Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सम्पादकीय
२०७५ माघ ८ मंगलबार ०८:३५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

खुल्न लागेको तातोपानी नाका

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७५ माघ ८ मंगलबार ०८:३५:००

०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको तातोपानी नाका र त्यसवरपरको सम्पूर्ण संरचना पुनः उभिँदै छ । यससँगै सो नाका सञ्चालनमा आउने लगभग पक्का भएको छ । भूकम्पले नेपालतिर त सडक, पुल, वरपरको बस्ती, प्रहरी चौकी, चेकपोस्ट र भन्सारजस्ता संरचना ध्वस्त पारेकाले यतापट्टिबाट तत्काल नाका सञ्चालन सम्भव थिएन । उता तिब्बततिरको भाग पनि ध्वस्त भएको थियो ।

चर्चित खासा बजार नै सार्नुपर्ने र त्यहाँ फेरि बस्ती बस्न असम्भव हुने अवस्था बनेपछि चिनियाँहरू नाका बन्द गरेर केही पर सरेका थिए । उनीहरूको दीर्घकालीन सोच पनि नेपालसँगको व्यापारिक नाकाका रूपमा तातोपानी–खासा क्षेत्रलाई होइन, रसुवागढी–केरुङलाई उपयोग गर्ने थियो । 

नेपाल र तिब्बतबीच कोदारी राजमार्ग बनेदेखि नै मुख्य व्यापारिक नाकाका रूपमा रहेको तातोपानीबाट आवतजावत ठप्प भएसँगै त्यस क्षेत्रमा व्यापार व्यवसाय धराशयी भएको थियो । एक प्रकारले भूकम्पले घर र वास मात्र भत्काएको थिएन, आशा पनि भत्काएर गएको थियो । चिनियाँहरूले लामो समयसम्म पनि नेपालले तातोपानी नाका खोल्न गरेको आग्रह टार्दै आएका थिए । यता नेपालतर्फको सडक मर्मत गरे पनि वर्षायाममा सधैँ बाढी–पहिरोको चापमा पर्ने क्रम पनि जारी थियो ।

चीनसँगको नेपालको व्यापारका लागि निकै महत्वपूर्ण तातोपानी नाकाको आर्थिक मात्र होइन, रणनीतिक महत्व र अर्थ पनि छ

नेपालको प्रयास पनि एकदम अनिच्छापूर्वक चालिएका अल्छी पाइलाजस्तो कछुवागतिमा अघि बढेको थियो । यस्तो अवस्थाले रोजिरोटी खोसिएका र जीवनको लय भत्कन पुगेका सिन्धुपाल्चोकवासी भने लामो समयदेखि यस नाकाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि माग गरिरहेका थिए । अन्ततः चीन यो नाका पुनः सञ्चालनमा ल्याउन सहमत भयो ।

उसले वारि–पारि दुवैतिरका ध्वस्त संरचना पुनर्निर्माणमा सहभागिता जनायो । धमाधम काम भइरहेको यो पुनर्निर्माणपछि नाका खुल्ने र त्यो नाका हाल सक्रिय रहेको रसुवागढी नाकाकै पूरक या विकल्पका रूपमा रहनेछ । यसले चीनसँगको नेपाली व्यापारमा गत तीन वर्षका वर्षायाममा देखिएकोजस्तो असहज अवस्था अन्त्य गर्नेछ ।

चीनसँगको नेपालको व्यापारका लागि तातोपानी नाकाको आर्थिक मात्र होइन, रणनीतिक महत्व  र अर्थ पनि छ । भूकम्पले थिलथिलो पारेकै समयमा नेपालले भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । यसको अर्थ हो, नेपालले आयात गर्नुपर्ने वस्तुका लागि चीनसँग बढी भर पर्नुपर्ने बाध्यता छ ।

यस्तो बाध्यताकै बीच तातोपानी नाका सुचारु नहुने तर रसुवागढीसम्म आउजाउ गर्ने सडकको अवस्था पनि सही–सलामत नहुने अवस्थाका कारण अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाइरहन नेपाल झन्डै असफल भएको थियो । यसलाई तोड्ने उपाय भनेकै चीनसँगका यी नाकाको भरपर्दो सञ्चालन र तिनीहरूसम्मको सडक पहुँचको सुनिश्चितता हो । तातोपानी नाकाको सञ्चालनले यसमा रहेको व्यवधान एक हदसम्म हल हुने आशा गर्न सकिन्छ ।