मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली
२०७५ माघ ८ मंगलबार ०७:४२:००
Read Time : > 1 मिनेट
प्रदेश

ईशानेश्वर महादेव मन्दिरकाे पुनर्निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ ८ मंगलबार ०७:४२:००

सन्तानेश्वर महादेवको नामले चिनिएको लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर पुनर्निर्माण गरिएकोे छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले क्षति पुराएको मन्दिरको पुनर्निर्माण सकिएको हो । मन्दिरको निर्माण कार्य सम्पन्न भएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे (शास्त्री) ले बताए ।

पुननिर्माण सकिएसँगै मन्दीरको छानामा तामाको पाता राखीएको छ । प्यागोडा शैलीमा निर्माण भएको उक्त मन्दिरको छानाका लागि काठका फलेकहरू ठोकिएका छन्  । झ्याल, ढोका तथा टुँडालमा विभिन्न देवीदेवता विष्णु, शिव, भैरवलगायत कुँदिएका मूर्ति राखिएको छ । मन्दिरमा भक्तपुरे इँटा प्रयोग गरिएको छ ।  अध्यक्ष घिमीरेका अनुसार २०७३ माघ ३० मा पुनर्निर्माणको सम्झौता भएको थियो ।

०७४ वैशाखबाट मन्दिर पुनर्निर्माण थालिएको हो । सम्पन्न गर्नुपर्ने ०७५ वैशाख २४ गते कायम थियो । मन्दिर पुनर्निर्माण कार्य ढिलाइ भएको उनले स्वीकारे । पुरातत्व विभागको १ करोड २० लाख ९० हजार रुपैयाँमा पुनर्निर्माण भएको अध्यक्ष घिमिरेले बताए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्तिवक महत्व बोकेको ईशानेश्वर महादेवको मन्दिरलाई सन्तानेश्वर महादेव मन्दिरको रूपमा समेत चिनिन्छ । 

मन्दिरको नाममा १४ रोपनी जग्गा रहेको र उक्त जग्गामा १ सय ८ धारा निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेको भनाई छ । ईशानेश्वर मन्दिर संरक्षण गर्न २०६५ मा ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति गठन गरिएको थियो । क्षेत्र विकास समिति स्थापना भएपछि साबिक जिल्ला विकास समिति र तत्कालीन गाविसको ९ लाख रुपैयाँ आर्थिक सहयोगमा ईशानेश्वर मन्दिरबाट डेढ सय मिटर परको गणेश मन्दिर जाने बाटो र मूल सडकबाट मन्दिर स्थलसम्म पुग्ने बाटो निर्माण गरिएको छ । पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध ईशानेश्वर मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गरेको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए ।

स्थानीयका अनुसार करिब ६ सय वर्षअघि मन्दिरको निर्माण भएको भए पनि १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहले मन्दिर निर्माण गरेका थिए । हालसम्म श्रद्धालु भक्तजनद्वारा पूजा अर्चना हुँदै आएको छ ।

मन्दिर मूलतः सन्तान नभई सन्तान जन्माउने चाहना राख्नेहरूका लागि शिवरात्रीको दिनमा रातभर उभिएर ठाडो बत्ती बालेमा सन्तान हुने र ८० प्रतिशत भन्दा बढी सफल भएको पाइएको ईशानेश्वर क्षेत्र विकास समितिका सदस्य कृष्णचन्द्र घिमिरेले बताए ।