आर्थिक क्षेत्रमा कोरोना प्रभाव, के भन्छन् विज्ञ
प्रभावित क्षेत्रलाई प्याकेजमा राहत दिनुपर्छ : डा. रामशरण महत (पूर्वअर्थमन्त्री )
यतिवेला नेपालको मात्रै होइन, विश्वकै अर्थतन्त्रमै मन्दी आउँदै छ । सबै प्रकारका आर्थिक गतिविधि रोकिएको छ, आम्दानीका स्रोतहरू रोकिएको छ, उद्योगधन्दाहरू बन्द हुँदैछन्, आयात–निर्यातमा सीधा असर परेको छ, धेरैको रोजगारी गुम्ने खतरा बढेको छ । पर्यटन क्षेत्रको अवस्था झन् धराशायी भएको छ ।
आजसम्म कुनै रोगका कारण विश्वकै अर्थतन्त्रमा सीधा असर गरेको अनुभव गरेको थिइनँ । सन् १९०८ मा स्पेन फ्लुको नाममा धेरैको निधन भएको थियो । यो रोगका कारण मानवीय क्षतिसँगै अर्थतन्त्रमा ठूलो असर पार्ने देखिएको छ । नेपालको अर्थतन्त्र पनि समस्या आउँछ । नेपाल आउन चाहने नेपालीलाई भने सरकारले विशेष व्यवस्था गरेर नेपाल ल्याउन आवश्यक छ ।
सरकारले अहिले गर्नैपर्ने काम भनेको संक्रमणबाट नेपाललाई जोगाउने, नागरिकलाई मृत्यु हुनबाट बचाउने हो । नागरिकस्तरमा सचेतना बढाउने काम भने भएको छ । हात धुने, माक्स लगाउने कुराहरू गाउँ–गाउँसम्म पुगेको छ । यो सकारात्मक पक्ष हो । अब नेपाललाई प्रमुख चुनौती भनेको रोगसँगै अर्थतन्त्र जोगाउने हो । उद्योगधन्दाहरूमा बचाउनका लागि सरकारले राहतको घोषणा गर्न आवश्यक छ । दैनिक रोजगारी गरेर खानेहरूलाई सरकारले तत्काल सम्बोधन गर्न आवश्यक छ । सरकारले ल्याउने आर्थिक प्याकेजमा सबैलाई एउटै डालोमा हाल्नेभन्दा पनि असर गरेको क्षेत्रहरूको सूची बनाएर ब्याज र किस्ताका विषयमा तत्काल सम्बोधन गर्न आवश्यक छ ।
आर्थिक गतिविधि ठप्प भएपछि व्यवसायीको आम्दानी गुमेको छ । आम्दानी नभए पनि पछि ब्याज तिर्न समस्या पर्ने भएकाले सरकारको पहिलो काम राहत घोषणा नै हो । अहिले आएर नेपालमा डिजिटल अर्थतन्त्रको टड्कारो अवश्यकता देखिएको छ । जुन सकारात्मक छ । विगतदेखि नै केही सुधारहरू भएका थिए । अब भुक्तानी प्रणाली तथा प्राविधिकसँग जोडिएको अर्थतन्त्रका लागि अबको युग भनेको डिजिटल नै हो ।
डिजिटल अर्थतन्त्रको प्रभाव बढ्छ : सुरेन्द्र पाण्डे (पूर्वअर्थमन्त्री )
कोरोनाको प्रभाव अर्थतन्त्रमा देखिसकेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ घोषणा गरिएको पर्यटन वर्ष २०२० स्थगित भयो । होटेलहरू खाली छन्, यातायात बन्द भएका छन् । कर्मचारी र कामदार प्रत्यक्ष मारमा परिसकेका छन् । मानिसको दैनिकी परिवर्तन भएको छ । व्यक्तिको आम्दानी घटिरहेको छ । विकास निर्माणको काम पनि ठप्प छ । यसले पनि पुँजी निर्माण हुने क्रम घटायो । नाका ठप्प हुँदा आयात–निर्यातमा बाधा पुगेको छ । यसले राजस्वमा पनि असर पुग्दै छ । हाम्रो अर्थतन्त्रको आकार ३४ खर्बको छ । यसको १ देखि ३ प्रतिशतसम्म क्षति पुग्ने अनुमान छ ।
अहिले हामीले गर्न सक्ने भनेको सचेतना र सेल्फ क्वारेन्टाइनमा बस्ने हो । संसारभर नै लक डाउन गर्ने क्रम चलिरहेको छ । चीन पनि यसरी नै सफल भयो । संसारभर नै कुनै न कुनै समयमा संकट आउँछ । त्यसपछि अवसर पनि आउँछ । सधैं संकट नै भएर रहँदैन । संकटले अवसर पनि ल्याउँछ । संकटले सबैलाई एक भएर लड्न र एउटै प्रयास गर्न सहयोग पुर्याउनेछ ।
विश्वव्यापीकरणमा यसले सकारात्मक भूमिका खेल्न सक्छ र त्यसबाट नेपालले पनि लाभांश लिन सक्छ । संकटपछि सबै क्षेत्रमा माग बढ्ला, त्यसवेला धेरै उत्पादन गरेर हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सम्भावना पनि रहन्छ । यो संकट आउनुअघि पनि संसार डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । यसले अझ त्यसतर्फ जान प्रेरित गरेको छ । पछिल्लोपटक चीनमा कोरोना भाइरस नियन्त्रणका लागि पनि विभिन्न एप्सको प्रयोग गरेको समाचार आएको छ । यसकारण डिजिटल विकासले स्वाभाविक रूपमा अर्थतन्त्रमा पनि आफ्नौ हिस्सा बढाउँदै लगेको देखिन्छ । अब रोबोटबाट उद्योग सञ्चालन गर्ने, अन्य काम गर्ने समय आउने देखिन्छ । त्यसका नराम्रा असर पनि होलान् । तर, डिजिटल अर्थतन्त्रको प्रभाव अझ बढ्ने निश्चित छ ।
नियन्त्रणमा गरिने लगानीबाटै अर्थतन्त्रको बचावट : डा. प्रकाशचन्द्र लोहनी (पूर्वअर्थमन्त्री)
नेपाली अर्थतन्त्रलाई नेतृत्व गरिरहेका पर्यटन, यातायात, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रहरूमा शिथिलता आउने भएको छ । पर्यटनमा त गम्भीर असर पर्ने देखिएको छ । त्यस्तै, कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्योगहरूलाई पनि असर पर्छ । करिब २०–२५ प्रतिशत पुँजीगत खर्च गर्दै आएको सरकारले अब झन् खर्च बढाएर रोजगारी सिर्जना गर्ने सम्भावना छैन । आफ्नो अक्षमतालाई अब कोरोना बहाना पाउन सक्छन् । नेपालमा विदेशी विनिमयको सञ्चिति राम्रो हुनुको कारण वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स हो ।
तर, संक्रमण अझै ३ महिना चल्यो भने वैदेशिक रोजगारी कटौती हुन सक्छ । त्यस्तो अवस्थामा नेपाली कामदारलाई फर्काउन थाल्नेछन् । वैदेशिक मुद्राको सञ्चितिको अवस्था कमजोर बन्छ । त्यस्तो अवस्थामा अन्तिर्राष्ट्रिय व्यापारमै समस्या पर्न सक्छ । संक्रमणको जोखिम रोक्न सरकारले आवागमन बन्द, यातायात बन्द, कार्यालय, विद्यालय बन्दजस्ता आदेश दिएर राम्रो गरेको छ । तर, सिर्जनात्मक काम कम गरेको छ । आइसोलेसन वार्डहरू बनाउने, उपचारका लागि चिकित्सक, बिरामी, बिरामी लैजाने मानिस, बिरामी बोक्ने विशेष बाहन, परिवारका सदस्यहरूजस्ता हरेक पक्षले कसरी काम गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म प्रोटोकल तयार पारेको मैले देखेको छैन ।
संक्रमण फैलिनबाट रोक्नु नै हाम्रो अर्थतन्त्रलाई विनाश हुनबाट रोक्ने मुख्य उपाय हो । अर्थ, स्वास्थ्य, वाणिज्य तथा आपूर्तिजस्ता विषयगत मन्त्रालयले समन्वय गरेर संक्रमण रोक्न आवश्यक मास्क, स्यानिटाइजर, औषधि, साबुनपानीजस्ता वस्तुको खरिद र आपूर्तिमा कन्जुस्याइँ गर्नुहुन्न । जतिसुकै रकम खर्च भए पनि हामीले चाहिने सबै खालका उपकरण खरिदमा लगानी व्यापक वृद्धि गर्नुपर्नेछ । महामारी आइसकेपछि खरिद गर्नुको कुनै अर्थ हुँदैन । रकमान्तर गरेरै भए पनि आवश्यक उपकरण तथा साधन किन्नुपर्छ । कोरोना नियन्त्रण गर्न अहिले गरिने लगानीको प्रतिफल नै हाम्रो अर्थतन्त्रको बचावट हुनेछ । यो संकटबाट देशलाई उतार्न नेतृत्वको सक्रियता वा सुझबुझपूर्ण व्यवहारको अभाव देखिइरहेको छ ।
संकटमा सहयोग गर्नेलाई कर छुट दिनुपर्छ : डा. गोविन्द नेपाल (अर्थशास्त्री)
आन्तरिक र बाह्य आवागमन रोकिएको कारण हवाई, यातायात, होटेल क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । हुन त पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा २.५ प्रतिशतको हाराहारीमा योगदान रहेको मानिन्छ । तर, अप्रत्यक्ष रूपमा ८ देखि ९ प्रतिशत योगदान रहन्छ । पछिल्लो समय खुलेका नयाँ ठूला होटेलहरूमा समस्या हुने भएको छ ।
त्यस्तै, मुलुकका ६० प्रतिशत घरपरिवारले रेमिट्यान्स भित्र्याउँदै आएका छन् । वार्षिक ८ अर्बको भित्रिने रेमिट्यान्सले व्यापार घाटाको प्रभाव कम गर्दै मुलुकलाई बचतमा ल्याउनसमेत योगदान पुर्याएको छ । विदेशी मुद्राको सञ्चितिमा पनि यसले टेवा दिँदै आएको छ । तर, अहिले गतन्व्य मुलुकमा रोजगारी कटौती भइरहेको छ । त्यस्तै, विदेशी कम्पनी विशेष गरी चिनियाँ ठेकेदारहरूले काम गरेका आयोजनाहरूमा यसको असर देखिएको छ ।
सरकारले मुलुकमा लगानी भित्र्याउने तयारी गरिरहेको समयमा कोरोनाको असर देखिएको छ । अब रोजगारीमा समस्या पर्न थालेसँगै मानिसहरूको क्रयशक्ति घट्ने देखिन्छ । बैंकहरूको ऋण तिर्न व्यवसायीदेखि धेरैलाई समस्या हुन सक्ने देखिन्छ । बैंकहरूको समेत खराब कर्जा बढ्न सक्ने र ऋण खराब हुँदा प्रावधानका रूपमा राख्ने रकम (प्रोभिजनिङ) बढाउनुपर्ने हुन सक्छ । यसको बहुआयामिक असर देखिनेछ ।
अहिले सरकारको मुख्य ध्यान संक्रमण लाग्नुअगाडि रोकथाम गर्ने र देखिएमा त्यसपछि अपनाउनुपर्ने व्यवस्थापनमा गएको छ । सरकारसँग सीमित स्रोतसाधन रहेको भन्दै सर्वसाधारणमा त्रास देखिएको छ । महामारीको रोकथामपछि भने सरकारले केही काम गर्नुपर्छ । जस्तो कि बैंकहरूको ब्याजदरमा राहत, तिर्नुपर्ने करमा सहुलियतलगायतको सुविधा दिनुपर्ने हुन्छ । आर्थिक गतिविधि कम हुने भएकाले मूल्य अभिवृद्धि कर (भ्याट) घटाउनु नै पर्छ । अब यी सबका लागि स्रोत कसरी जुटाउने भन्ने हुन सक्छ । अहिले सरकारले विकास खर्चका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । हालसम्म कुल बजेटको ४० प्रतिशत हाराहारी मात्र खर्च भएको छ । त्यसैले सरकारी ढुकुटीबाट माथि उल्लिखित कामहरू गर्नुपर्छ । यसमा निजी क्षेत्रले समेत सहयोग गर्ने व्यवस्था हुनुपर्छ । निजी क्षेत्रले पनि यस्तो संकटमा आफ्नो दायित्व पूरा गर्नुपर्छ । योगदानकर्तालाई करमुक्त गरिदिनुपर्छ ।
गरिबीको रेखामुनिका मानिसको संख्या बढाउन सक्छ : डा. विश्व पौडेल (अर्थशास्त्री)
अर्थतन्त्रमा कोरोनाको असर सेवा क्षेत्रमा बढी र औद्योगिक क्षेत्रमा कम देखिएको छ । कृषिमा चाहिँ प्रभाव देखिँदैन । अवस्था अझ लम्बिँदै गयो भने औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव हुन सक्छ । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदन ३ प्रतिशत मात्रै रहेको भन्नुभयो, अर्थमन्त्रीले पनि । पर्यटन क्षेत्रमा सुरुको एक महिना अलि ‘सक’ नै हुन्छ होला, त्यसपछि हामीले कसरी व्यवस्थापन गर्ने, कसरी अघि बढ्ने भनेर केही सिक्ने पनि छौँ ।
कोरोनाले दैनिक ज्यालादारी गर्ने, लघु उद्यम गर्ने र गरिबीको रेखाको छेउछाउमा रहेकाहरूको आयमा बढी असर पार्छ भन्ने डर छ । गरिबीको रेखाभन्दा केही माथि मात्रै भएकाहरूलाई तल धकेल्न सक्छ । सरकारले कुनै खाले राहत दिन्छ भने यिनै क्षेत्रबाट सुरु गर्नुपर्छ । बैंकहरूले अहिले २ अर्बभन्दा बढी नाफा आर्जन गरिरहेका छन् । त्यसैले, सरकारले बैंकलाई निर्देशन नै दिएर प्रभावित व्यवसायको ब्याजदर घटाएर, किस्ता वा ब्याज तिर्ने समय पर सारेर वा ब्याज मिनाहा गराएर अहिले राहत दिलाउनुपर्छ । आयकरमा पनि सरकारले हेरिदनुपर्छ, कर तिर्ने समय अलि पर सारिदिँदा हुन्छ ।
स्वास्थ्यमा निजी क्षेत्रको भूमिकाबारे बहस आवश्यक छ । अहिले जति मान्छेलाई कोरोना लाग्छ, त्यसको ५ प्रतिशतलाई आइसियूमै राख्नुपर्छ भन्ने चिनियाँ अनुभवले देखायो । नेपालमा १ लाखलाई कोरोना लाग्यो भने ५ हजारलाई आइसियूमा राख्नुपर्ने हुन्छ, तर हामीसँग त्यत्रो परिमाणमा आइसियू छैन । त्यसैले निजी क्षेत्रको सहभागिता बढाउनुपर्छ । कोरोना महामारीका वेलामा डिजिटल अर्थतन्त्रको कुरा पनि उठिरहेको छ । यो खाली विद्युतीय माध्यमबाट कारोबार गर्ने कुरा मात्रै होइन । यसमा स्वचालित भन्ने कुरा जोडिन्छ । विश्वमा भएको रोबोटको ८० प्रतिशत संख्या विकसित मुलुकमा छन् । कतिपय कुरा भन्ने मान्छे नै चाहिन्छ । तर, रोबोटले मान्छेलाई प्रतिस्थापन गरे पनि त्यसले अरू क्षेत्रमा मान्छेलाई सिर्जनशील बनाउँछ । नयाँ–नयाँ काम गर्न थाल्छन् मान्छे । ५०–१०० वर्षअघि सेलफोन, इन्टरनेटलगायतको व्यवसाय नै थिएन । पहिला पर्यटनकै व्यवसाय पनि थिएन । तर, अहिले चन्द्रमामा पर्यटनको कुरा आइरहेको छ । भविष्यको कुराचाहिँ अटोमेसनले रोजगार सिर्जना पनि गराउँछ भन्ने नै हो ।