राष्ट्र बैंकका पूर्वकर्मचारीलाई नियुक्त गर्दा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकसँग स्वीकृित लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार परिपत्र जारी गर्दै डेपुटी गभर्नर, बैंकका कार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीलाई नियुक्त गर्दा राष्ट्र बैंकबाट स्वीकृति लिएको निश्चित गर्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर र बैंकका कार्यकारी निर्देशकलाई तीन वर्षको कुलिङ पिरियड तोकेको छ । बैंकका अधिकृतस्तरको कर्मचारीलाई भने दुई वर्षको कुलिङ पिरियडको व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतले अर्को संस्थामा जागिर खानुपरेमा ६ महिना कुर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै पुनः नियुक्ति पाएको अवस्थामा बाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएपछि कम्तीमा ६ महिना अन्य संस्थामा प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै, कार्यअवधि नसकिँदै जुनसुकै कारणले वित्तीय संस्थाबाट हटेका प्रमुख कार्यकारी अधिकृतले सोही अवधिभित्र नियुक्त हुन नपाइने भएको छ । केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्थाअनुसार सोही संस्थामा नियुक्त हुन उक्त कार्यकाल वा ६ महिनामध्ये जुन बढी हुन्छ, सो अवधि व्यतीत नभई सोही संस्थामा सञ्चालकलगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न नपाउने व्यवस्था गरेको छ ।