकङका फिल्ममेकर वाङकार वाइको ‘इन द मुड फर लभ’, ‘द ग्रान्ड मास्टर’लगायत सिनेमा उत्तिकै राम्रा छन् । सिनेमाको भाष्य निर्माणको पाटोमा राम्रा मेकर मानिन्छन्, वाङकार । जापानी फिल्ममेकर आकिरा कुरुसावाका ‘सेभेन समुराई’ र ‘रसोमन’ले पनि छुट्टी बिताउने बहाना दिन सक्छन् ।