मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १२ बुधबार १५:४३:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने असरबारे सार्क देशका अर्थमन्त्रीहरूबीच भिडियो कन्फरेन्समार्फत छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १२ बुधबार १५:४३:००

विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्न सक्ने असरबारे दक्षिण एसियाली (सार्क) देशका अर्थमन्त्रीहरूले छलफल गरेका छन् । 

भिडियो कम्फरेन्समार्फत भएको छलफलमा दक्षिण एसियाली देशका अर्थमन्त्रीहरूसहित उच्चपदस्थ अधिकारीहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकका उच्चपदस्थ अधिकारीहरूसमेत सहभागी भएका थिए ।  

छलफलमा कोरोना भाइरसका कारण यस क्षेत्रको अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक असर र त्यसलाई सम्बोधन गर्ने उपायबारे भिडियोमार्फत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । 

छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा परेको असर र नेपाल सरकारले त्यसलाई रोकथाम गर्न लिएको कदमबारे जानकारी गराएका थिए । उनले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालसम्म नकारात्मक असर पार्ने उल्लेख गरेका थिए । 

उनले नेपालको क्षमता सीमित भएकाले क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषयमा चुनौती रहेको बताएको अर्थ मन्त्रालयले जनाएको छ । 
त्यसैले कोरोना प्रभावबाट भएको क्षति परिपूरणका लागि नेपाल र नेपालजस्ता कम क्षमता र स्रोत भएका देशहरूलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले विशेष सहयोग पुऱ्याउनुपर्नेमा उनले जोड दिए । 

उनले सार्कलाई पुनर्जीवन दिई अहिलेको समस्यासँग जुध्न मिलेर काम गर्नुपर्नेमा जोड दिए। त्यसो भएमा विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकआपसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक–अर्कालाई सहयोग, साथ र आडभरोसा दिनुपर्नेमा उनले जोड दिए ।

भिडियो कन्फरेन्समा सहभागीहरूले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीको व्यवस्थामा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरू र रोजगारीमा परेको प्रभाव तथा मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वयबारे आ–आफ्नो धारणा राखेको अर्थ मन्त्रालयले जनाएको छ ।