मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कठमाडौं
२०७६ चैत ११ मंगलबार ०८:५९:००
Read Time : < 1 मिनेट
समाचार

सभामुख र अध्यक्षद्वारा राहत कोषमा एक महिनाको तलब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कठमाडौं
२०७६ चैत ११ मंगलबार ०८:५९:००

प्रतिनिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सांसदहरूले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको राहत कोषमा एक महिनाको तलब सहयोग गरेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार एक महिनाबराबरको पारिश्रमिक उपलब्ध गराएका छन् । उनले सचिवालयको आर्थिक प्रशासन शाखालाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाल कोरोना भाइरस(कोभिड–१९)विरुद्ध उच्च सतर्कता अपनाई गरिएका प्रयास तथा मिति ०७६ चैत ९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई स्वागत गर्दछु । विपद् पूर्वतयारीस्वरूप नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा मेरो एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरिदिने व्यवस्था गरिदिनुहोला ।’

त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् । उनले सोमबार सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखेर आफ्नो एक महिनाबराबरको पारिश्रमिक रकम राहत कोषमा जम्मा गरिदिन भनेका छन् । 

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि केन्द्रीय कोष स्थापना गरेपछि सभामुख, मन्त्री र सांसदहरूले आर्थिक सहायता उपलब्ध गराउन थालेका हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले ५० करोड रुपैयाँसहितको कोरोना नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । त्यसअनुसार सबै मन्त्रीहरूले एक महिनाबराबरको पारिश्रमिक कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ । 

यसैगरी, पर्सा–१ का समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो एक महिनाको तलब कोरोनाविरुद्धको कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कांग्रेस सांसद गगन थापाले पनि एक महिनाको सहयोग गर्ने बताएका छन् । 

उनले ट्विट् गर्दै भनेका छन्,  ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको एक महिनाको तलब जम्मा गरौँ । जसले जहाँबाट जति सक्छौँ यो कोषमा जम्मा गरौँ । विपद्मा स्रोत जुटाउन साथमा छौँ भनेर सरकारलाई आश्वस्त पारौँ । सँगैमा सरकारले पनि यो विपद्मा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिनेछैन भनेर आश्वस्त पारोस् ।’